निर्वाचनमा मलाई हराउनका लागि पार्टीभित्रकै मान्छे लागे : विनोद चौधरी


काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उद्योगपति विनोद चौधरीले प्रतिनिधिसभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टीभित्रकै मान्छे लागि परेका बताएका छन्।

आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै चौधरीले प्रतिनिधिसभा निर्वाचनमा आफूलाई हराउनका लागि पार्टी भित्रकै मान्छेहरु लागि परेका बताएका हुन्।

‘मेरो निर्वाचन क्षेत्रमा त कसरी अर्को विरोधी उम्मेदवारलाई विजयी गराउने भन्ने क्रियाकलापमा हाम्रै पार्टीका केही व्यक्तिहरु प्रत्यक्ष संलग्न भए । यसका प्रमाणहरु निर्वाचनकै बेला छरपष्ट भइसकेका छन्’ बैठकमा चौधरीले भने । चौधरी ४ मंसिरमा भएको चुनावमा नवलपरासी पश्चिम-१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

उनले पार्टीको उम्मेदवारलाई जिताउन सबै एक ठाउँमा उभिएर सहयोग गर्नुका साटो कसरी सिध्याउने भनेर लागेका बताए। उनले भने, ‘निर्वाचनको क्रममा टिकट पाउने बित्तिकै समग्र पार्टी, पार्टीका स्थानीय नेतागण, विभिन्न टिकटका प्रत्यासी सबैले पार्टीको संरचना, पार्टीको संस्कार, पार्टीको चरित्र बमोजिम एक ठाउँमा उभिएलान्। सहयोग गर्लान् भन्नुको साटो कसरी अब यसलाई सिध्याउने हो भन्नेमा लागेको मेरो अनुभुति भयो। मलाई लाग्छ धेरैले यस्तो अनुभुति गरेको हुनुपर्छ।

पार्टी संगठन, भ्रातृसंगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्न नसके कांग्रेस पार्टीका रुपमा रहन नसक्ने उनले बताए । युवा पंक्तिहरु, पढेलेखेका, देशबाहिर रहेका युवाहरुले र कांग्रेस कार्यकर्ताकै परिवारका सदस्यले पनि घरमा फोन गरेर अब नयाँ पार्टीलाई भोट हाल्नुुस् भनेको चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement