४ महिनामा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड आम्दानी

४ महिनामा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड आम्दानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा विद्युत् निर्यातबाट २० अर्ब ४८ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको छ।

प्राधिकरणले साउनदेखि कात्तिकसम्म देशभित्र खपत गरी बचत भएको वर्षायामको २ अर्ब ३८ करोड ८७ लाख युनिट विद्युत् भारत र बंगलादेश निर्यात गरेको हो। उक्त अवधिमा विद्युत्को औसत बिक्री दर प्रतियुनिट ८ रुपैयाँ ५८ पैसा रहेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले अतिरिक्त विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डे-अहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ। साथै, भारतका हरियाणा र बिहार राज्य तथा त्रिपक्षीय सम्झौताअनुसार बंगलादेशमा समेत विद्युत् निर्यात भइरहेको छ।

चार महिनामध्ये सबैभन्दा बढी असोजमा ६५ करोड ९ लाख युनिट विद्युत् निर्यात गरी ६ अर्ब ५ करोड ८१ लाख रुपैयाँ आम्दानी भएको छ। उक्त महिनाको औसत बिक्री दर प्रतियुनिट ९ रुपैयाँ ३१ पैसा रहेको थियो। त्यस्तै, कात्तिकमा ५२ करोड ९३ लाख युनिट विद्युत् निर्यातबाट ४ अर्ब ६ करोड २५ लाख रुपैयाँ आम्दानी भएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भदौ र असोजमा त्रिशूली तथा कालीगण्डकी नदीमा आएको बाढीका कारण विद्युत् उत्पादन र प्रसारण संरचनामा क्षति पुग्दा केही आयोजनाको उत्पादन बन्द भएकाले यस वर्ष निर्यात प्रभावित भएको बताए। निर्यातका लागि स्वीकृति पाएका केही आयोजनामा क्षति पुगे पनि आन्तरिक खपतपछिको अतिरिक्त विद्युत् उल्लेख्य परिमाणमा निर्यात गर्न सफल भएको उनको भनाइ छ।

गत आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणले ३ अर्ब ९७ करोड युनिट विद्युत् निर्यात गरी २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी गरेको थियो। सोही अवधिमा १ अर्ब १७ करोड युनिट विद्युत् आयात गर्दा १० अर्ब ५६ करोड रुपैयाँ भुक्तानी गरेको थियो। यसरी गत आवमा विद्युत् आयातभन्दा निर्यातबाट १८ अर्ब ७५ करोड रुपैयाँ बढी आम्दानी भएको थियो।