काठमाण्डु– नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन्।
उनले राजनीतिक दलका नेता, मन्त्री तथा उच्च सार्वजनिक पदमा पुगेका कुनै पनि व्यक्तिलाई अनुसन्धानको दायराबाहिर राख्न नहुने बताएका छन्।
सानेपामा आयोजित हामी पनि तयार छौँ अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले २०४६ सालदेखि हालसम्म सार्वजनिक पदमा रहेका प्रत्येक व्यक्तिको सम्पत्ति विवरण जाँचबुझ गर्न कांग्रेस तयार रहेको स्पष्ट पारे। उनले सम्पत्ति छानबिनको विषयमा नेपाली कांग्रेसलाई कुनै आपत्ति नरहेको भन्दै सरकारले निष्पक्ष रूपमा प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखे।
‘सबैको सम्पति विवरण छानबिन होस्। हामी त तयार भयौं । २०४६ सालदेखि सार्वजनिक ओहोदामा बसेका सबै प्रत्येक मान्छेको सम्पति विवरण जाँचबुझ गर्ने ।’गगनले अगाडि भने,’अहिलेसम्म अनुसन्धान भएर भनेर थन्काइएका जति पनि फाइल छन् त्यसको अनुसन्धान गर्ने । प्रत्येक कुरामा नेपाली कांग्रेस खुला छ । सरकारले गरोस् भनेर हामी माग राख्छौं ।’
थापाले सार्वजनिक पदमा रहँदा आर्जन गरेको सम्पत्ति र त्यसको स्रोतबारे छानबिन हुनुपर्नेमा जोड दिँदै विगतमा अनुसन्धान सुरु भएर विभिन्न कारणले रोकिएका तथा थन्काइएका फाइलहरू समेत पुनः अध्ययन गर्नुपर्ने बताए।
उनका अनुसार सम्पत्ति छानबिनको प्रक्रिया कुनै व्यक्ति, दल वा समूहलाई लक्षित गरेर नभई सबैका हकमा समान रूपमा लागू हुनुपर्छ। नेता, मन्त्री, कानुनमन्त्री तथा अन्य जिम्मेवार पदमा रहेका व्यक्तिहरू पनि अनुसन्धानको दायरामा आउनुपर्ने उनको भनाइ थियो।


प्रतिक्रिया