भाजपाको निमन्त्रणामा माओवादी केन्द्रका नेता दिल्ली भ्रमणमा जांदै


काठमाण्डु-  माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा माओवादी केन्द्रका नेताहरु भारत भ्रमणमा जाने भएका छन् । भारतको सत्तारुढ दल भाजपाको निमन्त्रणामा भुसाल नेतृत्वको टोली साताव्यापी भारत भ्रमणको लागि (साउन ७ -१२) मा नयां दिल्ली जान लागेको हो ।

‘भाजपालाई चिन्नुस’ भन्ने कार्यक्रममा सहभागी हुन भुसालसहित नेतृ सत्या पहाडी,नेताहरु चक्रपाणि खनाल,रामेश्वर यादव र सुरेश राई भारत जान लागेको माओवादी केन्द्रले जनाएको छ ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले पार्टीको ४२ औं स्थापना दिवसको अवसर पारेर विश्वभरबाट विभिन्न राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरेका छन् । नेपालबाट भने सत्तारुढ माओवादी केन्द्रका नेताहरुलाई मात्र आमन्त्रण गरिएको हो ।

माओवादी केन्द्र र भाजपाको सम्बन्ध पछिल्लो समय सुमधुर बन्दै गएको जानकारहरु बताउंछन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल २०७९ मा भाजपा अध्यक्ष नड्डाकै निमन्त्रणामा भारत भ्रमणमा गएका थिए । उनलाई भाजपाको मुख्यालयलमा भव्य स्वागत गरिएको थियो ।

प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष दाहाल गत महिना मात्र भारत भ्रमणको क्रममा नयां दिल्ली पुगेका थिए । उनले इन्दोरको महाकालेश्वर मेन्दिरमा गेरुबस्त्र लगाएको विषयले नेपालमा ठुलो चर्चा पाएको थियो ।

त्यसलगत्तै दाहाल मन्त्रीहरुसहित पशुपतिको दर्शनमा पुगेका थिए । भाजपाले हिन्दू धर्मको मुद्दालाई राजनीतिक एजेण्डा बनाउंदै आएको छ । उसका कतिपय नेताहरुले नेपाल हिन्दु राज्य हुनुपर्ने अभिव्यक्ति समेत दिंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement