राष्ट्रपतिद्वारा संवैधानिक परिषदसहित सातवटा अध्यादेश जारी


काठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटा अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सातवटा अध्यादेश जारी गरेकी हुन् ।

सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तेस्रोपटक जारी गरेको हो । पुनःस्थापित प्रनितिधिसभाको पहिलो बैठकमा पेश गर्न खोज्दा नेपाली कांग्रेस र प्रचण्ड–माधव नेपाल पक्षले अवरुद्ध गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर ३० गते उक्त अध्यादेश ल्याएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गरिएको थियो ।

उनले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन, औषधि (तेस्रो संशोधन), संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) पहिलो संशोधन र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ जारी गरेकी छन् ।

अघिल्ला संसद बैठकले पारित गर्न नसकेका विधेयक सरकारले अध्यादेशमार्फत जारी गरेको हो । सभामुख अग्नी प्रसाद सापकोटाले सरकारले ल्याएका विधेयकलाई अघि बढाउन नसकेको आरोप लगाइरहेका बेला अध्यादेशमार्फत विधेयक जारी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement