वीरगञ्ज – सर्वाेच्च अदालतले त्रिभुवन राजपथअन्तर्गत वीरगञ्ज महानगरपालिकाको मुख्य सडक विस्तारविरुद्ध परेको रिट खारेज गरेको छ ।
बुधबार सर्वोच्चका न्यायाधीश बिनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले रिट खारेज गरेको छ । अदालतले मुख्य सडक विस्तारविरुद्ध परेका ५ वटा रिट खारेज गरेसँगै अब सडक विस्तार गर्ने बाटो खुलेको छ ।
राजपथअन्तर्गत वीरगञ्ज महानगरपालिकाको गण्डक चोकदेखि पावर हाउस चोक, घण्टाघर, आदर्शनगर, रजतजयन्ती चोक, शंकराचार्यद्वार हुँदै मितेरी पुलसम्मको मुख्य सडक विस्तारको मुद्दा सर्वोच्चमा लामो समयदेखि विचाराधीन रहेको थियो ।
सडक डिभिजन कार्यालय हेटौंडा र व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले २०७६ सालमा सडक विस्तार गर्न खोजेपछि सडकमा परेका घरका धनीहरू विरोध गर्दै अदालत पुगेका थिए ।
सडकको दायाँबायाँका घरधनीले जमिनको लालपूर्जा भएको, स्थानीय तहबाट घरको नक्सा पास गरेको, राज्यलाई विभिन्न कर तिरिरहेको घरजग्गा सित्तैमा लिन नपाइने, जग्गा तथा संरचना नियमअनुसार अधिग्रहण गरेर वर्तमान मूल्यअनुसार मुआब्जा वितरण गरेर मात्रै सडक विस्तार गर्नुपर्ने बताउँदै सर्वोच्च रिट दायर गरेका थिए ।
प्रतिक्रिया