काठमाण्डु– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अहिलेकाे सरकार लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ त उन्मुख भएको बताएका छन् ।
३२ औँ विश्व आदिवासी दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि सङ्घीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको महसुस हुन थालेको बताएका हुन्।
उनले लेखेका छन् ‘नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको छ । यी उपलब्धि कसैको दया वा कृपाबाट प्राप्त भएका होइनन्,आदिवासी जनजातिसहित सबै समुदायका नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि हुन् । तर आज म चिन्तित छु । सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ उन्मुख भईरहेको महसुस हुन थालेको छ ।’
उनले जनताको संघर्षबाट प्राप्त उपलब्धि नै मास्ने कुरा स्वीकार्य नहुने बताए । ‘कमजोरी छन् भने सुधार गरौँ। समस्या छन् भने समाधान गरौँ। संबिधान संशोधन र परिमार्जनको प्रकृया मार्फत संबैधानिक अभ्यासका क्रममा देखिएका त्रुटि र कमजोरिहरुलाई सच्याउदै जाने हो । तर जनताको संघर्षबाट प्राप्त उपलब्धि नै मास्ने कुरा स्वीकार्य हुन सक्दैन।’
यस्तै उनले आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित हुनुपर्ने र राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व र पहिचानसहितको संघीयता संस्थागत गर्नुपर्ने बताए ।




प्रतिक्रिया