भाजपा उपाध्यक्षले भने : केपी ओली प्रधानमन्त्री बन्नु सुखद


काठमाडौं – भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का उपाध्यक्ष भगतसिंह कोशियारीले केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बन्नु सुखद भएको बताएका छन् । नेपाली जनताले स्थानीय तहदेखि प्रतिनिधिसभासम्मको निर्वाचनमा परिपक्व निर्णय गरेको कोशियारीको टिप्पणी छ । नेपाल–भारत प्रबुद्ध समूहको सातौं बैठकपछि आइतवार काठमाडौंर्को याडिसन होटलमा आयोजित पत्रकार सम्मेलनमा कोशियारीले भने, ‘प्रजातन्त्र नेपाली जनताको मनमा देखियो, स्थानीय तहदेखि प्रतिनिधिसभासम्म उनीहरुले जुन परिपक्वता देखाए, त्यो अभिनन्दन योग्य छ ।’

निर्वाचनमा देखिएको सहभागिता र परिणामले प्रजातन्त्र नेपाली जनताको मनमा स्थापित भएको पुष्टि गरेको पनि कोशियारीले बताए । प्रवुद्ध समूहका सदस्य कोशियारीले नेपाल र भारतबीच नयां ढंगबाट सम्बन्ध परिभाषित गर्न प्रवुद्ध समूह गठन हुंदा नेपालमा केपी शर्मा ओली नै प्रधानमन्त्री रहेको स्मरण गर्दै अहिले पुनः ओली नै प्रधानमन्त्रीका रुपमा आउंदा खुसी लागेको बताए । कोशियारीले भने( प्रवुद्ध समूह गठन गर्ने ओलीजी नै पुनः प्रधानमन्त्री बन्नु सुखद कुरा हो । नेपाली जनताले निर्वाचनबाट आफ्नो परिपक्वता प्रदर्शन गरेकाले उनीहरुलाई विशेष बधाइ छ ।

कोशियारीले प्रबुद्ध समूहले दिने प्रतिवेदन नेपाल र भारत दुवै देशका सबै सरोकारावालाहरुका लागि सर्वस्वीकार्य बनाइने समेत प्रष्ट पारे । भारतको भूमिकाबारे शंका भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट मानिने नेता कोशियारीले आफूहरुले दिने प्रतिवेदन सबैलाई ग्राहृय हुने बताए । प्रबुद्ध समूहको बैठकमा सन् १९५० को सन्धी खारेज वा पुनरावलोकन गर्ने विषयमा पनि छलफल भइरहेको छ । त्यस्तै व्यापार, पानी, सीमा लगायतका दुई देशबीचका साझा सरोकारका विषयमा समान धारणा बनाउने क्रम अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

सो अवसरमा नेपाली पक्षबाट प्रवुद्ध समूहका सदस्य डा.भेषवहादुर थापाले सबै विषयमा छलफल सकारात्मक रहेको बताए । उनले भने(ब्यापार, पानी, सीमाना,१९५० को सन्धीलगायत सबै विषयमा कुरा भएको छ । सकारात्मक बाहेक अरु कुरा केही भन्न सकिन्न । प्रबुद्ध समूहको आठौं बैठकले पूर्ण प्रतिवेदन तयार पार्ने सम्भावना छ । समूहलाई अब ५ महिनाको अवधि छ । यो अवधि ‘नन एक्स्टेन्डेबल’ अर्थात बढाउन नमिल्ने हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement