विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा समस्या आउँदैनः अर्थमन्त्री पौडेल

विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा समस्या आउँदैनः अर्थमन्त्री पौडेल


काठमाण्डु – अर्थमन्त्री विष्णु पौडेलले नेपालमा अहिले भइरहेको विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा नकारात्मक प्रभाव नपार्ने बताएका छन् ।

प्रस्तावित एक्सटेन्डेट क्रेडिट फ्यासिलिटि कार्यक्रमबारे अन्तर्राष्ट्रिय मुद्रा कोषका भर्चुवल कार्यक्रममा उनले नेपालको राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा समस्या नहुने बताएका हुन् ।

नेकपाका महासचिव समेत रहेका उनले अहिलेको राजनीतिक घटनाक्रम संसदीय राजनैतिक प्रणालीको एउटा प्रक्रिया भएको र नेपालमा विगतमा पनि मध्यावधि निर्वाचन भएकाले आर्थिक सुधार अवरोध हुन्छ कि भनी चिन्तित नहुन आग्रह गरे ।

नेपाल सरकारका आर्थिक र सामाजिक क्षेत्रका नीतिहरु संविधानबाटै निर्देशित भएको उल्लेख गर्दै उनले राजनीतिक विषयमा दलहरुको छुट्टा छुट्टै मत र धारणा भएता पनि नेपालका समग्र आर्थिक तथा सामाजिक विकासमा सिङ्गो राष्ट्र र धारणालाई सरकारले प्रतिनिधित्व गरेको बताए ।

‘नेपालको विकसित राजनीतिक घटनाक्रमले आर्थिक सुधारमा समस्या आउँदैन । ढुक्क हुनुहोस् । राजनीतिक विषयमा दलहरुको छुट्टा छुट्टै धारणा भएता पनि नेपालका समग्र विकासमा सिङ्गो राष्ट्र र धारणालाई सरकारले प्रतिनिधित्व गरेको छ,’ उनले भने ।