काठमाण्डु- पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको विनयी खोलामा निर्माण गरिएको नयाँ पुल सञ्चालनमा आएको छ ।
पुल निर्माणको सबै काम सकिए लगतै बिहीबार बिहान ११ बजेदेखि पुलबाट यातायात सञ्चालन भएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ ।
करिब ५ दशक पुरानो फलामे पुल गत वर्ष पुस २६ गते एक भारतीय ट्रकले भत्काएपछि अस्थायी डाइभर्सनमार्फत जोखिमपूर्ण रूपमा सवारी सञ्चालन हुँदै आएको थियो । यद्यपि खोलामा पानीको बहाव बढेपछि डाइभर्सन पटक पटक बगाउने समस्या आइरहँदा राजमार्ग नै अवरुद्ध हुने अवस्था सिर्जना हुँदै आएको थियो। यसले गर्दा घण्टौँ लामो जाम र यात्रुहरूलाई ठुलो सास्ती खेप्नुपरेको थियो ।
योसँगै पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा केही सहजता भएको छ । यसअघि पुल नहुँदा यात्रुहरूले सास्ती व्यहोर्नु परिरहेको थियो ।
पुल भत्किएको ठाउँमा डाइभर्सन बनाइएको भए पनि बाढीले बगाउने गरेकोले आवतजावतमा समस्या पर्ने गरेको थियो ।
नयाँ पुल २४५ मिटर लम्बाइ र ७।५ मिटर चौडाइको छ भने पुलको देब्रे भागमा पैदल यात्रुका लागि फुटपाथको समेत व्यवस्था गरिएको छ ।
सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार अब नयाँ पुल सञ्चालनमा आएपछि यात्रुहरूको यात्रा सहज र सुरक्षित भएको बताए ।
यस पुलको सञ्चालनले बुटवल–नारायणगढ सडक खण्डमा वर्षौँदेखि देखिँदै आएको आवागमनको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया