काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् एवं महामन्त्री विपिनकुमार आचार्यले फरक मत राखेकै कारण सांसदहरूलाई लतार्ने, घिसार्ने र घर जलाउनेसम्मका धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर चुनौती भएको बताएका छन् ।
बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै आचार्यले यस्ता धम्की दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे ।
‘म तिम्रो कुरासँग असहमत हुन सक्छु । तर तिम्रो बोल्ने अधिकारको रक्षाका लागि अन्तिम स्वास रहँदासम्म लडिरहनेछु’ भन्ने भोल्तायरको भनाइ उद्धृत गर्दै उनले लोकतान्त्रिक समाजमा फरक मतको सम्मान र अभिव्यक्ति स्वतन्त्रताको महत्त्व औंल्याए ।
नेपालको संविधानले पनि अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै आचार्यले फरक मत राखेकै आधारमा सांसदविरुद्ध धम्की आउनु स्वीकार्य नहुने बताए ।
‘सिंहदरबारकै गेट अगाडि लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता प्रथम दृष्टिमै खारेजयोग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो चुनौती हो,’ उनले भने ।
यस्ता अतिवादी धम्की दिने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन आफूले गृहमन्त्री सुधन गुरुङ र प्रधानमन्त्री कार्यालयलाई आग्रह गरिसकेको उनले जानकारी दिए ।
आचार्यले संसद्ले तथ्यमा आधारित भएर आफ्ना धारणा राख्ने सांसदहरूलाई निर्भीक भएर बोल्न प्रोत्साहित गर्नुपर्ने बताए ।
‘म चाहन्छु यस सम्मानित संसदले तथ्यमा टेकेर बोल्ने आफ्ना हरेक सांसदलाई साहस देओस् र भनोस् बोल्न नडराउनुस् । हामी तिमीसँगै छौं’, आचार्यले भने ।
आचार्यले बोलेका कारण कुन दलका को सांसदलाई धम्की आएको भन्नेबारे भने थप खुलाएनन् ।




प्रतिक्रिया