हामीले गर्न सक्ने भनेको प्रार्थना,प्रयास अनि प्रेम हो !


-वृन्दा आचार्य,

यस्तरी प्रार्थना गर्नुस् की हे भगवान सबै तिम्रो हातमा छ, म निसहाय छु, निर्वल छु, मेरो केही लाग्दैन, सबै तिमीले बनाएको हो, तिमीले बिगार्न सक्छौं, तिमीले नै सपार्न सक्छौं । यस्तरी प्रयास गर्नुस् की मैले गर्दा पक्कै केही हुन्छ, मेरो पनि केही हात छ ।

मेरो सानो सहयोगको प्रयासले आहतमा परेकोलाई राहत प्राप्त हुन्छ । कल्याण र भलाईको लागि गरिने प्रार्थना होस् या प्रयास होस् दुबै प्रेमपूर्वक गरिएको हुनुपर्दछ । मन आकुल ब्याकुल भई अश्रुधारा सहित अन्तर हृदयबाट गरिएको पुकारा प्रार्थना हुन सक्दछ । शरीर भन्दा मन, मन भन्दा भाव, भाव भन्दा आत्माबाट निस्केको कृतज्ञता र करुणाले ब्रहाण्डीय सुक्ष्म उर्जाको लय समात्न सक्दछ, सकारात्मक असर पार्न सक्ने क्षमता राख्दछ ।

चारै तर्फ संकटको बादल मडारिएको क्षणमा ब्यक्तिले पहिले आफूलाई जोगाउंछ यो प्रकृतिको अस्तित्वगत स्वभाव हो । स्वयं संकटमा परेको वेलामा अरुको भलाई सोच्नु आदर्शतम कुरा हो । तैपनि जे जस्तो अवस्थामा रहेता पनि मनले प्रार्थना, बचनले प्रेम र कर्मले प्रयास गर्नु मनुष्यको कर्तब्य हो ।

आँफूलाई निःसहाय सम्झिरहेको बेला सहायताको एउटा त्यान्द्रोले समेत सहारा दिन्छ । यो संसार निष्ठुरी छैन भन्ने भरोसा दिन्छ । बाच्ने आशा पलाएर आउँछ । अर्को तर्फ भय र मोह ग्रस्त प्रार्थना ब्यर्थ छ । निष्प्रभावी हुन्छ । हामीले देखिरहेका छौं, धेरै मानिस भयग्रस्त अवस्थामा प्रार्थना गर्दछन् ।

विश्व स्वास्थ्य संगठनको आजको मितिसम्मको तथ्याङ्क अनुसार करिव १५ करोड मानिस करोना संक्रमणबाट संक्रमित भएका छन् र करिव ३२ लाख मानिसले मृत्युवरण गर्ने पुगे । चेकजाँच नगराएका र मृत्युको कारण कोरोना भनी अभिलेखमा नआएका कैयन होलान् ।

बैश्विक महामारीको कारण विश्व रोग शोक र भोकमा आक्रान्त छ । करोडौंले आयश्रोत गुमाए । कैयनले अप्रत्यासित परिवार जन गुमाएका छन् । अत्यासलाग्दो त्रासदीपूर्ण जीवन भोगिरहेका मानिसहरु सम्झदा,सामाजिक संजालमा देख्ता यदि कसैको मनमा चसक्क घोच्दैन भने थाहा पांउ की मेरो मन बाहिरी संसारमा रुमल्लिएको छ,अन्तर हृदय स्थित प्रेम र करुणासम्म पुगेको छैन् ।

घांटमा लाशको अनि पेटमा भोकको ज्वाला दन्किएको छ । लाखौं मानिस अस्पलात र घरका ओछ्यानमा थला परेका छन् । संवेदनाहिनताले पराकाष्ठा नाघेको छ । आफूलाई नपरेसम्म गंभिरतापूर्वक नलिने मनुष्यको स्वभाव यतीखेर प्रष्ट हुंदैछ ।

केही गर्न नसके प्रार्थना गरौं । कुनै विराट शक्ति, ईश्वर परब्रम्ह परमात्मा,कुनै ईष्ट देवता,आफूले मानेको सदगुरु, प्रकृतिमातासंग वा कुनै शक्तिशाली अदृष्य शक्ति प्रति असिम श्रद्धा, प्रेम र भक्तिका साथमा सबैको कल्याण होस्, भलो होस्, मंगल होस् भनी प्रार्थना गर्नाले ब्रम्हाण्डमा त्यस्तै तरङ्ग फैलिन्छ ।

आकर्षणको नियमअनुसार समले समलाई आकर्षित गर्छ । कल्याणकारी दैवी भावहरु एकत्रित्र हुंदा पृथ्वीमा दैवीगुण बढ्दछ । ब्रम्हाण्डमा जे जस्ता भाव तरङ्ग तरङ्गित छन्, मनमा विचारको प्रबाह त्यस्तै आउछन् ।

अधिकाधिक मानिसले सबैको मंगल होस, सबैको कल्याण होस, सबैको जय होस, सबै खुसी रहून, सबै सुखि रहून,सबै स्वस्थ्य रहून, दुःख कसैलाई आईनपरोस,आपत विपत संकटबाट मुक्त होईयोस् भन्ने असल मनसाय प्रेरित प्रार्थनाले सकारात्मक शक्ति संचय गर्दछ । जो ब्यक्तिलाई सम्झिएर शुभलाभ र भलो चिताएर प्रार्थना गरिन्छ,ब्रम्हाण्डमा संचय भएको त्यो प्रार्थनाको शक्ति क्रियाशिल हुन्छ, सुक्ष्म दिब्य तरङ्गको माध्यमबाट ब्यक्तिसम्म पुग्दछ,उक्त ब्यक्तिले आत्मबल प्राप्त गर्दछ,ती दिब्य उर्जाले औषधीय गुणको काम गर्दछ ।

कोही विरामी परेको अवस्थामा,कोही दुःख पिडामा रहेको अवस्थामा हामीले गर्न सक्ने भनेको शुभभाव सहितको प्रार्थना, सहयोगको प्रयास अनि निश्वार्थ प्रेम नै हो । प्रार्थनाका स्तर हुने गर्दछन् । अन्तर आत्माबाट क्षमायाचना गर्नु, आग्रह गर्नु अनि विनयशिल बनी अनुरोध गर्नु प्रार्थना हो । प्रार्थनामा अथाह शक्ति हुन्छ । प्रार्थना सर्वप्रिय बिधि हो भन्ने कुरा सबै धर्म संम्प्रदायमा प्रार्थना गर्ने प्रचलनबाट थाहा हुन्छ ।

प्रार्थनाको प्रथम ध्येय कुनै संकटबाट मुक्ति पाउनु हुन् सक्छ भने अन्तिम ध्येय मोक्ष हुनु पर्दछ । क्षणिक क्षुद्र प्राप्तिको लागि प्रार्थना गरिन्छ की महान कल्याणको लागि प्रार्थना गरिन्छ भन्ने कुरा प्रार्थीको आध्यात्मिक स्तरमा भरपर्छ ।CBT (Cognitive Behavioural Theory) ले भन्छ– प्रार्थनाको चक्र हुन्छ, प्रार्थनाले मुख्यतया तीन तहहरु विचार, भाव र कर्ममा प्रभाव पार्दछ ।

मानौं कोही ब्यक्ति गंभिर विरामी भएको कुरा सुन्यौ, सुनेपछि मन अलि विचलित हुन्छ, ला‘के हुने हो कसो हुने हो ? मनमा थरी थरीका सकारात्मक वा नकारात्मक अनुमान सहितका विचारहरु आउंछन् । त्यो ब्यक्ति प्रति असल भाव छ भने भावनाको तहबाट राम्रो होस्,भलो होस्, स्वास्थ्य लाभ होस् भनी भाव निर्माण हुन्छ । तत् पश्चात कर्मको माध्यमबाट मद्धत गर्न, सहयोग गर्न अग्रसर बनिन्छ ।

अध्यात्म र प्रार्थनाको सम्बन्धको एक अध्ययनले पांच थरीको प्रार्थना र आध्यात्मिक चेतनाको स्तरको प्रभावको चर्चा गरेको छ । यदि कसैले कसैको कुभलो चिताएर कामना गर्दछ वा हानी हुने कर्म गर्दछ भने त्यस्तो ब्यक्तिको आध्यात्मिक चेतनाको स्तर केवल १० प्रतिशत मात्र मानिएको छ । त्यस्तो प्रार्थनाको शक्ति कमजोर हुन्छ ।

प्रार्थना गर्ने ब्यक्तिको आत्मपतन हुन जान्छ । यदि कसैले सांसारिक सुखभोगको लागि प्रार्थना गर्दछ,धन– सम्पत्ति, पुत्र आदि प्राप्तिको लागि प्रार्थना गर्दछ भने त्यस्तो मगन्ते प्रार्थना गर्नेको आध्यात्मिक चेतनाको स्तर ३० प्रतिशत मात्र हुन्छ । आध्यात्मिक चेतनाको स्तर ५० प्रतिशत भएको ब्यक्तिले स्वयंको उन्नति र प्रगतिको कामना गर्दछ भने करिव ७० प्रतिशत आध्यात्मिक चेतना भएको ब्यक्तिले आफू लगायत अरुको उन्नति र प्रगतिको लागि प्रार्थना गर्दछ ।

सत्तरी प्रतिशत भन्दा माथी उच्चस्तर आध्यात्मिक चेतना भएको ब्यक्तिले आफू लगायत अरु सबै प्राणीको मोक्षको लागि प्रार्थना गर्दछ भने त्यसको प्रभावकारिता करिव ९० प्रतिशत सम्म हुन्छ भनिएको छ ।पबित्रता र कृतज्ञता सहित सर्वकल्याणका लागि गरिने प्रार्थना सर्वाधिक फलदायी हुन्छन भनी आध्यामिक गुरु, सन्त–महात्माले बताएका छन् ।

अनन्तकोटी विशाल विश्व ब्रम्हाण्ड दिब्य उर्जाले ब्याप्त,अकारण परम करुणादायी र अनन्त आनन्दले भरिपूर्ण छ । यसै विश्व ब्रहाण्डमा रहेका पिण्डहरुले आफ्नो प्रेम, करुणा र मैत्रीभाव फैलाएमा सारा ब्रम्हाण्डले सहायता पुर्याउंछ भनी विश्वास गरिएको छ ।

नेपालका बरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोईरालाले एक अन्तरबार्तामा भनेका छन् – मानिसहरुले हामी डाक्टरलाई भगवान हुन् ज्यान बचाउंछन भन्छन मैले अहिले सम्म जे जती क्रिटीकल एमर्जेन्सी अपरेशन गरेको छु धेरै अपरेसन सफल भएका छन तर बाच्छ भनेर अनुमान गरेको बिरामी मरेको र बाच्दैन भनेर आश मारेको बिरामी बाचेको छ ।

खै कुनै अदृश्य शक्तिको कारणले यस्तो चमत्कार हुन्छ हामी छक्क पर्छौं भनेका छन् । नेपालका प्रख्यात हास्य कलाकार मनोज गजुरेल कोभिडको गंभिर संक्रमणमा गरे लामो समयसम्म होशचेत नखुलेको अवस्थामा आईसियुमा बस्नुपर्यो ।

ईश्वर परब्रम्ह परमात्मामा अगाध विश्वास राख्ने मेरी आमा लाई खै के ले छोयो आकुलब्याकुल बन्दै ध्यानावस्थामा हे भगवान मनोज गजुरेल बाबुलाई बचाई देउ, उसको पत्नीसँग सम्बन्ध बिच्छेद भएको,छ ती प्यारा बालबच्चा टुहुरा हुन्छन्, कल्याण गर प्रभु भनीकन गहिरो ध्यानमा डुब्नु भएछ ।

केही दिन पछि आमालाई फोन आएछ,आमा म मनोज गजुरेल बोलेको म कोमामा भएको बेलामा मलाई तपाईको स्मरण भयो, केही सुक्ष्म तरगंको महशुस भयो, अहिले म निको भएर बाहिर निस्किए । अब म हजुरलाई नयाँ दुलही लिएर भेट्न आउछु भन्नु भएछ । ओशोधारामा ध्यान सम्बन्धी कार्यक्रममा उहांहरुको भेटघाट चिनजान भएको रहेछ ।

हितोपदेशमा स्वयंका दुर्गुणहरुको चिन्तन र परमात्माको उपकारको बारबार स्मरण गर्नु प्रार्थना हो भनिएको छ । ईश्लाम धर्म प्रवर्तक पैगम्बर महम्मदले भन्नु भएको छ– प्रार्थना धर्मको आधार हो र प्रार्थनाले स्वर्गको ढोका खोल्छ । सत्य र अहिंसाका पक्षपाती महात्मा गान्धीले प्रार्थनालाई हाम्रा दुर्वलताको स्वीकृति र हृदयको नम्र पुकार हो जुन आत्मशुद्धि र आत्मा निरीक्षणको आह्वान हो भन्नु भएको छ ।

सदगुरु ओशोले सक्छौं अरुलाई सुख देउ, सक्दैनौं अरुलाई दुख नदेउ, सक्छौं अरुको कल्याणको कामना गर,सक्दैनौं अरुको कुभलो नचिताउ भनी सन्देश दिनु भएको छ । सबै ऋषिमूनि, सन्त महात्माको सन्देशको सार के हो भने मनुष्यका सबै प्रार्थना र प्रयास सर्वे भवन्तु सुखिन,लोका समस्ता सुखिन भवन्तु र बसुधैव कुटुम्वकम्का लागि समर्पित हुनु पर्छ तव मात्र विश्व कल्याण संभव छ ।

यजुर्वेद एउटा प्रार्थना छ–विश्वपुष्ट ग्रामे अस्मिन अनातुरम् ।। अर्थात यो गांउका सबै प्राणी रोग रहित र हृष्टपुष्ट रहून् । यसलाई अनुशरण गर्दै हामी एक साथ प्रार्थना गरौं– यस पृथ्वीबासी मानव सहितका संम्पूर्ण प्राणीहरु स्वस्थ्य रहून, खुसी हुन, सुखी बनून, शान्त रहून र आनन्दित जीवन विताउन सकून् । भवतु सब्ब मंगलम् ।

प्रतिक्रिया दिनुहोस
Advertisement