बालेनको भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिश्री पर्सि नेपाल आउँदै

बालेनको भारत भ्रमणको तयारीका लागि विदेश सचिव मिश्री पर्सि नेपाल आउँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भारतका विदेश सचिव विक्रम मिश्री कात्तिक १८ गते (नोभेम्बर ४) नेपालको दुईदिने औपचारिक भ्रमणमा आउने भएका छन् ।

नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिश्री नेपाल भ्रमणमा आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै उनको भ्रमणबारे जानकारी दिएको हो ।

भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ । वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ ।

नेपाल बसाइका क्रममा भारतीय विदेश सचिव मिश्रीले नेपालका उच्चस्तरीय विशिष्ट व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ ।

स्रोतका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को भारत भ्रमणको तयारीका लागि मिश्री नेपाल आउन लागेका हुन् ।

प्रधानमन्त्री शाहले २३ देखि २५ नोभेम्बरसम्म भारत भ्रमण गर्ने निश्चित छ । प्रधानमन्त्री बालेनको भ्रमणलाई व्यवस्थित बनाउन नेपाल र भारतका अधिकारीहरू आवश्यक तयारीमा जुटेका छन् ।

मिश्रीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यसूची, द्विपक्षीय भेटवार्ता तथा भ्रमणसँग सम्बन्धित अन्य आवश्यक विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।