हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो

हिउँपहिराले थुनिएको बोक्सी खोला बग्न थाल्यो


म्याग्दी – धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट खसेको हिमपहिराले थुनिएको मुस्ताङको बोक्सी खोला बग्न थालेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कमा हिमपहिरोले थुनिएको बाक्सीखोला ३ घण्टापछि बग्न थालेको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले जानकारी दिए ।

‘आज दिउँसो करीब १ः३० बजेतिर खसेको पहिरो थुप्रिएर बोक्सी खोला थुनिँदा दुईतिहाइ पानीको मात्रा घटेको थियो,’ उनले भने, ‘दिउँसो ४ः३० बजेपछि खोलामा पानीको मात्रा बढेको छ । हाल तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेका छौं ।’

खोचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर बग्न थालेको अध्यक्ष गौचनले बताए । बोक्सी खोला हिमपहिरो खसेको ठाउँभन्दा करीब १५ किलोमिटर तल आएर कालीगण्डकी नदीमा मिसिन्छ । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सी खोलामा पर्दछ ।

गाउँपालिका अध्यक्ष गौचन मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनकराज पन्त, प्रहरी नायब उपरीक्षक (डीएसपी) भोजराज पाण्डे, सशस्त्र प्रहरी, नेपाली सेनाका अधिकारी, जनप्रतिनिधि र स्थानीयसहित सुरक्षाकर्मीको टोलीले पहिरो खसेको ठाउँको निरीक्षण समेत गरेका थिए ।

सीडीओ पन्तले तलाउ नदेखिएकाले जोखिम कम हुने अनुमान गरे पनि हिउँ पूरै नपग्लिँदासम्म तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको बताए । यसअघि विक्रम संवत् २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले १५० भन्दा बढी चौरीगाई मरेका थिए ।

पछिल्लो पहिराबाट मानवीय र पशुधनको क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।