नेपालमा कोरोना संक्रमित बढेको भन्दै मन्त्रीसँग राष्ट्रपतिको चिन्ता
काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै चिन्ता व्यक्त गरेकी छन् ।
शुक्रबार शीतलनिवासमा कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँगको भेटमा राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेकी हुन् ।
त्यस्तै राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी लिएकी थिइन् ।
राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमहरू र यसका लागि अपनाएका उपायहरू प्रभावकारी रहेको बताइन् ।
उनले बन्दाबन्दीको कारण शहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्ने लगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेकोमा चिन्ता व्यक्त गरेकी थिइन् ।
हालैका दिनहरूमा संक्रमितहरूको संख्या बढेकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले कोरोनाभाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्डहरू सबैबाट पालना गरिनुपर्ने कुरामा जोड दिएकी थिइन् ।