यसरी बनाइदै छ सुदूरपश्चिमको साँस्कृतिक पहिचान बिसु पर्व

यसरी बनाइदै छ सुदूरपश्चिमको साँस्कृतिक पहिचान बिसु पर्व


काठमाडौं – सुदूरपश्चिम प्रदेशमा यतिबेला विसु पर्वको रौनक छाएको छ । नयांवर्षको दिन अर्थात बैशाख १ गते सुदूरपश्चिममा विसु पर्व बनाउने प्रचलन रहिआएको हो । विसु पर्व विशेषगरी सुदूरपश्चिमका सात वटा पहाडी जिल्लामा मनाइन्छ ।

अछाम, डोटी, डडेल्धुरा, बझाङ, बाजुरा र बैतडीमा मनाइने विसु पर्वमा देवर-भाउजु, नन्द-भाउजु र साली–भिनाजुले एक आपसमा सिस्नुपानी छ्यापा छ्याप गरेर यो पर्व मनाउने गर्छन् । देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले विसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ ।

प्रदेश गएकाहरु पनि गाउं फर्किएपछि दशैको बेलामा जस्तै रौनकता बढ्छ । बझाङका नारायण जोशीले बताए । ‘बजार भन्दा अहिले त गाउँमा निकै चहल पहल छ ।’ बिसु मनाउन घर फर्कनेहरुका कारण ग्रामीण सडकहरुमा यात्रुको चाप बढेको देखिन्छ । तर पछिल्लो समय भने विसु पर्वमा सिस्नो लगाउने चलन बिस्तारै कम हुँदै जान थालेको प्रति खप्तड छान्ना गाउंपालिका वडा नं. ७का पदम बहादुर खड्काले चीन्ता व्यक्त गरे । उनले भने, ।‘पहिलेको जस्तो रमाइलो गर्ने चलन हराइसकेको छ ।’

सुदुरपश्चिमको महत्वपूर्ण पर्वका रूपमा रहेको विसु पर्व आउनु पूर्व नै जिल्लामा रहेका सबै घर रातो माटो र कमेरो माटोले लिपपोत गर्ने (स्थानीय भाषामा घर छिप्ने) गरिन्छ । विशेष गरी घर छिप्ने कार्यमा महिलाहरू सक्रिय हुन्छन् । नयाँ वर्ष आउनुभन्दा पहिले नै घर छिपेमा वर्ष भरी नै सुख, शान्ति र समृद्धि हुन्छ भन्ने जनविश्वास रहिआएको छ । बैशाख सुरु भएसँगै रोगब्याधी, महामारी र अनिकालको समय सुरु हुने भएकाले त्यसको रक्षाका लागि सिस्नो लगाउँदै घर परिवारका सदस्यसँगै बसेर विसु मनाउने चलन रहेको बताउंछन् ।

बढी जसो कामका लागि भारत गएकाहरू विसु पर्व मनाउन घर फर्किन थालेपछि गाउँघरमा चहलपहल बढेको छ । नयाँ वर्ष अर्थात विसु पर्व मनाउनकै लागि नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमेली एक साता अघिदेखि नै घर फर्किने तथा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन छ ।

सुदुरपश्चिमका पहाडी जिल्लामा विसु पर्व गौरा र दशैपछिको महत्वपूर्ण पर्व हो । बैतडिका कर्णराज अवस्थी भन्छन्,। ‘दशै भन्दा पनि यहाँका गाउमा बिसु र गौरा पर्वलाई बढी महत्व दिन्छन् यो बेला घर नफर्कने त कोही हुदैनन् ।’उनले भने, विसुका दिन सिस्नो लगाउँदा वर्षभरी शरीरमा कुनै पनि रोग नलाग्ने जनविश्वास छ । शरीरमा सिस्नो लगाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास पनि छ । ‘विसुको दिनमा विशेषगरी देवर भाउजु र साली भिनाजुबीच सिस्नोले हानाहान गरेर जुहारी नै चल्छ’।

बिसुपर्व किन मनाईन्छ ?
हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै बिसुपर्व मनाउने गरिएको विश्वास छ । सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ । बिसुका दिन मिठो मसिनो खाने आफन्त इष्टमित्रसँग भेटघाट, रमाइलो गर्ने सिस्नो लगाउने चलन पनि छ ।

विसु तिहारकै दिन कूलदेवताको पूजा गरी ‘गतानी डुब्का’ (स्थानीय खानाको परिकार) पकाई खाने चलन छ । हिन्दु सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयाली स्वरुप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ ।