होटलको सीसीटीभी फुटेज र बिल उपलब्ध गराउन सांसद कठायतले दिइन् उजुरी

होटलको सीसीटीभी फुटेज र बिल उपलब्ध गराउन सांसद कठायतले दिइन् उजुरी


काठमाण्डु- संसदको कृषि समितिका सदस्यहरू बसेको होटलको सीसीटीभी फुटेज र खर्चको विवरण उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले उजुरी दिएकी छन् ।

प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद कठायतले पोखरास्थित होटल ओपन हाउसको २९ पुसको राति ८ देखि १० बजेसम्मको सीसीटीभी फुटेज झिकाउन माग गरेकी हुन् ।

साथै, संसाद कठायतले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाइ उपलब्ध गराउन पनि माग गरेकी छन् । २४ पुसदेखि कृषि समितिले नेपालगञ्जमा अनुगमन सुरु गरेको थियो । ६ दिने अनुगमनको क्रममा कृषि समितिका सदस्यहरू २९ पुसमा पोखराको सो होटलमा बसेका थिए । कृषि समितिको अनुगमनका क्रममा समिति सदस्यहरूको आचरण ठिक नभएको र सांसदहरूले अर्काको व्यक्तिगत जीवनबारे अनावश्यक टिकाटिप्पणी गरेको समिति बैठकमा उठाएकी थिइन् ।

सो विषयमा प्रमाण लिएर आउनू भनेपछि उनले आइतबार समितिमा सीसीटीभी फुटेज झिकाएर छानबिन गर्न माग गरेकी हुन् ।