२५ वर्षअघि मनमोहनको पालामा जे गरेका थियौं, अहिले पनि त्यहिँ गर्छौंः विष्णु रिमाल


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने र संसदको सामना गर्ने स्पष्ट पारेका छन् । उनले २०५२ सालमा मनमोहन अधिकारी हिँँडेको बाटो नै प्रधानमन्त्री ओलीले राजेको स्पष्ट पारेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आधिकारिक धारणा सार्वजनिक गर्दै रिमालले प्रधानमन्त्रीले राजीनामा गर्ने कि संसदको सामना गर्ने भन्ने सन्दर्भमा २५ वर्षअघि मनमोहनले जुन बाटो हिडेका थिए, यसपटक प्रधानमन्त्री ओलीले पनि त्यही गर्ने स्पष्ट पारेका छन् ।

रिमालले भनेका छन, ‘प्रतिनिधिसभा विघटनको सिफारिस र सर्वोच्चबाट पुनःस्थापना, प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न । यी विषयमा प्रश्न गर्ने र जवाफ दिने हामीहरु २०५२ सालमा पनि थियौं र अहिले पनि छौं ।

२०५२ सालमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि तत्कालीन प्रमुख विपक्षी नेपाली कांग्रेसले तत्कालीन नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री मनमोहन अधिकारीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको थियो ।

अधिकारीले त्यसबेला राजीनामा नगरी त्रिवि शिक्षण अस्पतालको शय्याबाट अविश्वास प्रस्तावको जवाफ दिएका थिए । उनले बोल्न नसकेपछि तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले जवाफ दिएका थिए ।

यसपटक पनि मनमोहन अधिकारीकै बाटोमा ओली जान तयार रहेको रिमालले बताएका छन् । त्यसबेला ओली मनमोहन सरकारमा तेस्रो वरियतासहित गृहमन्त्री थिए ।

उनले भनेका छन्, ‘दुई प्रधानमन्त्रीहरु मनमोहन र केपी शर्मा ओली, राजीनामा गर्ने कि हाउसको सामना गर्ने ? त्यो बेला जे गरेका थियौं भनेका थियौं, त्यसै गर्दै अहिले चाहिँ नहुने किन रहेछ ? ।’

प्रतिक्रिया दिनुहोस
Advertisement