म्याग्दी – मुस्ताङमा तालुधर्से अर्जुनक नामको नयाँ प्रजातिको चरा भेटिएको छ ।
चराविद् सञ्जय था श्रेष्ठ र शंकर तिवारीले उपल्लो मुस्ताङको समर क्षेत्रमा नयाँ प्रजातिको चरा फेला पारेको नेपाल पन्छीविद् संघले जनाएको छ ।
नेपाल बर्ड रेकर्ड कमिटी (चरा अभिलेख तथा प्रमाणीकरण गर्ने समिति) का अध्यक्ष डा. तुल्सी सुवेदीले श्रेष्ठ र तिवारीले तिनधर्से अर्जुनक जातको चरा नेपालमा पहिलोपटक भेटिएको विज्ञप्तिमार्फत जानकारी दिए ।
स्पोटेड फ्लाइक्याचर अंग्रेजी नाम भएको चराको वैज्ञानिक नाम मुसिकापा स्ट्रिएटा रहेको कमिटीका अध्यक्ष सुवेदीले जानकारी दिए ।
समुन्द्री सतहबाट ३ हजार ६५० मिटर उचाइमा साउन २ गते बिहान पदयात्राका क्रममा श्रेष्ठ र तिवारीले खिचेको चराको तस्वीर पुष्टिका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए ।
उपलब्ध प्रमाण, विवरण अध्ययन र राष्ट्रिय अन्र्तराष्ट्रिय पन्छीविद्सँगको सुझावका आधारमा तालुधर्से अर्जुनक भएको पुष्टि गरी नेपालमा पाइने चराको अभिलेखमा प्रजाति थप गरिएको अध्यक्ष सुवेदीले बताए ।
धर्से अर्जुनकसहित नेपालमा चरा प्रजातिको संख्या ८९६ वटा पुगेका छन् । अर्जुनक प्रजातिको संख्या २४ पुगेको छ । नेपालबाट सबैभन्दा नजिक मङ्गोलिया, उत्तरी चीनको विभिन्न ठाउँ, पश्चिमतर्फ अफगानिस्तान, पाकिस्तानमा यो चरा पाइन्छ ।
जाडोयाममा यिनीहरू नियमित रूपमा दक्षिणतिर बसाइँ सर्छन् । मुस्ताङमा भेटिएको यो चरा बसाइँसराइँको क्रममा बाटोमा फिरन्ते रूपमा आइपुगेको हुन सक्ने अनुमान गरिएको चराविद् सञ्जय था श्रेष्ठले बताए ।
‘देशका लागि नयाँ चरा पहिचान गर्न सकेकामा खुशी लागेको छ,’ वाइल्डलाइफ फोटोग्राफर समेत रहेका श्रेष्ठले भने, ‘यसले चरा पर्यटनमा लाग्न उत्साह थपिएको छ । चराका फोटो खिच्न उत्प्रेरित गरेको छ ।’
नेपाल बर्ड रेकर्ड कमिटीले नेपालमा नयाँ चराको अभिलेख राख्ने गर्दछ । श्रेष्ठले सन् २०२० मा मनोहरामा सेतोजुँगे बगेडी चरा मुलुकका लागि पहिलो पटक अभिलेख गरेका थिए ।
प्रतिक्रिया