विप्लवका कार्यकर्ता बमसहित पक्राउ


सङ्खुवासभा – सङ्खुवासभाको सभापोखरीबाट रेडबुलको बट्टा र प्रेसर कुकरमा बनाइएको बमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गरेर बमसहित पक्राउ परेका मादी नगरपालिका–५ मूलखर्कका सोमबहादुर तामाङलाई सार्वजनिक गरेको हो ।

सोमबहादुरको साथबाट प्रहरीले एक क्वायल कालोतार, प्लाष्टिकले मोडिएको बम, ३३ नम्बरको डेटोनेटर नौ थान, सकेट बम एक थान, रातो सेफ्टीफ्यूज दुई इन्च र अन्य बन्दोबस्तीका सामग्री फेला पारेको हो ।

सोमबहादुरको साथबाट फेला परेका सबै प्रकारका बम सेनाको खाँदबारीमा रहेको बराहदल गुल्मका सहसेनानी टङ्क कुँवरको टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ । प्रहरीले सोमबहादुरलाई सभापोखरी गाउँपालिका–३ सुनाम्लाबाट विशेष सुराकीका आधारमा मङ्गलबार पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement