रबीन्द्र अधिकारीको ट्वीटर विद्या भट्टराईले चलाइन्


काठमाडौं – हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबीन्द्र अधिकारीको ट्वीटर ह्यान्डल उनकी पत्न विद्या भट्टराईले चलाएकी छन् ।

रबीन्द्रको निधनपछि अपडेट नभएको ट्वीटर ह्यान्डल शुक्रबारदेखि विद्याको नामबाट सञ्चालनमा आएको छ । विद्या कास्की प्रतिनिधिसभा क्षेत्र–२ बाट उम्मेदवार छिन् । मंसीर १४ गते उपनिर्वाचन हुँदैछ ।

यो ट्वीटर ह्यान्डलमा ८० हजार बढी फलोअर छन् । ट्वीटर ह्यान्डलको नाम परिवर्तन गरेर विद्या भट्टराई बनाइएको छ भने प्रोफाइलमा आरआर कलेजको पूर्व लेकचर लेखिएको छ । उक्त ह्यान्डलबाट चुनाबी प्रचार सुरू भएको छ । स्व. रबीन्द्रसँगै फोटो राखेर विद्याले ‘मेरो प्रतिवद्धता, आर्थिक विकास र समृद्धिको निरन्तरता’ लेखेकी छन् ।

‘प्रिय रबीन्द्रजीले व्यक्तिगत तथा सार्वजनिक रुपमा यहाँहरुसँग सामिप्यमा रहन प्रयोगमा ल्याउनु भएको यो ट्वीटर ह्यान्डललाई आजदेखि मैले प्रयोगमा ल्याएकी छु । हामीले रबीन्द्रजीलाई गुमाउँदै गर्दा उहाँले देखेका सपना र योजनालाई अगाडि बढाउँन यहाँहरुका सुझाब सल्लाह महत्वपूर्ण हुने विश्वास छ,’ विद्याले ट्वीट गरेकी छन् ।

रबीन्द्रको २०७५ फागुन १५ गते पाथिभरामा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । २०७४ सालमा रबीन्द्र निर्वा्चित क्षेत्र कास्की २ मा अहिले नेकपाले उनकी पत्नी विद्यालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement