भारतीय विदेश सचिव मिस्रीको कार्यकाल एक वर्ष थप

भारतीय विदेश सचिव मिस्रीको कार्यकाल एक वर्ष थप

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले विदेश सचिव विक्रम मिस्रीको कार्यकाल एक वर्ष थप गरेको छ ।

यसै वर्ष जुलाई १४मा अवकास हुन लागेको भारतीय विदेश सचिवको कार्यकाल एक वर्ष थप गरिएको हो । अनिवार्य अवकासमा जानुअघि नै मन्त्रिपरिषदले कार्यकाल थप गर्ने निर्णय गरेको हो ।

सन् १९८९ ब्याचका भारतीय विदेश सेवाका अधिकारी मिस्रीले सन् २०२४ मा भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका थिए । कार्यकाल थपिएसँगै क्षेत्रीय तथा विश्वव्यापी परिवर्तित परिस्थितिकाबीच भारतको कूटनीतिक नेतृत्वलाई उनले निरन्तरता दिनेछन् ।

तीन दशकभन्दा लामो कूटनीतिक जीवनमा मिस्रीले विदेश मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा युरोप, अफ्रिका, एसिया र उत्तर अमेरिकास्थित भारतीय कूटनीतिक नियोगहरूमा विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका छन् ।

नयाँ दिल्लीमा उनले विदेश मन्त्रालयको पाकिस्तान डेस्कमा काम गरेका थिए । साथै पूर्व विदेशमन्त्री आईके गुजराल र प्रणब मुखर्जीका स्टाफका रूपमा पनि उनले कार्य गरेका थिए ।

उनी प्रधानमन्त्री कार्यालयमा संयुक्त सचिव तथा तीन प्रधानमन्त्रीह–आईके गुजराल, मनमोहन सिंह र नरेन्द्र मोदीका निजी सचिव समेत रहिसकेका छन् ।

उनी श्रीलंकाका लागि भारतका उपउच्चायुक्त तथा म्युनिखस्थित भारतीय महावाणिज्यदूत पनि भइसकेका छन् । मिस्री सन् २०१४ मा स्पेनका लागि भारतका राजदूत, सन् २०१६ मा म्यानमारका लागि राजदूत तथा जनवरी २०१९ देखि डिसेम्बर २०२१ सम्म चीनका लागि भारतका राजदूतका रूपमा कार्यरत थिए ।

विदेश सचिव नियुक्त हुनुअघि उनले जनवरी २०२२ देखि जुन २०२४ सम्म रणनीतिक मामिलासम्बन्धी उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा पनि सेवा गरेका छन् ।