बिमस्टेक सम्मेलन नसकिँदै बंगलादेशकी प्रधानमन्त्री स्वदेश फर्कने


काठमाडौं – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन काठमाडौं आएकी बंगलादेशी प्रधानमन्त्री शेख हसिना सम्मेलन नसकिँदै स्वदेश र्फकने भएकी छन् । उनी शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ ।

सम्मेलनको कार्यक्रमको समयतालिका अनुसार भोलि (शुक्रबार) पौने २ बजे सम्मेलनको समापन गरिनेछ। तर बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भने सम्मेलन समापन हुनुभन्दा पौने तीन घण्टा अगावै स्वदेश फिर्ने्छिन्। उनी शुक्रबार बिहान ११ बजे स्वदेश फर्किने परराष्ट्र मन्त्रालयको कार्यक्रमको समयतालिकामा उल्लेख छ।

उनी सम्मेलन नसकिँदै स्वदेश फर्किनुको कारण हो( बंगलादेशको आन्तरिक राजनीति। बंगलादेशमा यो वर्ष आम निर्वाचन हुँदैछ। र, निर्वाचनको मिति तोक्न ढिलाइ भइरहँदा त्यहाँ सरकार विरोधी प्रदर्शनहरू चर्किएका छन्।  फोटो पत्रकार शाहिदुल आलमको पक्राउको विरोधमा केही सातादेखि त्यहाँ विद्यार्थीहरूले सरकार विरुद्ध आन्दोलन चर्काएका छन्।

अर्कोतर्फ प्रतिपक्षी दल बंगलादेशी नेस्नालिस्ट पार्टीकी अध्यक्ष खालिदा जियालाई पक्राउ गरि हिरासतमा राखिएको विरोधमा पनि त्यहाँ आन्दोलन चर्किरहेको छ। सरकार निरंकुश बन्दै गएको भन्दै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा आलोचना भइरहेकोले प्रधानमन्त्री शेख हसिना दबावमा छिन्। देशभित्र सरकारविरुद्ध चर्किएका असन्तोषका आवाजलाई मत्थर पारी निर्वाचन गराउन उनलाई दबाव छ।

तर सरकारले विपक्षीहरूलाई गैरकानुनी तवरबाट पक्राउ गर्ने र जेल हाल्ने काम गरेको, प्रेस स्वतन्त्रता हनन गरेको र नागरिक अधिकार कटौती गरेको भन्दै प्रधानमन्त्री हसिनाको आलोचना भइरहेको छ।  प्रधानमन्त्री हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग बिम्स्टेक शिखर सम्मेलनकै क्रममा साइडलाइन वार्ता गर्ने्छिन् जसलाई बंगलादेशमा हुने निर्वाचनसँग जोडेर पनि हेरिएको छ।

बंगलादेशको प्रमुख पत्रिका डेलीस्टारका  अनुसार उनीहरूबीच बिहीबार साँझ पौने ७ बजे हुने वार्ता बंगलादेशमा डिसेम्बरमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण हुनेछ।

प्रतिक्रिया दिनुहोस
Advertisement