लेदोसहितको पहिरो खस्दा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध, अन्य ५ जिल्लाका दर्जन सडकखण्ड बन्द

लेदोसहितको पहिरो खस्दा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध, अन्य ५ जिल्लाका दर्जन सडकखण्ड बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सडकमा लेदोसहितको पहिरो खस्दा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। सोमबार बिहान करिब ४ बजे रोशी गाउँपालिका–९ को पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेको हो ।

पूर्ण रूपमा अवरुद्ध भएको र सडक डिभिजन कार्यालय भक्तपुरसँग समन्वय गरी पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै आज सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ ।

खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली चल्ने बिपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारी साधन आवागमन रोक लगाइएको छ । बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी साधन सञ्चालन हुने व्यवस्था गरिएको छ ।

मकवानपुरको कान्ति लोकपथमा वर्षाका कारण राति सबै प्रकारका सवारी साधनको चलाउन रोक लगाइएको छ ।

यस्तै इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेकाले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । स्थानमा वैकल्पिक सडक प्रयोग गर्न सकिने छ ।

सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा सडक पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने आज बिहान ५ बजे चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी कच्ची सडक त्रिशूली नदीले कटान गरेपछि यो सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभन्ज्याङ आसपास मध्यपहाडी लोकमार्गपनि पूर्ण रुपमा अवरुद्ध बनेको छ ।प्रहरीले यात्रा गर्दा सुरक्षा सावधानी अपनाउन र बाटोको जानकारी लिएर मात्र यात्रामा निस्किन सुझाव समेत दिएको छ ।