काठमाण्डु – राष्ट्रियसभा सदस्य विमला घिमिरेले दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुईन काटेर वेपत्ता भएका नेपाली युवाका विषयमा सरकारले भारतसँग कुरा नगरेर शिर निहुरिएको बताएकी छन् ।
मंगलबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद घिमिरेले दार्चुलाको घटनाले नेपालीहरुको शिर निहुरिएको भन्दै अब आँखा जुधाएर कुरा गर्ने बेला भएन सरकार ? भन्दै प्रश्न गरेकी छन् ।
‘दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिएर नेपाली युवा महाकालीमा बगेको घटना सरकारले भारतसँग कुरा नगरेर हाम्रो शिर निहुरिएको छ । अब आँखा जुधाएर कुरा गर्ने बेला भएन सरकार ?,’ उनले भनिन् ।
सांसद घिमिरेले हिजो नाकाबन्दी हुँदा भएकै होइन भनेर चुप लागेर बस्नेहरु, लिम्पियाधुरा र कालापानी मिच्दा नबोल्नेहरुको सरकार रहेको भन्दै नेपालीमाथि अपमान भइरहँदा पनि सरकार मौन बसेको बताइन् ।
‘हिजो नाकाबन्दी हुँदा होइन भनेर चुप लागेर बस्नेहरु, लिम्पियाधुरा र कालापानी मिच्दा नबोल्नेहरुको सरकार छ अहिले’, उनले भनिन्, ‘तर नेपालीमाथि अपमान भइरहँदा पनि यो सरकार मौन छ, के यही हो त परमादेश सरकारको काम ?’
सांसद घिमिरेले एमालेको सरकार जनताका लागि रहेछ भन्ने पुष्टि भएको बताइन् । उनले भूमि आयोग भंग गरेर सरकारले मूल्य चुकाउनुपर्ने बताइन् ।
‘एमालेको सरकार जनताका लागि रहेछ । ति भूमिहीनहरुका लागि भएको पुष्टि भएको छ। आयोग भंग गर्न जति सजिलो भयो यसको मू्ल्य चुकाउन कठिन हुनेछ । संविधानमा गरिएको मौलिक हक अन्र्तगत एक पटक सबैलाई जग्गा प्राप्ति हुने व्यवस्थासँगै कानून बनाएर निर्माण गरिएको आयोग केन्द्र र जिल्लामा मात्र सिमित थिएन । यसको सबैभन्दा धेरै अधिरकार पालिका र वडाहरुमा थियो । सँगैसँगै सर्वदलीय समितिले छानबिन गर्ने व्यवस्था थियो । आयोग खारेज गरेर यो सरकार भूमिहीनहरुको सरकार होइन भन्ने एकपटक पुष्टि भएको छ । एक थरी मान्छेहरुले भन्दैछन्,’ उनले भनिन्, ‘यो एमालेको भर्ती केन्द्र थियो । यो एमालेका मान्छेहरुले जागिर खाने थलो थियो । यसमा तर्क वा दम छ ? त्यसो भए यो सरकारले अब आयोग र अन्य निकायहरुमा कसका मान्छे खोज्दैछ ? पार्टीमा आस्था नै नभएका मान्छेहरु सरकारले कहाँ पाउँछ ? फेरी आयोग बनाएर संकलन गरिएका फाराम च्यातेर फेरी अर्को संकलन गर्ने हो ? स्थानीय तहले गरेको लगानी र बनाएको योजना सबै खेर फाल्न चाहन्छ सरकार ?’
प्रतिक्रिया