पम्फाका उम्मेदवार थापाले अखिल क्रान्तिकारीको अध्यक्षबाट उम्मेदवारी फिर्ता लिए

पम्फाका उम्मेदवार थापाले अखिल क्रान्तिकारीको अध्यक्षबाट उम्मेदवारी फिर्ता लिए


काठमाण्डु – नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षका लागि उम्मेदवारी दिएका विश्वमणि थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

माओवादी उपाध्यक्ष पम्झा भुसालको उम्मेदवारका रूपमा अध्यक्षमा उम्मेदवारी दिएका थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएको क्रान्तिकारीका फ्याक्सन ईञ्चार्ज हिमाल शर्माले जानकारी दिए ।

निर्वाचन समितिले शुक्रवार बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएको थियो । अध्यक्षमा उम्मेदवारी दिएका ६ जनामध्ये थापाले उम्मेदवारी फिर्ता लिएपछि अब प्रतिष्पर्धामा ५ उम्मेदवार बाँकी छन् ।

सर्लाहीका थापालाई माओवादीमा भुसाल निकट विद्यार्थी नेता भनेर चिनिथ्यो । उनी निर्वतमान कार्यसमितिमा उपमहासचिव थिए ।

निर्वाचन समितिका अनुसा अध्यक्षका लागि अब विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदीन पौडेल, उपदेश यादव र योगेन्द्र बुढाको उम्मेदवारी कायम रहने भएको छ ।

५ जना उम्मेदवारलाई माओवादीका ५ पदाधिकारीले बोकेका छन् । उपाध्यक्षहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेतले उनीहरूलाई बोकेका हुन् ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठले रौतहटका उपदेश यादवलाई, उपमहासचिव जनार्दन शर्माले भोजपुरका हेमन्त राईलाई, उपमहासचिव वर्षमान पुनले तनहुँका सुदिन पौडेललाई, उपमहासचिव शक्ति बस्नेतले पर्वतका विजय सापकोटालाई उम्मेदवार बनाएका छन् ।

उपाध्यक्ष कृष्णबहादुर महराले डोल्पाका योगेन्द्र बुढालाई उम्मेदवार बनाएका छन् । बुढाको महरासँग पारिवारिक सम्बन्ध पनि छ ।