‘अब प्रतिरोधको विकल्प छैन’


काठमाण्डु- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्धामा महासचिव चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत सो पार्टीका आधा दर्जन भन्दा बढी शिर्ष नेताहरुबिरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

जारी पक्राउ पुर्जी अनुसार महासचिव विप्लवसहित प्रवक्ता प्रकाण्ड, उनकी श्रीमती नन्दा विश्वकर्मा, उदयबहादुर चलाउने, धर्मेन्द्र बास्तोला, पदमबहादुर राई, सन्तोष बुढामगर, मोहनबहादुर कार्की, टेकबहादुर केसी, भरतबहादुर बम, नवीन विश्वकर्मा, उमा भुजेल, शंखर दमाई, दमयन्तीकुमारी श्रेष्ठ चिमोरिया, बाबुलाल पुनमगर, सुदीप कुँवरलगायत छन् ।

उनीहरु बिरुद्ध हातहतियार खरखजना, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान गरेको, राज्य विरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुर गरेको लगायत मुद्धा छ । २० फागुन २०७७ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारसँग नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको ३ बुँदे सहमति भयो ।

उक्त ३ बुँदे सहमतिपछि विप्लव हिंसात्मक राजनीतिलाई त्यागेर शान्तिपूर्ण राजनीतिमा आएका थिए । सहमतिको पहिलो बुँदामा वार्ता र संवादबाट समस्या समाधान गर्ने, तथा दोस्रोमा शान्तिपूर्ण रूपमा राजनीतिक गतिविधि सञ्चालन गर्ने तथा तेस्रो बुँदामा कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहा गर्न र सम्पूर्ण मुद्दाहरु खारेजका लगाएका विषय थिए ।

तर सहमति भएको झण्डै तीन वर्ष पुग्न लाग्दासमेत सहमति कार्यान्वयन नहुँदा नेकपाका नेताहरूका नाममा ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको आदालत स्रोतको दावी छ । ललिपुर जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीमा नेता सन्तोष बुढामगर को पनि नाम छ । अदालतले पक्राउ पुर्जी जारी गरेपनि आफूहरु आत्मसमर्पण नगर्ने बुढामगरले बताएका छन् ।

उनले देशमाथि भएको हस्तक्षेको विरोध गर्दा सरकारले तिन बुँदे सहमति लागू नगरेको बताए । सरकारले तिन बुँदे सहमति लागू नगरेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको हुनसक्ने उनकाे भनाइ छ । ‘ कुनै पनि हालतमा हामी आत्मसमर्पण गर्दैनौँ । प्रतिरोध हिजो पनि गरेको हो, भोलि पनि गरिने छ ।’ उनले भने ।

उनले सकारसँग भएको तिन बुँदे सहमति लागु गर्न सरकारलाई दवाव दिने पनि दावी गरे । यदि सरकारले तिन बुँदे सहमति लागु गरेन भने प्रतिरोध गर्ने समेत उनको भनाइ छ । ‘सबैभन्दा पहिला हामी तीन बुँदे सहमति लागु गर भनेर सरकारलाई दबाब दिन्छौँ । यदि त्यस्तो गर्दा पनि हामीलाई दमन गर्ने र थुन्नेतिर राज्य लाग्यो भने हामीले प्रतिरोध गर्नुको कुनै विकल्प रहँदैन।’, बुढामगरले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement