काठमाण्डु – भोटेकोशी नदीको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि जोखिम भने कायमै रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाले शनिबार बिहान मौसम बुलेटिन जारी गर्दै रसुवाको भोटेकोशी क्षेत्रमा गत बुधबार आएको बाढीपछि नदी थुनिएर बनेको ताल बढ्दै गएकाले जुनसुकै बेला फुट्न सक्ने सम्भावना रहेको जनाएको हो।
‘चीन सरकारबाट प्राप्त सूचना तथा भू-उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार तालको आकार बढ्दै गएको देखिएको छ। उक्त ताल फुटेमा ठुलो मात्रामा पानीसँगै ढुंगा, माटो र गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक ठुलो बाढी आउन सक्ने देखिन्छ’ महाशाखाले भनेको छ ।
त्यसैले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय, यात्रु तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट टाढा रही सुरक्षित स्थानमा बस्न महाशाखाले आग्रह गरेको छ।
महाशाखाका अनुसार ताल फुटेमा फेरि पानीसँगै ढुङ्गा, माटो तथा गेग्रान बगेर तल्लो तटीय क्षेत्रमा अचानक बाढी आउन सक्ने जोखिम छ । ‘भोटेकोशीमा बाढी आएपछि हाल भोटेकोशी र त्रिशूली नदीको बहाव सतर्कता तहभन्दा तल रहे पनि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस्तै, शनिबार बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल रहेको महाशाखाले जानकारी दिएको छ।






प्रतिक्रिया