ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा

ध्वनी प्रदुषण गराउने ५२ मोटरसाइकल ट्राफिक नियन्त्रणमा


काठमाण्डु – ट्राफिक प्रहरीले काठमाण्डु उपत्यकाका विभिन्न स्थानबाट ध्वनी प्रदुषण हुने गरी चलाइएका ५२ मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।

काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले रूप परिवर्तन गरी शहरी क्षेत्रमा ध्वनी प्रदुषण गर्ने बनाइएको, साइलेन्सर पाइपबाट आगोको झिल्का समेत निकाल्ने बनाइएका मोटरसाइकल सोमबार नियन्त्रणमा लिएको हो ।

ट्राफिक प्रहरीले वन तथा वातावरण मन्त्रालय र वातावरण विभागको समन्वयमा चेकजाँच गर्दा सवारीसाधन फेला पारेको हो । ट्राफिक प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतका अनुसार नियन्त्रणमा लिएकामध्ये १६ बुलेट, १३ क्रस फायर, ७ आर–१५, ६ वटा केटिएम डुक, २ वटा वेनिली मोटरसाइकल रहेका छन् ।

साइलेन्सरमा प्वाल पार्ने, साइलेन्सर निकाल्ने, परिवर्तन गर्ने, डीभी किलर झिकेर ठूलो आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिएका मोटरसाइकललाई वातावरण विभागद्वारा परीक्षण गरी ती मोटरसाइकल धनीलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सतुंगल पठाइएको प्रहरी उपरीक्षक राउतले बताए ।