बिम्स्टेक शिखर सम्मेलन : चार राष्ट्रप्रमुख अाजै स्वदेश फर्कंदै


काठमाडौं – बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक) शिखरको चौथो सम्मेलनमा सहभागी हुन आएका मध्ये चार देशका राष्ट्रप्रमुख शुक्रबार स्वदेश फर्कने भएका छन् ।

सम्मेलनले काठमाडौं घोषणा–पत्र जारी नगर्दै शुक्रबार बिहान बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ। हसिना बिहीबार मात्रै नेपाल आएकी थिइन्।

आम निर्वाचनलाई लिएर बढ्दो राजनीतिक गतिरोधका कारण वाजेद सम्मेलन नसकिँदै बंगलादेश फर्किन लागेकी हुन्। म्यान्मारका राष्ट्रपति विन मिन्ट मध्याह्न चार बजे र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा साढे चार बजे स्वदेश फर्कने तय भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने साँझ आठ बजे फर्कंदैछन् । बिहीबार काठमाडौं आइपुगेका मोदीले स्वदेश फर्कनुअघि पशुपतिमा निर्मित धर्मशाला उदघाटन गर्नेछन् । सम्मेलनपछि प्रधानमन्त्री केपी शर्मा ओली र मोदीको उपस्थितिमा रक्सौल–काठमाडौं रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतापत्रमा हस्तक्षार कार्यक्रम छ ।

उता भुटानका अन्तरिम सरकारका सल्लाहकार एवम् प्रधानन्यायाधीश दासो छिरिङ वाङचुक भने शनिबार फर्कने छन्। नेपाल आएकै दिनमा काठमाडौंस्थित बौद्ध स्तुपा अवलोकन गरेका उनले लुम्बिनी पुगेर पुजाआजा गर्ने कार्यक्रमसमेत छ। त्यस्तै, श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना भने आइतबार मात्रै स्वदेश फर्किने छन्।

सिरिसेना र प्रधानमन्त्री केपी शर्मा ओलीबीच द्विपक्षीय भेटघाटको कार्यक्रम तय भएको छ। श्रीलंकाका राष्ट्रपति सिरिसेना भने मंगलबार नै काठमाडौं आएका थिए। भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक शनिबार र श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार आफ्नो देश फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement