स्वयं प्रकाशित सम्बुद्ध सदगुरु


विन्दा आचार्य/काठमाडौं – गुरु शब्द संस्कृत भाषाको ‘गु’(अन्धकार ) र ‘रु’ (हटाउने)अक्षरको संयोजनबाट बनेको हो । जसको अर्थ हुन्छ, अज्ञानता रुपि अन्धकार हटाई ज्ञान रुपि उज्यालो तर्फ उन्मुख गराउने शिक्षक, मार्गनिर्देशक, पथप्रदर्शक वा प्रेरणादायी ब्यक्तित्व । अध्यात्मिक मार्गमा, योग साधनाका क्षेत्रमा र गुरु–शिष्य परम्परामा ज्ञानको प्रकाश छरेर कुनै पनि विषय वा वस्तुमाथी प्रकास पार्ने भएकोले वैदिक सनातन परम्परामागुरु शब्द अत्यन्त सम्मानजनक र प्रिय छ । शिक्षा वा दिक्षा दिने ब्यक्तित्व गुरु हुन सक्छ तर सत्यको मार्ग हुँदै यात्रा गरेको, सत्य देखेको, बुझेको र भोगेको गुरु वास्तवमा सदगुरुहो । अध्यात्मका आदिगुरुको उपाधी भगवान शिवलाई दिईन्छ, ध्यानको माध्यमद्धारा सत, चित र आनन्दमा पुग्ने ज्ञान सप्तऋषि मार्फत मनुश्य जगतलाई दिनु भएको विश्वास गरिन्छ । गुरुवाट ज्ञान हस्तान्तरण गरी जीवन रुपान्तरण गर्ने यो परम्परालाई सन्तऋषि तथा सदगुरुहरुले निरन्तरता दिदै आउनु भएको छ, जुन आजपर्यन्त जिवितछ ।

सनातन वैद्धिक कालमा गुरुलाई भौतिक, मानसिक तहको श्रद्धासम्मान भन्दा अझै माथी भावनात्मक, अध्यात्मिक तहवाट हेरिएको थियो । वैद्धिक गुरुमन्त्र र प्रार्थनाबाट थाहा हुन्छ, गुरुलाई भगवान वा परब्रम्हको कोटीमा राखिएको छ । गुरुलाई राजा वा पितालाई झै मान्नुपर्छ भन्ने नैतिक दृष्टान्तहरु छन् । गुरुलाई सम्झिदा मात्र पनि अत्यन्त श्रद्धेय लाग्नु पर्छ, गुरुलाई देवता जस्तो पूजनीय लाग्नु पर्छ,गुरु महिमा परम बन्दनीयहुनु पर्छ र गुरुको दर्शन पाएमा अश्रुधारा बहनु पर्छ, गुरुप्रतिको भक्तिभावको सबैभन्दा गहिरो तलमा पुगी पृथ्वीको गर्भमा जडतत्व पग्लिएर लाभा बनी धर्ती फुटेर बाहिरनिस्किए जस्तै छताछुल्ल पोखिनुपर्छ । त्यस्तो भक्तिभावले हृदय पग्लियो भने बुझ्न ढिला गर्नु हुदैन,सदगुरुको द्धारमा पाईला टेकिसकेकोमा धन्य हुन, कृतज्ञता भावलेभरिनु पर्दछ ।

त्यस्तो गुणवेत्ता भएको पूर्णसत्मार्गी सदगुरुले दिएको मार्गदर्शनवाट सत्यको मार्गमा हिड्न सकिन्छ,निष्कपट आत्माको छनौट सही भएनिराश कहिल्यै हुनुपर्ने छैन, गन्तब्य तय गर्न कुनै वाधा ब्यवधान आईपर्ने छैनन, जहाँ आईपर्छ भक्ति र समर्पणको डोरीले गुरुत्वलाई तानेर ल्याईहाल्छ ।

आजको चरम भौतिकवादी युगमा यो कुराहरु आदर्शवादी लाग्न सक्छन, आध्यात्मिक मार्गमा, यौगिक संस्कृतिमा, श्रद्धाभाव उत्पन्न गर्न सकिदैन भने कसैलाई गुरु मानीहाल्नु, कमजोर संकल्प गरिहाल्नु हतार हुनसक्छ । जिज्ञासुले सोधेका प्रश्नहरुको खुरुखुरु उत्तर दिने शिक्षक हुन सक्छ, शिक्षकले दिने शिक्षा भन्दा धेरै पर पुगेर हामीलाई प्रश्न उब्जाउन सक्ने बनाउने र ती प्रश्नको उत्तर खोज्ने क्रममा आफ्नो स्पन्दनसम्म पुग्ने उर्जाले भरिदिने ब्यक्तित्व वा अन्तर्प्रेरणा नै गुरुतत्व हो । सदगुरुको कृपा प्राप्त भएपछि एक साधकको अनुभूति यस्तो रहेको छ, ‘अज्ञानताले जताततै अन्धकार थियो । आखाँ खोल्दा होस या आखा बन्द गर्दा होस, दिन होस या रात होस निष्पट्ट अध्यारोको मात्रा बढ्दै थियो । अन्धकारले जीवनमा अशान्ति र निराशा ल्याएको थियो । बेचैन मन लिएर भौतारिने क्रममा एक दिन यस्तो गुरु भेट्टाए, गुरुले मनको वत्तीमा दिप जलार्इ्दिनुभयो । मैले आफैलाई जल्न दिईरहे, साधनाको तेल थपिरहे, भित्र कतै टिलपिल टिलपिल बलिरहेको उज्यालो विस्तारै शरीर हुँदै बाहिर आकाससम्म फैलियो । आशाका किरणहरु गाढा र चम्किला हुँदै आए र विस्तारै लयबद्ध भए ।त्यसपछि आखा खोली हेर्दा सुन्दर संसार पो देखियो । म आफै भित्रको ज्योती देखाई दिने,भित्री आखा खोल्ने जुक्ति सिकाई दिएर अभावलाई भावमा परिणत गरिदिने र जीवन उर्जाको मुलध्वनीमा सुरताल लय मिलाई दिने सद्गुरुलाई लाखौं लाख धन्यवाद ।’

मानिस आफ्नै अन्तर्प्रेरणाबाट पनि मनमा उब्जिएका प्रश्न माथीको गहिरो खोजी गर्न, जीवन यात्रामा आएकासमस्याको समाधान गर्न र कर्म प्रतिको लगावले सत्यको नजिक पुगेर उत्तर पाउन सक्छ, मार्ग्निर्देशक गुरुतत्व आफै भित्र भेट्टाउछन तर सबैले यस्तो सौभाग्य पाउदैनन् । अधिकांश मानिस अन्धकार र अज्ञानता को चक्रमा रुमल्लिरहेका हुन्छन, कति हण्डर ठक्कर खाएपछि तीनको दुस्ख पिडाको उपचारको खोजीमा सल्लाह, सुझाव, परामर्श लिन गुरु खोज्दै भौतारिन्छन ।

गुरुसँगको संगत र सामिप्यताबाट तत्कालको समस्या समाधान गर्नु, तुरुन्त लाभ पाउनु वा आफ्नो ईगोलाई आकार दिनु उनीहरुको उद्येश्य हुन्छ ।जन्मौजन्मको संस्कार र संचित विकारले साधनामा निरन्तरता दिन, गुरुको मार्ग्निर्देशनको परिपालना गर्न र गुरु प्रतिको भाव र विश्वास उत्पन्न गर्न सक्दैनन । हामीले जे जती असल र राम्रा काम गरेका छौ त्यो सव ईश्वरको कृपा र सदगुरुको मार्ग्निर्देशन अनुरुपको प्रयासको फलस्वरुप आर्जित ज्ञानबाट गरेका हौं र जे जती जानीनजानी खराव काम गरेका छौं वा गर्न सकिने संभावना जती काम गर्न सकेका छैनौ त्यो सवआफ्नो अज्ञानताको कारणले, ईश्वरीय उर्जासँगको वियोगको कारणले, सद्गुरुको छत्रछायाको अभावको कारणले हो भन्ने कुरा जव स्वीकार गरिन्छ तव ईश्वर प्रति, सदगुरु प्रतिर आफै भित्र निहित गुरुरुपि आत्मतत्व प्रति असिम श्रद्धा जागृत हुन्छ ।

भगवत गीताका अनुसार जे जती कर्म गरिन्छ,आफ्नै ज्ञान अनुसार स्वयंमा जिम्मेवारी लिएर आत्मवलका साथ गर्नु ज्ञानयोग हो भने आफूले मानेको कुनै इष्टमा समर्पित भएर जे जस्तो परिणाम आउँछ, त्यसलाई उनैको कृपा ठानी स्वीकार गर्नु भक्ति योग हो । परमात्माको प्रकाश साक्षात्कार सदगुरु भन्नुहुन्छ, आफै भित्र भएको गुरुतत्व जागृत गर्न ज्ञानयोगमा सहज हुन्छ ।

वाह्य जगतमा परमात्मा साक्षात्कारसदगुरुको सामिप्यमा पुग्ने सौभाग्य पाएमा मनुश्यले असल र ब्यवहारिक मार्ग्निर्देशन पाउन सक्छ, जसवाट उसलाई पछ्याएका हानीकारक उर्जालाई हटाएर सकारात्मक ईश्वरीय उर्जा आकर्षित गरी आफ्नो जीवनको परम संभावनालाई उजागर गर्न सकिन्छ ।यस्तो साधकले आफै भित्र अन्तरनिहित गुरुतत्वलाई चिन्न सक्छ, संकेत बुझ्न सक्छ, आत्मचिन्तन गर्न सक्षम बन्दछ ।गुरुले यही बोध र चेतनामा पुग्ने मार्ग प्रशस्त गर्ने साधनामा मद्धत गर्दछन् । यही हो ईश्वर कृपा, यही हो सतमार्ग,यही हो सदगुरुकोआशिर्वाद ।

सदगुरु भन्नुहुन्छ, ‘अथक साधना स्वयंसँगको प्रेम हो, निश्वार्थ सेवा प्राणी र पर्यावरणसँगको प्रेम हो,असिम श्रद्धा गुरुसँगको प्रेम हो, अनन्य भक्ति ईश्वरसँगको प्रेम हो । गुरु–शिष्यको सम्बन्धको आधार सृष्टिकर्ताकै प्रेम करुणाको संचार र विस्तार हो ।’ सदगुरुले प्रेम करुणाको स्रोतमा पुगेर सोझै आफू मार्फत प्रसारण गरिदिन्छन । गुरुको प्रेम र करुणा कहिल्यै रित्तिदैन, शिष्यका लागि मात्र होईन, सबैका लागि । सामान्य मानिसलेआफ्नो र परिवारको भरणपोषणको लागि खाना, आवासर कपडा जुटाउन,स्वास्थ्य शिक्षाको प्रबन्ध, अर्थोपार्जन, सम्पत्तिको संरक्षण र ब्यवस्थापन, धार्मिक अनुष्ठान, विविध संघसंस्थामा संलग्नता, शैक्षिक योग्यता हासिल गर्न र पद प्रतिष्ठाकै लागि यस्तै यस्तै दैनिकीमा जीवन उर्जा ब्यथित गर्दछ । नितान्त आफू र आफ्नो परिवारको लागि काम गर्छ,धन कमाउँछ, समय कटाउँछ, ब्यक्तिगत दायराको खुसी, सुख र सुविधामारमाएको हुन्छ । सदगुरुमादैवी इश्वरीय गुणको अंश प्रचुर हुन्छ, जो ईश्वरले पत्याएको माथवर मनुष्य हुन्छ । जीवन र जगतका रहस्यहरुमा जानकारी राख्ने सामर्थ्य राख्दछ। कसरी बढी भन्दा बढी मनुश्य, प्राणीयो अस्तित्वमा, यो प्रकृतिमा सुख,शान्ति र आनन्दमा बाच्नसक्छन । ब्रम्हाण्डीय उर्जाको समुचित ब्यवस्थापन गरेर कसरी आफ्नो परम संभावनाको प्रस्फुटन गर्न सक्छन भन्ने कुरामा अध्ययन, अनुसन्धान, प्रयोग, परिक्षण, विचार मन्थन गर्दछन, जप र तपमा आफैलाई जलाउँदछन्, साधना र सिद्धीका अनुभव र अनुभूतिको सदुपयोग गर्दछन । ब्यक्तिगत दैनिकी भन्दा माथी उठेर सामुहिक, साझा हित र कल्याणको लागि आफ्नो समय ब्यथित गर्दछन ।गुरुको परिश्रम मेहनत,गुरुको साधना र सिद्धी, गुरुको जीवन उर्जाको लगानी विश्व कल्याण,मानव हित र मानव चेतनालाई सँगसँगैमाथी उठाउन, मानिसलाई बेहोशीवाट होसमा ल्याउन, सजग बनाउन, असल संस्कारहरु परिचित गराउनका लागि हुन्छ ।

सर्बे भवन्तु सुखिनको मूलभावमारही गुरुले शुरुवात गरेका जनहितकारी, लोककल्याणकारी कार्यले सेवाभाव भएकामानिसहरुलाई एकठाँउमा ल्याएर उभ्याईदिन्छ, लोकउपकारी काममा, अध्यात्मिक, सामाजिक विकासका अभियानमा सत्सगं र सहकार्य गर्न प्रेरणा प्रदान गर्दछ। भगवान बुद्धले आफ्ना भिक्षुलाई भन्नु भएको थियो,बुद्धम शरणम गच्छामी (बुद्धको शरणमा जाँउ), सघंम शरणम गच्छामी (सघंको शरणमा जाँउ),धम्मम शरणम गच्छामी (धर्मको शरणमा जाँउ) । यसलाई यसरी अर्थ्याउने गरेको पाईन्छ, आत्म–प्रकाशित बुद्धत्व प्राप्त सदगुरुकोमा जाँउ, समुहमा बसी काम गर र धर्मको आचरण गर ।भगवान गौतमबुद्ध सम्यक सम्बुद्ध कलियुगका सबैभन्दा बढी आत्म प्रकाशित सद्गुरु हुनुहुन्थ्यो ।

सच्चागुरुले शैक्षिक संस्था त्यागेको विध्यार्थी, परिवारले नपत्याएको मान्छे, प्रकाशको अभावमा अन्धकारले भरिएको, धुमिल उज्यालोमा बाचेको मान्छे, जीवनमा निराशा नै निराशाले भरिएको मान्छे, विगतबाट पिरोलिएको र भविश्य माथी भय साँचेको मान्छेलाई सहारा आडभरोसा दिन्छ । गुरुकुलमा कसैलाई उपेक्षा गरिदैन, सबैको अपेक्षामा गुरुको सदिक्षाहुन्छ ।सहज स्वागत, समाबेशीता र सहकार्य गुरुकुलको धर्म रसाधना,सत्सङ्ग र सेवा गुरुपथलाई पछ्याउने मार्ग हुन ।

साधनापथमा अगाडी बढेको दृढ संकल्पयुक्त साधक देख्दा आफूले देखाएको उज्यालोको मार्ग छिचोल्नेर गुरु प्रयासले सार्थकतामा पाउने आशामा सदगुरुको मन आल्हादित हुन्छ । परमात्माद्धारा सदगुरु मार्फत निस्सृत विधिका बिधानले सार्थकता हासिल गर्नेछन, जुगौं जुगसम्म जिवित रहन्छन, जसबाट मनुश्य जगतले आरोग्यता, खुसी र आनन्दको परमार्थिक र ब्यवहारिक ज्ञान हासिल गर्नेछन्।सदगुरुलेआश्रयमा आएका आर्तहरुकाअहिले सम्म कसैले नसुनेका कुरा सुनिदिन्छन, नफुकेका गाठाहरु फुकाई दिन्छन, नसुल्झिएका समस्याहरु सुल्झाइ दिन्छन् । विक्षिप्तहरुको राप र तापलाई शान्त पार्नु गुरुको कला हो ।

जस्तो सुकै प्रतिकुल अवस्थावाट मुक्ति पाउने जुक्ति सिकाउँछन् । सदगुरुले साधक आफ्नै वरिपरि अल्झिएको भन्दा साधना पथमा लम्किएको मन पराउँदछन् । त्यसका लागिगुरुको उद्येश्य कसैको मन मष्तिष्कमा निर्देशनात्मक आदेश जारी गर्नु, उपदेश दिनु मात्र होईन, उसको आफै भित्र रहेको गुरुत्वको खोजी गर्न सक्षम बनाउनु, विराट ब्रम्हाण्डिय उर्जासँग लय मिलाएर हरेकलाई परम संभावनाको प्रस्फुटन गर्न सक्षम बनाउनु हो ।

गुरुद्धारामा धनी–गरिव,दुस्खी–सुखी, ठूलो–सानो, ज्ञानी–अज्ञानी, चोर–साधु भनी कित्ता छुट्याएर प्रबेश विन्दुमा दुई ढोकावाट भित्र छिराउने ब्यवहार बर्जित गरिएको हुन्छ,गुरुकुलमा । गुरुलाई राम्रोसँग थाहा हुन्छ, प्रवेश विन्दुमा छानेको ब्यक्तिसँग काम गर्न सजिलोछ । तरसदगुरुको लक्ष्य छान्नु होईन ईश्वरको आदेश मान्नु हो ।सच्चा गुरुको खोजीमा यताउता भौतारिएको फिरन्ते, मनको घोडामा लगाम लगाउन नसकी लत कुलतमा फसेको आततायी, ज्ञानको भोको जिज्ञासु ब्यक्ति, आफ्नो अंहकार पहिचान स्थापना गर्ने उत्कट चाहना बोकेको आकांक्षीसबैको लागि गुरुद्धारा खुला हुन्छ।यसरी आएको नव आगन्तुक होस या शास्त्र पारगंत विद्धानलाई आफूलाई रोज्न होईन सत्य के हो ? त्यो खोज्न अभिप्रेरित गर्नु, साधनाको क्रममा साधकलाई भावको सागरमा डुब्नवाटरोक्नु होईन,मुर्खतापूर्ण भावुकतामा लगाम लगाउन सिकाउनु, भावसागरमा सहज रुपमा डुबेर उत्रिन र छालसँगै बग्न दिनु, सरल र सहज साधनाका विधिहरु सिकाउनु गुरुका प्रशिक्षण विधी हुन् । गुरुकुलमा स्व–अनुशासन, सेवा, साधना र अभ्यासमा जोड दिईन्छ, सेवा हि परमो धर्म गुरु–शिष्यको सहकार्यको आधार हो ।

आफ्ना साधनाका प्रतिफल र सिद्धीहरुको दुरुपयोग गरी त्यसको बैयक्तिक फाईदाको लत लागेका पथभ्रष्ट प्रायोजित कथित गुरुहरुका कुकृत्यले गर्दा सच्चा सदगुरुले कहिले काँही आशंका, आरोप प्रत्यारोप खेप्नु पर्नेहुन्छ । जो सच्चा छ, जो सत्यको आडमा टिकेको छ, जसलाई कारण–परिणाम थाहा छ, जो कर्म बन्धनका चक्रहरु चिन्दछ , जो ईश्वरको नियमसँग तादाम्यता राख्दछ,जसले महामाया प्रकृतिलाई नजिकवाट नियालेको छ, जसलाई तत्वज्ञान, आत्मज्ञान र ब्रम्हज्ञान छ त्यस्तो सदगुरुलाई के गर्नु हुन्छ र के गर्नु हुदैन राम्रोसँग जानकारी हुन्छ । बजारको लोकप्रियता, शिघ्रलाभ र स्वार्थ्यसँग केही चासो हुन्न सदगुरुलाई । सच्चा गुरुले न परिवारको न त राज्यको सम्पत्तिमा आखा गाड्दछ, उसले स्वयं प्रयासले अथाह भौतिक अभौतिक सम्पदाको सिर्जना गरी यस सृष्टिलाई छोडेर जान्छ । सच्चा साधक–शिष्यले आफ्ना गुरुप्रति सुन्नु पर्ने आलोचना,आशंका वा आरोपमा हतारमा प्रतिक्रिया नजनाउनु बुद्धिमानी हुन्छ,नतिजा र सकारात्मक परिणामले सबै कुरा बताउँदै जान्छ ।

परमात्मा साक्षात्कार महापुरुषको वाणी र ब्यवहारबाट थाहा हुन्छ, उ कत्तिको प्रकाशित आत्मा होभनेर । गुरुका वाणीका स्रोत के हुन् ? कहाँवाट आएका हुन ती शब्दहरु र ती शब्द उत्पत्ति हुनुका पछाडि के कारण होलान ? यस्ता सदगुरुले जीवन र जगतलाई बाहिरवाट सत्यम, शिवम, सुन्दरम र भित्रबाट सत, चित, आनन्दको रुपमा बुझेको हुन्छ, अरुलाई पनि यो कुरा बुझाउनु आफ्नो कर्तब्य ठान्दछ । संसार सबै बुझेपछि पनि सदगुरुले आफ्नो कर्म छोड्दैनन् । सत कर्म र सत चरित्रबाट उदाहरण बनेर सधै आत्मोन्नति, आत्मोत्थानको परिचायक बन्दछन् ।

सदगुरुका सतकर्मको फैलने र विस्तार हुने चाहना हुनु ब्रहाण्डीय नियमसँगको लयात्मक प्रबृत्ति हो । यस्तो दिब्य कार्यमा सहभागी बन्नु साधनाको खुट्किलोमा, सेवाको मार्गमा आफूलाई कर्मयोगी सावित गर्ने राम्रो अवसर बन्दछ । योग, साधना, भक्ति, सत्संग, सेवा, सहकार्य जस्ता क्रियाकलापले आत्म विश्वास जगाउँछ, मर मेरोबाट हामी र हाम्रो भन्न लगाउँछ । ब्यक्तित्व, नेतृत्व क्षमता विकास गर्दै अध्यात्मिक, सामाजिक र ब्यवसायिक लगायतका समग्र क्षेत्रमा जीवन उर्जा ब्यवस्थापन गर्ने कला सिकाउँछ । सदगुरुले कर्म गरेर उदाहणीय बन्नु आफ्नो धर्म ठान्दछन,अनुकरणीय चरित्र स्थापित गर्दछन ।

सदगुरुको कर्तब्य परब्रम्ह परमात्माको दिब्यपरम कल्याणकारी सन्देश प्रवाहित गर्नु हो । गुरुको असली कर्म प्रेमको संचार गर्नु हो, प्राण उर्जाको सुचालक बन्नु हो ।निस्शर्त, निस्वार्थ र निर्वाध प्रेमले गुरु हृदय पोखिन्छ, ईश्वरीय प्रेमको मूलमा पुगेर आफ्नो हृदयमार्फत प्रबाहित प्रेम र त्यसबाट उत्पन्न करुणा बगिरहन्छ जीवन र जगतमा, कहिल्यै रित्तिदैन गुरुको प्रेम बढ्दै फलदै जान्छ । गुरुप्रेमको अनुभुति भाव स्पन्दनको गहिरो तहमा रसपूर्ण मिठासयुक्त हुन्छ, भरोसायोग्य हुन्छ । गुरु परिवार प्रतिको श्रद्धा र आभार विना गुरु भक्ति अपूर्ण हुन्छ । मनुश्य स्वरुपमा रहेको सदगुरुले एउटी ममतामयी गुरु माताको पुत्रको रुपमा, एउटी नारीको पतीको रुपमा, सन्तानको पिताको रुपमा, अन्य ईष्टमित्र परिवार आफन्तको अविभावकको रुपमा, बहुआयामिक भूमिकामा उत्तिकै कुशलतापूर्वक निभाएको हुन्छ ।

यस्तो गतिशिल बहुआयामिक चरित्र निभाउन सक्ने गुरु प्रति, बहुजन हितायसबहुजन सुखायका लागि ब्यक्तिगत अपेक्षामा लगाम लगाउने गुरु परिवार प्रति धन्यवाद, कृतज्ञता र आभार प्रकट गर्नु असल साधक साधिका हुनु पर्ने गुणहो । यो आभार, यो कृतज्ञता, यो धन्यवाद गुरुका लागि मात्र होईन, गुरु परिवार प्रति समेत देखिनु पर्दछ । गुरुलाई साधकको भक्तिभावले त्यती फरक नपार्न सक्छ जती भक्तिभावले साधकको आफ्नै मनलाई एकाग्र बनाउन र हृदयलाई कोमल बनाउन काम लाग्छ । गुरुभक्तिको मार्ग भावहरु नरम मुलायम नौनी झै बनाउनका लागि हो, भक्ति रसको मिठास रसास्वादन गर्नलाई हो, आफ्नै लागि हो ।

मनुष्य भित्रको गुरुत्व परमात्मा साक्षातकार पश्चात जव सद्गुरुमा रुपान्तरण हुन्छ तव गुरुका हरेक श्वास हरेक वाणी हरेक क्रियाकलाप परम कल्याणकारी हुन्छन, ती हरेक सुकृत्यले मोक्षको मार्ग प्रशस्त गरेका हुन्छन, त्यो सामिप्यता महशुस गर्ने पात्र बन्न सक्नु भयो, अनुभूतिजन्य क्षमता बनाउनु भयो भने पलपलमा महशुसहुनेछ । प्रत्येक चरणमा, हरेक मोडहरुमा सदगुरुको मार्ग्निर्देशन हुनेछ । भौतिक उपस्थितिको चाँह रहनेछैन । अगाडी देखिने रहर हुनेछैन, प्रभाव देखाउने मूर्खता हराउनेछ । गुरुसँगकोअटुट बन्धनको रुपमा सदगुरुको महाआकासमा तपाँई सानो आकास मिसिनेछ । गुरुको प्रेमको महासागरमा, गुरुको अनन्त चेतनामा तपाँईको चेतनाको टुक्रो चुम्वकमा टासिएको झै टासिनेछ, सुखानुभूतिको मिहिन डोरो, हो यही त हो गुरु-शिष्य-परमात्माको अटुट बन्धन,सनातन सनातनका लागि ।

(श्रद्धेयपरम बन्दनीय, परम प्रकाशित पूजनीय सदगुरुप्रति समर्पित)

प्रतिक्रिया दिनुहोस
Advertisement