सीमाबारे नेपाली सेनाको चासो,जंगीअड्डामा छलफल


काठमाडौं –  भारतको नयाँ राजनीतिक नक्साबारे जंगीअड्डामा गहन छलफल भएको छ। नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली सेनाले चासो देखाएको हो।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूमि रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य सुरक्षा निकाय प्रमुखसँग छलफल चलाएको हो। लिम्पियाधुरा, कालापानी र लिपुलेकमा पाँच दशकदेखि भारतीय सुरक्षाकर्मीको उपस्थिति रहेकामा कसरी फिर्ता पठाउने भन्नेबारे जंगीअड्डामा बहस भएको सैन्य स्रोतले बताएको छ।

प्रधानसेनापति थापाले सुरक्षा निकायका प्रमुखसँग पछिल्लो सुरक्षा अवस्था र सहकार्यबारे छलफल राखेको भए पनि भारतीय सीमा अतिक्रमणबारे बहस भएको एक सुरक्षा अधिकारीले बताए। ‘प्रधानसेनापति थापाले उपनिर्वाचन र सार्क मुलुक सम्मिलित खेलकुद (साग)को सुरक्षालगायतमा छलफल गर्न जंगीअड्डामा बोलाएका थिए’, ती सुरक्षा अधिकारीले भने, ‘तर, छलफल समग्र सुरक्षा विषयमा भयो। अमेरिकाले निकालेको प्रतिवेदनदेखि भारतीय सुरक्षाकर्मीले सीमामा गरेको अतिक्रमणसम्मको छलफल भयो।’ याे खबर अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement