विचार साहित्य

राजा महेन्द्रले कांग्रेस नेता विपीसंगको सम्वाद किन रेकर्ड गर्थे ? यस्तो छ कारण

मलाई बीच–बीचकाबाट खबर आउँथ्यो, राजा जहिले पनि उट्पट्याङ–उट्पट्याङ कुराहरु भन्थे । पहिले त मलाई प्रधानमन्त्री घोषणा गर्नलाई नै राजाले एक–डेढ महिना ढिलो गरे । त्यो मैले भनिसकेको छु । त्यसपछि पहिलो दिन राजाबाट सपथ–ग्रहण गराइसकेपछि जहिले पनि टेलिफोन गरेर आउन सक्नुहुन्छ भनेका थिए उनले ।

Dish Home

हप्तामा २ पटक जानैपथ्र्यो र मलाई बोलाउँथे । सपथ–ग्रहणपछि पहिलोपटक मैले राजालाई भेट्न जाँदा पर्खनुपर्यो । राजाको सवारी भएको छैन भने, मैले पर्खनुपर्यो, तिनले के गरेका रहेछन् हाम्रो बीचको सबै वार्तालाप टेप रेकर्डिङ्ग गर्ने इन्तजाम गर्दै थिए । मैले राजासँग के कुरो गरें, त्यसको टेप रेकर्डिङ्ग गर्नुहुने थिएन । त्यसबेला रेकर्डिङ्ग गर्नु त्यति सजिलो हुँदैनथ्यो ।

त्यसको लागि निकै लामकाफ गर्नुपथ्र्यो । मेरो सपथ–ग्रहण शामियानाजस्तोमा भएको थियो । पहिलो औपचारिक मिटिङ्ग भएकोले राजाले ठूलै पैमानामा गरेका थिए । त्यसताका मेरो गार्ड पुलिसको अफिसर थियो । त्यसले कारमा बसेर सब तमाशा हेरिरहेको थियो, कसरी त्यहाँ तार लगे, यताउति गरे, धडाधड सेनाका गतिविधिहरु भए र तार जोड्न थाले । त्यसले आएर मलाई भनेको छ, तपाईका सबै कुराहरु टेप भएका छन् ।

 अनि राजाको टेबुलमा एउटा सानो घडी भएको टेप–रेकर्डर थियो । म जहिले भेट्न जाँदा पनि त्यसलाई हल्लाई राख्थे, स्वीच अफ र अन गर्थे । त्यो मलाई लाग्थ्यो टेप गर्ने कुरा थियो । मलाई लाग्छ, मेरो उनीसँग भएका सारा कुराहरु रेकर्ड भएका छन् र ती दरबारमा होलाजस्तो लाग्छ । कहिलेकाहीँ बिजुली नभएको बेलामा नभएको होला तर धेरैजस्तो टेप भएको छ जस्तो मलाई लाग्छ । खास गरेर अफिसमा भेट्दाखेरि त भयो नै होला । अब जस्तो पार्टीमा भेट्दा, छतमा या मैंले पोखरामा भेट्दा त होइन तर औपचारि तवरले भेट्दा सबै कुरा रेकर्ड भएको छ जस्तो लाग्छ । तुलना गर्दा होलान् जस्तो लाग्छ । कताकता पटरी नमिले जस्तो लाग्ने ।

मेरो सम्पूर्ण प्रयास थियो म राजालाई साथ राखूँ भन्ने । तर म जनताको प्रतिनिधि थिएँ, म पहिलो जस्तो प्रधानमन्त्री थिइनँ । त्यो कुरो जहिले पनि मलाई लागिरहन्थ्यो । मलाई लाग्थ्यो, मेरो आधार त जनता हो, दरबार होइन । तर दरवारलाई आफ्नो साथमा राख्नुपर्छ भन्ने पनि थियो । आफ्नो आधार जनतालाई छोडेर त्यसो गर्नं सकिदैनथ्यो । किनभने मेरो क्षेत्र त जनतामा छ भन्ने कुराका प्रति म हमेशानै सचेत थिएँ । तर मेरो प्रयासमा कता–कता कुरा मिलिरहेको छैन भन्ने कुराप्रति पनि सजग थिएँ । र, मैले राजालाई कुनै किसिमको मौका दिएको थिइनँ, कुनै किसिमको काम गर्न मेरो खिलाफमा । त्यसरी मैले, जति कुरा हुन्थ्यो, म छलफल गर्थे, विधेयकहरुमा छलफल गर्थे । यी सबै कुरा गर्थे । उनले पनि कहिले हस्तक्षेप गरेनन्, त्यो मैले भनिसकेको छु ।

“यो त तपाईको काम हो, जुन कुरा गर्दा तँपाई बलियो हुनुहुन्छ, तपाई गर्नुहोस्” भनेर भन्थे । तर मानिसले देख्दा जहिले पनि मेरो खिलाफ, र सरकारको खिलाफ देखिन्थ्यो । त्यो चलिरहेको थियो । त्सपछि मलाई दुईवटा कुरा सम्झना हुन्छ । राजा त्यसबखत मसँग अलि रिसाएको पनि थिए जस्तो लाग्छ । बम्बईमा विद्यार्थीहरुको सम्मेलन उद्घाटन गर्न म गएको थिएँ, मलाई विद्यार्थीहरुको एउटा सभामा “तपाईसँग केही प्रश्नहरु गर्छौँ” भनेर मसँग समय मागे । बिहानको करिब १० बजे तिरको कुरा थियो । मोहसिनले मलाई परिचय गराएको थियो । अब त्यसमा मलाई अप्ठ्यारा प्रश्नहरु गर्न थाले । त्यसमा कमलहरु थिए । ऊ त अलि सम्मान गर्न पनि जान्दैनथ्यो, मुहफट किसिमको । मैले भनेँ, “तिमिहरुलाई लाग्दो हो, मेरो हातबाट शक्ति गयो भने तिमिहरुको हातमा आउँछ । यो र यस किसिमको गलत भ्रममा नबस । शक्ति हत्याउनको लागि कोही ढुकिरहेको छ र त्यो सामन्ती हो –राजा ।”

मैले प्रेसको लागि होइन भनेको थिएँ । तर राजाको कानमा त त्यो पुगिहाल्यो । मैले स्पष्ट भाषा प्रयोग गरेको थिएँ । मैले भनेको थिएँ, “अहिले के अवस्था छ देशको ? तिमीहरु तरुण छौ, कम्युनिष्ट छौ भनेर भनेको छु । अहिले हामीले कत्रो भूमिसुधार गरिरहेका छौं, कत्रो अभियान भइरहेको छ । त्यसले गर्दा सरकारको खिलाफ ।”

त्यो मैले भनेको थिएँ— राजाकहाँ पुगेछ । अर्को, म अमेरिकाबाट आउँदा लण्डनमा एक दुई दिन बसेको थिएँ, त्यहाँको ठूलो होटल क्लेरिजेज भन्नेमा । त्यहाँ विद्यार्थीहरु भेट्न आएका थिए । त्यसमा एउटा हेमांगमणि पनि थिए, डाक्टर । तिनी र अरु पनि १०–१५ जना आएका थिए । मेरो कोठा र हल सब भरिएको थियो । त्यसमा पनि मैले कुरा गर्दा के भने “मलाई समस्या रेडिकलहरुबाट छैन । मलाई समस्या राजासँग छ ।” र, मलाई समस्यानै खडा गराएका थिए राजाले । त्यसो हुनाले विद्यार्थीहरुको बीचमा रेडिकलहरुको प्रभाव मेरो समस्या थिएन । त्यो कुरा पनि राजाकहाँ पुगेछ । राजाले मलाई भने, “तपाईले मलाई पो समस्या भन्नुभयो ।” त्यो मलाई याद छ, एउटा बम्बईमा र अर्को लण्डनमा विद्यार्थीहरुलाई सम्बोधन गर्दा भनेको थिएँ ।

मैले भनेको थिएँ, “त्यो एउटा तत्व हो जो कहिले विद्यार्थीहरुको नाउँमा, कहिले किसानको नाउँमा र कहिले कसैको नाउँमा समस्या खडा गर्दैछ र त्यो प्रतिक्रियावादी तत्वलाई पनि बलियो पार्छ । मैले ती दुवै ठाउँमा त्यही कुरा भनेको थिएँ । दक्षिणपन्थी प्रतिक्रियावादको अगुवा राजा हो । र, मलाई कमजोर पार्ने कोसिसको अर्थ के हो भने त्यो दक्षिणपन्थी प्रतिक्रियावादको मुख्य राजालाई बलियो पार्नु । त्यसो हुनाले अहिलेको जो व्यवस्था छ, त्यसमा मेरो हात बलियो हुँदा लोकप्रिय शक्ति बलियो हुन्छ ।”

जुन तर्कहरु थिए, त्यो मैले भनेको थिएँ । तर, मैले भन्ठानेको थिएँ, यो कतै बाहिर जाने पनि होइन, प्रेसमा पनि जाने होइन । प्रेसको लागि होइन भनेर भनेको थिएँ । त्यो राजाकहाँ पुगेछ, राजाले “मलाई च्यालेन्ज गर्नुभएछ” भने । अनि बीचैमा मलाई के खबर आइराख्दथ्यो भने राजाले अब केही न केही गर्छन् ।

अर्को मलाई के लाग्दछ भने, इजराइलको भ्रमणमा जाँदा मलाई उनीहरुले केही उजी (इजरायली सब–मेसिनगन) उपहारमा दिएका थिए । मैले भने, यसलाई पठाइदिनू । त्यो भनेर म यता आएँ । अब म यहाँ आइपुगेको छैन, भारतमा अखबारमा निस्क्यो । भारतीय प्रेसले, मेरो आफ्नो एउटा धारणा छ, राजालाई के भनेर तर्साएको थियो भने मैले हतियार जम्मा गर्दैछु । यसमा भारतलाई पनि चित बुझ्ने कुरा थिएन किनभने, हतियारहरु त भारतले मात्रै नेपाललाई दिनेगथ्र्यो । यो अलिकति हतियार लिएको थिएँ ।

मैले भन्ठानें, शायद अरु श्रोत पनि हुन्छ क्यारे । हामीहरुले हतियार किन्ने कुरा पनि भइरहेको थियो । म केही गर्छु भनेर पनि राजालाई तर्साए यहाँका राजदूतहरु र अरुहरुले । शौभाग्य वा दूर्भाग्यवश, राजा तर्से । मैले स्पष्टीकरण दिँदा पनि मानेनन् । जहिले पनि दरबारको मानिस आएर मलाई भन्ने, “हथियारहरु आइपुगे ?” यही मोहनविक्रम, राजाको सैनिक सचिव थियो कि के थियो, आएर सोध्ने, अनि जुन दिन आइपुग्यो सबै लिएर गयो । एउटा मेरो रहन थियो, मेरो निम्ति भनिदिएको थियो अलग्ग बाकसमा । मेरो नाउँ नै लेखिएको जो हथियार थियो त्यो रहन दियो, सबै लिएर गयो ।

जहिले पनि खबर आउने के भने राजाले केही गर्छन् । मेरो समक्ष प्रश्न  थियो, राजाले त्यस्तो गरेर उनलाई के फाइदा हुन्छ ? जसको म अचेल विश्लेषण गर्दछु, त्यस बखतमा पनि गर्थें । र, अर्को कुरा, उनले केही गरे भने हामीहरुले त्यसलाई रोक्ने कुनै उपाय थिएन । हामीले त्यस परिस्थितिको सामना गर्नैपथ्र्यो । रामनाराणले यो प्रश्न जहिले पनि उठाउने, एकपटक केबिनेटमा पनि उठायो । मैले के  भनें भने “राजाले त्यस्तो गर्छन् भनेर तर्सेर म बाहिर विदेशमा जाँऊ भने त उनलाई निहुँ भइहाल्छ नि । प्रधानमन्त्री नभएकोले यो सरकार मैले लिएँ भन्न सकिहाल्छ नि । चलेन संसदीय व्यवस्था भन्न सकिहाल्छ नि । र, त्यसलाई रोक्ने, प्रतिकार गर्ने पनि हामीहरुसँग कुनै उपाय छैन ।

त्यसो हुनाले, हामीले यसलाई बेहोर्नैपर्छ । त्यसको लागि तैयार हुनुपर्छ । तर राजाले त्यस्तो किन गर्छन्, त्यो मैले बुझेको छैन । उनीहरुले उचाल्दैमा राजाले त्यो गर्छन् भने त्यो राजाकै अवहतको कुरा हुन्छ ।”

त्यो कुरा त मैले थुनिएपछि पनि भनेको छु तुलसी गिरीलाई । उसलाई म सँग–सँगै राखेको थियो नि म थुनिँदा मेरा कुराहरु बुझ्न भनेर ।

सूर्य बाबु पनि भन्नुहुन्थ्यो, कू गर्छन्, फलाना गर्छन् इत्यादि । मैले भनें, “कहाँको खबर ल्याउनुहुन्छ ?” उहाँले एउटा आर्मीको जेनरलको कुरा भन्नुभयो, त्यसले भन्यो भनेर । मैले त्यसलाई बोलाएँ, सोधें । उसले “सूर्य बाबुलाई यता ६ महिनादेखि मैले भेटेको छैन” भन्यो । मैले ठानें, सूर्यबाबु त्यसै भन्नुहुन्छ ।

दुई दिन पहिले सुवर्णजीले भन्नुभयो, “म त कलकत्ता जान थालें । राजासँग पर्मिशन लिई दिनुपर्यो” भनेर भन्न आउनुभएको थियो । “कलकत्तामा इन्कम ट्याक्सको समस्या छ, म आउँछु २–३ दिनमा” भन्नुभयो । म गिरफ्तार हुनुभन्दा २–३ दिन पहिलेको कुरा हो । सुशीला पनि दुईदिन पहिले गएकी विराटनगर । २ पुसदेखि मेरो टूर छ । म साँच्चै भनौं भने त्यही तरुण दलको सम्मेलनमा उपस्थित हुन पर्खेको थिएँ । टूरको सारा कार्यक्रम तय भइसकेको थियो । पूर्वपट्टि जाने भनेर घोडा, टेन्ट इत्यादि सारा कुराको इन्तजाम भइसकेको थियो ।

सुवर्णजी, जब जान थाल्नुभयो, आउनुभयो मकहाँ “म त हिंडें” भनेर मैले भनें, “सुवर्णजी, यस्तो सुनिन्छ, हिँड्नुस्, म तपाइलाई पुर्याउँछु ।” म र गणेशमानजी त्यहाँ बस्यौं । र, सुवर्णजी मेरो गाडिमा बस्नुभयो । पुग्यौं एयरपोर्टमा । एक घण्टा अबेर थियो प्लेन जानमा । सुवर्णजीसँग मेरो बडो गम्भीर कुरा भयो । सुवर्णजीले भन्नुभयो, “गर्न त गर्छन कू ।”

सुवर्णजीसँग राजाले कुरा गरिसकेका रहेछन्, सुवर्णजीले मलाई बताउनु भएन । “कू त गर्छन् तर अहिले क्वीन एलिजावेथ आउनेवाली छन्,” त्यो उहाँले झूटा बोलेको हो कि होइन, “एउटा प्रजातान्त्रिक देशको राष्ट्राध्यक्ष आउने बखतमा, ठिक्क त्यसको मुखमा आएर, ‘कू’ गरेर डिक्टेरशीप ल्याउने छैन, त्यो गर्दैनन् । र, मार्च पछि त ‘कू’ गर्छन्, । त्यसो हुनाले, तबसम्म टाइम पनि छ, के उपाय अपनाउनु पर्ने हो, त्यो गरौंला फर्केर आएपछि २–४ दिनमा” भनेर उहाँ जानुभयो ।

मलाई लाग्दछ, सुवर्ण गएकै दिन राजाको मसँग बाझाबाझ भएको थियो । त्यही राति राजाले मलाई बोलाए । मलाई बोलाएर के भने भने, “तपाईले हामीहरुलाई किन मुछ्नु भो, मलाई किन मुछ्नु भो त्यो जोगीको काण्डमा ?”

मैले भनें, “सरकार, मैले होइन, जोगीले मुछेको छ । जोगीमाथि कारबाई हुँदैछ ।” “तपाईले त्यो कारबाई हुँदाहुँदै किन त्यो पब्लिक वक्तव्य भो ?” भनेर मलाई सोधे ।

मैले भनें, “भने मलाई प्रेसले सोधे, त्यस विषयमा । र, सरकारको सूचना थियो । सरकारको सूचना थियो कि जोगीले बदमाशी गराएको हो भनेर । उसलाई हामीले पक्ड्यौं । ऊ यो भनेर हिँड्थ्यो कि महाराजाधिराजबाट मलाई आदेश बक्सेको छ । कि यो धर्म नमान्ने प्रधानमन्त्री र त्यसको सरकारको विरुद्ध विद्रोह गरे हुन्छ र मलाई  महाराजाधिराजको यो लालमोहर  । भनीकन हिंड्थ्यो ।”

ऊ त्यही भनीकन हिंड्थ्यो । मैले राजालाई त्यही कुरो बताएँ र भने हामी यसको अनुसन्धान गर्दैछौं ।

“विनाप्रमाण तपाईले यस्तो वक्तव्य दिनुभयो हामीलाई दोष लगाउनु भयो” भन्ने उनको मुख्य गुनासो थियो । त्यो काण्ड हुँदा उनी इङ्गल्याण्ड गएका थिए राजकीय भ्रमणमा । यहाँ राजप्रतिनिधि परिषद् थियो । त्यस परिषद्का अध्यक्ष हिमालय थिए । हिमालयलाई राजाले टेलिफोन गरेर भनेका रहेछन् कि प्रधानमन्त्रीलाई सोध्नू कि किन हामीलाई मुछे । हिमालयले मलाई बोलाए । मैले त्यही बताइदिएँ । म पनि त्यस राजप्रतिनिधि परिषद्को एउटा सदस्य थिएँ । मैले भएको कुरा बताई दिएको थिएँ । राजाले “यो त हामीलाई मुछ्नेजस्तो भयो” भनेका थिए र त्यसैमा कुरा टाँगिएको थियो । राजाले त्यो एक्सन लिनुभन्दा एक वा दुई रातअघि यो कुरो उठाएका थिए र, मैले भनेको थिएँ “सरकार, प्रमाण नभईकन त मैले भनेको छैन ।”

उनले भने, “के प्रमाण ?” त्यो जोगीलाई समातेर ल्याउँदा त्यसको झोलामा धेरै कागतहरु पकडिएका थिए । गोर्खामा काण्ड गरिकन ऊ हिंडेको थियो । कस्तो चाँडो हिँड्दो रहेछ भने उसलाई जुम्लामा हो क्यारे समातेर लिएर आए । उसलाई समात्दा उसको झोलाबाट ती कागतहरु बरामत भएका थिए । ती कागतपत्रहरुको गृह मन्त्रालयले छानबिन गर्दै थियो । मैले भनेको थिएँ, “सरकारको मिलिटरी सेक्रेटरीले लेखेको चिठी नै देखाईकन, रुपियाँ पनि दिएको छ, लालमोहर भनेर देखाउँथ्यो ।”

“यही हो चिठी ?” भनेर उनले भनेपछि मैले चिठी उनलाई देखाएँ । त्यसमा ठूलो रकम थिएन । तर त्यसमा के भनेको थियो भने तिमीले राम्रो काम गरेको महाराजधिराजबाट बडो कदर गरिबक्सेको छ । र, पछि पनि कामको लागि रुपियाँको जरुरत परेदेखि खबर गर्नु, अनुदान बक्सिने छ भन्ने किसिमको त्यो चिठी थियो । मैले त्यही देखाएँ । देखाएपछि उनले भने, “उसलाई मैले कुनै दान दिन सक्तिनँ ?”

उसले कर्मवीर महामण्डल बनाएको थियो । मैले भने, “राजाले दान दिन पाउँदैन । र, खास गरेर संगठनको पृष्ठभूमि, संगठनको चरित्र विचार नगरीकन दान दिन पाइँदैन । हामीहरुजस्तो होइन । हामीहरुले त जसलाई दिन मन लाग्यो दिए हुन्छ । हामीहरुको कुरा अर्के हो । एउटा राजनीतिज्ञले पनि चाहेमा दिन पाउँदछ, तर त्यसको मोल उसले चुकाउनुपर्छ । तर त्यसो गर्दा त राजाको कुनै मर्यादा रहँदैन । त्यसो हुनाले, राजाले केही दान दिनुपर्छ भने अत्यन्त सोचविचार गरेर दिनुपर्छ । र, खास गरेर सरकारको खिलाफमा लागेको तत्वलाई त दान गर्नै हुँदैन ।”

मैले यसैगरी भनें । त्यसमा उनले भने, “त्यसोभए त विश्वेश्वर बाबु, तपाई र म मध्ये एक जना रहनुपर्यो । या त तपाई चलाउनुस् म छेउ लागिदिन्छु । या, तपाई छोडिदिनुस्, म चलाउँछु ।” मैले भने, “त्यो पनि मलाई मन्जुर छैन । किनभने, अहिले जुन विकासका समस्याहरु छन्, राष्ट्रनिर्माणका समस्याहरु, त्यसमा सम्पूर्ण राष्ट्रिय प्रयास हुनुपर्छ । त्यसो हुनाले मलाई भन्ने कि सरकारको मद्दत नभईकन चलाउने, मलाई त्यो स्वीकार्य छैन । त्यसैगरी, सरकारलाई पनि यो दम्भ हुनुहुँदैन कि म जनतालाई साथ नलिएर, जनप्रतिनिधिहरुलाई साथ नलिएर चलाउन सक्छु भन्ने । पहिलेको जमानाको जस्तो गरेर यहाँ विकास हुँदैन । त्यसो हुनाले सम्पूर्ण राष्ट्रिय विकासको लागि सम्पूर्ण राष्ट्रिय प्रयास चाहिन्छ । म जनताको प्रतिनिधित्व गरिरहेको छु, र सरकार राजा होइबक्सिन्छ । यी दुइटैको सहमतिबाट मात्र देश चल्न सक्तछ ।”

मैले त्यो भनेपछि उनले, “ल, यो कुरो मैले,” भनेर हात बढाए । अनि भने, “ल, यही प्वाइन्टमा आजको कुरा सिध्याऊँ । मैले भनेको कुरामा पनि चित्त नदुखाउनु होला ।”

त्यहाँ कुरा चाल्यो । मैले भनें, “म सरकारको प्रधानमन्त्री । जहिले पनि सरकारबाट बाहिर बोलिबक्सेको छ, त्यसमा सरकारमाथि प्रहार छ । नजानिँदो किसिमले प्रहार छ ।”

“मैले त्यो त सामान्य नसिहत पो त गरेको” भनेर उनले भने  मैले भनें, “सामान्य नसिहत त गर्न पाइँदैन त्यसरी सरकारलाई प्रहार गरेर ।”

मैले त्यहि भनेपछि उनले भने, “लौ त, त्यसो भए मैले कुनै गल्ती गरें भने यही तपाईले यी कोठामा आएर जुत्ता फुकालेर पिटे हुन्छ । तर मेरो इज्जत बाहिर राखिदिनुहोला ।”  अनि मैले भनें, “सरकार, प्रधानमन्त्रीले कुनै गल्ती गरेको छ भने सरकारले मलाई यहाँ आएर नसिहत दिए हुन्छ, खुलामञ्चमा आफ्नो सरकारलाई आलोचना गर्न त पाइँदैन ।”

“ल त्यसो भए अब कुरा मिल्यो । अब हामीहरु सहमतिका साथ काम गरौं” भनेर उनले भने । अनि बडामहारानीलाई बोलाए भने, “खोई, हामीहरुले ल्याएका प्रेजेन्टस् गिफ्टहरु थिए नि अनि सुशिलाजीलाई ल्याएको सब कुरा ल्याऊँ” भने । एउटा सानो ब्याग थियो, छालाको ब्याग । त्यसमा मलाई स्टिरियो टेप रेकर्डर थियो, घडि थियो, ब्रासलेट थियो, “यो प्रधानमन्त्रीको मोटरमा राखी देऊ ।”

यो  पुस १ गतेभन्दा दुई दिन अघिको घटना हो ।

  राजाको एउटा व्यवहार म सम्झन्छु । उनी जहिले बाहिर जाँदा पनि सोध्थे, “म के ल्याइदिऊँ तपाईलाई ? के मन छ ?” भनेर । म भन्थे, “सरकार, केही त्यस्तो छैन ।”

“तैपनि केही । मैले चिन्हो ल्याउनुपर्यो अथवा केही ल्याउनुपर्यो भने ? अरुहरु त केही कार ल्याउन भन्छन् । म तपाईलाई कार प्रेजेन्ट गरुँ ?”

 मैले भनें, “कार त म धान्नै सक्तिनँ । प्रधानमन्त्री छउन्जेल कार दिइहाल्छन्, प्रधानमन्त्री नरहेपछि कार त म धान्नै सक्तिनँ । अनि कार मैले बेच्नुपर्छ । सरकारले टंकप्रसादलाई कार बक्स्यो । उनले केही दिन त्यसलाई ट्याक्सीमा चलाए, त्यसपछि बेचिदिए । त्यसो हुनाले, मलाई कार त चाहिँदैन ।”

“होइन, तैपनि, केही चिन्हो म के ल्याऊँ ?” भनेर उनले सोधे ।

मैले भनें, “त्यस्तै केही पेन्टिङ, केही दिए हुन्छ । अनि त्यस्तै म्युजिकका केही छन् भने मलाई चाख छ म्युजिकमा, पेन्टिङमा । या रेकर्डप्लेयर ।”

 त्यसबखत भर्खरै–भर्खर चलेको थियो स्टेरियोफोन । पूरा वातावरणमा यहीं सुनिएजस्तो हुन्छ नि, त्यो तिनले ल्याएका रहेछन् । नदिएर त्यतिका दिनसम्म उनले राखेका रहेछन् । अनि त्यो ल्याए, घडीहरु ल्याए । मेरा साथिहरुको निम्ति, सुशीलाको निम्ति राम्रा घडीहरु ल्याएका थिए । त्यही घडीहरु दिए । र, यो पनि भनेका थिए “अरुहरुले त गाडी माग्छन् के–के माग्छन् तपाई पनि राख्नुस् ।”

मैले त्यसको जवाफ दिइसकेको थिएँ । त्यसको तेस्रो दिनको बिहान । सुवर्णजी कलकत्ता गइसक्नुभएको थियो, त्यसको भोलिपल्ट । सुशीला पनि विराटनगर गइसकेकी थिई । त्यसपछि, भयानक हल्ला चल्यो । पूरा वातावरण कुन हल्लाले बाक्लिएको थियो भने राजाले एक्सन लिन्छन्, एक्सन लिन्छन् । तर सुवर्णले मलाई आश्वस्त पार्नुभएको थियो कि अहिले लिँदैनन् । मलाई पनि तर्कसंगत कुरा त्यही लागेको थियो । रामनारायण घड्बडाउँदै आयो, “ऐसा सुना है, क्या बात है ?”

मैले भने रामनारायणलाई– “यो चरणबाट त पार गर्नैपर्छ हामीले । किनभने विकल्प त हामीहरु छौँ, छौँ । त्यसो हुनाले विकल्प हामीले रहनुपर्छ । हामीहरु भागेर गयौँ भने बहाना भइहाल्त राजालाई कि प्रजातान्त्रिक प्रयोग गर्न खोजेको थिए चल्न सकेन । यहाँसम्म कि सरकारको प्रधान नै भागेर गयो, त्यसो हुनाले मैले सरकार चलाएँ भन्न सक्छन् ।”

त्यही दिन एकाबिहानै जुन दिन राजाले एक्सन लिए, मलाई टेलिफोन आयो विरोधी दलको नेता भरतशम्शेरको । ५÷६ बजेको कुरा हो । शैलजा पनि बसेकी थिई । टेलिफोन आयो, “म अहिले आऊँ ? मलाई भेट्न मन छ ।” भनेर भरत शम्शेरले भन्यो ।

मैले भने, “आऊ दस एघार बजेतिर आऊ न ।”  होइन, म अहिलेनै आउन सक्छु ?” भनेर भन्यो । मैले भने, “हुन्छ, आउने भए आऊ ।”

त्यसपछि ऊ आयो । म बेडमा नै थिएँ, चिया खाइरहेको थिएँ । त्यहाँ बेडनेरै काउच थियो । त्यहाँ बस्यौँ अनि कुरा भयो । उसले के भन्यो भने, “आज बडो अनौठो कुरा भयो ।”

उसलाई संकेत भइसकेको रहेछ, मलाई मात्र थिएन । म बौद्धिक मूल्याङ्कन गर्थें त्यस कुरामा । मैले भने “राजालाई के खाँचो परेको छ त्यस्तो कुनै कुरा गर्ने ? राजाको हितमा छैन त्यो कुरा ।”

मैले त्यही कुरा भने जो आज पनि म भन्ने गर्छु राजाको हितको सम्बन्धमा । तर उसले भनेन उसलाई संकेत छ भनेर । खाली भन्यो के भने “बडो अनौठो कुरा आयो । यतिका दिनसम्म मैले राजाको दर्शन पाउँ भनेर नपाएको । तपाईंले  पनि विरोधी पक्षको नेतालाई दर्शन भेट बक्सनुपर्छ भनेकोमा नदिएको । हिजो अचानक राति टेलिफोन आउँछ कि आज ३ बजे दरबारमा महाराजधिराजको दर्शनको निम्ति आउनुहोला । मैले आज ११ बजे कलकत्ता जाने प्रोग्राम बनाएर टिकट किनेको छु ।”

मैले भने, “किन जान्छौ त ? भोलि गए भइहाल्छ नि ।’

“राजाले त सोध्लान् । राजा त सायद आलोचक नै होलान् सरकारको ।” भनेर उसले भन्यो ।

तिमी पनि त आलोचना गर्न सक्छौ सरकारको । त्यसो हुनाले, जे तिमीलाई ठीक लाग्छ, त्यो गर्नू । तर तिम्रो सल्लाह माग्यो भने भन्ने पर्छ कि यो प्रजातान्त्रिक संस्था जो संसदीय व्यवस्था छ, त्यसलाई ध्वस्त गर्नु हुँदैन । त्यो त तिम्रो हितको पनि कुरा हो” भनेर मैले भने ।

“त्यो त भनुँला । अरू केही  भन्नु छ कि भनेर आएको ।”

त्यति भनेर त्यो गइहाल्यो र भन्यो ,“त्यसो भए म बसूँ त ?”

मैले भनेँ, “ बस ।”

ऊ शायद उम्कन चाहन्थ्यो । ऊ मबाट आश्वस्त भयो । उसले सुनेका कुराहरु होइन रहेछ क्यारे भनेर उसलाई लाग्यो होला । उ बस्यो । तीन बजे ऊ नायराणहिटी ढोकामा समातियो । निर्धारित समयअनुसार ऊ त्यहाँ गयो नि ढोकामा तीन बजे । त्यहीं ऊ समातियो ।

अब यही कुराको म पृष्ठभूमि पनि भनिहाल्छु । सुवर्णजीसँग राजाले छलफल गरिसकेका रहेछन् । राजासँग सुवर्णजी जाँदा स्कटल्याण्डमा, पेरिसमा राजाले कुरा गरेका रहेछन्, “तिमीले मलाई मदत गर्छौ कि गर्दैनौं , मैले सरकार लिएँ भने ?”

सुर्वणीले भन्नुभएछ, “सरकार, गलत कुरो हुन्छ । केही मतभेदहरु छन् भने प्रधानमन्त्रीसँग सरकारले त्यो गराउनुपर्छ । ‘कू’ गरेर त देशको निम्ति पनि राम्रो हुँदैन, सरकारको निम्ति पनि राम्रो हँुदैन । म त सल्लाह दिन सक्तिनँ ।”

“मलाई साथ दिन्छौं कि दिदैनौं,” भनेर राजाले सोध्दा उहाँले त्यो कुरा भन्नुभयो, “त्यो त राम्रो हुदैन ।”

त्यो भन्दा सुवर्णजीसँग राजा झोक्किएछन् ।

राजाले आफ्नो सर्किलमा के भनेका रहेछन् भने, “त्यो त पूरा विश्वेश्वरको प्रभावमा परेको मान्छे । तर म यिनलाई उनको रानीमार्फत प्रभाव पार्छु ।”

त्यो कुरा मलाई सुवर्णजीले भन्नुभएन । उहाँले भन्नुभयो ,“गर्न त गर्छ, तर अहिले गर्दैन ।” दरवारी भाषामा ।

अनि ऋषिकेशको एउटा टेलिग्राम आयो मलाई ,“राजाले मलाई पेरिसमा बोलाएका छन्, म जाऊँ कि नजाऊँ । ”

मलाई जाँदैछु भनी सूचना दिएका थिए । त्यो पनि मलाई अनौठो लाग्यो कि मलाई त्यो सूचना किन दिनुप¥यो । उनी राजदूत थिए र राजाले बोलाएपछि त नजाने भन्ने कुरा पनि थिएन । अरुहरुलाई आश्चर्य लाग्यो, तर मलाई लागेन, किनभने, मैले भन्ठानें, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलाई सूचना गरे । त्यसमा त मलाई आश्चर्य लागेन तर सूर्य बाबु भन्नुहुन्थ्यो ,“यो टेलिग्राम बडो अर्थपूर्ण छ ।”

अनि उनलाई पनि सोधेछन् राजाले ,“ तिमीले मलाई साथ दिन्छौं कि दिदैनौं ।” यो त मैले उनैको मुखबाट सुनेको हुँ । यिनले भनेछ्न, “होइन सरकार, त्यो राम्रो हुँदैन ।” जो सुवर्णजीले भन्नुभएको थियो, त्यस्तै कुरा यिनले पनि भनेछन् ।

“तर, होइन । मैले गर्न आँटेको छु । तिमी साथ दिन्छौ कि दिँदैनौं ?” भनेर राजाले उनलाई सोधेछन् ।

उनले भनेछन्, “सरकारले गर्ने भनेपछि त म सरकारको सेवक न हुँ, जुन काम बक्सिन्छ, गर्छु । तर यो राम्रो हुँदैन,” भनेछन् । त्यो कुरा उनले भने पछि । राजाले भनेछन्, “सुवर्णलाई भनेको, सुवर्णले यस्तो कुरा गरे । म सुवर्णजीको रानीमार्फत प्रभाव पार्छु । ”

उनलाई थाहा थियोकि राजा ‘कू’ मा जानथाले । अर्को कुरो मलाई के भने भने, ‘सुवर्णजीलाई कलकत्ता जान दिएकोमा तुलसी गिरीको हात छ । तुलसी गिरीलाई राजाले भनेछन्, “सुवर्णले त साथ दिने भएन ।”

“जबसम्म बी.पी.रहनहुन्छ, सरकारलाई साथ दिदैनन् । बी.पी.लाई छाड्न सक्तैनन् । त्यसो हुनाले एक्सन लिँदा बाहिर रहेपछि शायद साथ देलान्,” भनेर उहाँलाई बाहिर जान दिएको भन्ने मैले पछि थाहा पाएँ । यो ठीक हुनसक्छ, नहुन पनि सक्छ । तर यो युक्तिसंगत लाग्दछ– जस्तो, भन्छन् नि कि गणेशमानजीले कहिले पनि बी.पी.लाई छोड्न सक्तैनन् । त्यस्तै सुवर्णजीले पनि छोड्न सक्नुहुन्न भन्ने देखे । तर मलाई जेलमा थुनिसकेपछि हुनुहुनामी भइसकेपछि, त सुवर्णजीलाई कुनै उपाय हुने छैन । भनेर उहाँलाई जान दिएको भन्दछन् ।

जे होस्, त्यस दिन करिब १० बजेसम्म एकदम धुम्म कुइरो थियो । मिटिङमा मान्छेहरु पनि राम्रोसँग आइसकेका थिएनन्, डेलिगेटहरु आउँदाआउँदै ढिलो भएर करिब १२ बजेतिर त्यो मिटिङ शुरु भयो । मैले  खाएको थिइनँः त्यो मिटिङ सकिएपछि खान जाउँला भन्ने सोचेको थिएँ । मिटिङ बडो राम्रो थियो । चारैतिरबाट डेलिगेटहरु आएका थिए । मैले उद्घाटन गरें । मैले उद्घाटन गरेको भाषण पर्चा हेर्नुपर्छ, मेरो त्यस बेलाको चिन्तन र दृष्टिकोण बुझ्नका लागि । मलाई लाग्छ, त्यो धेरै राम्रो भएको थियो । मैले बोलेपछि कसले बोल्यो कुन्नि । तर श्रीभद्र शर्मा बोलिरहेका थिए जब सेनाले घेरिहाल्यो । हामीहरुले बनाएको– राजाको आग्रहमा –सी.जी.एस. थियो– पछि प्रधानसेनापति हुने दोस्रो व्यक्ति सुरेन्द्रबहादुर शाह र दरबारको समरराज कुँवर थिए, ओठ पनि कलेटी परिसकेको । उनीहरु मिलिटरी पोशाकमा आए । अनि मेरो बडीगार्ड थियो सेनाको केप्टेन, अहिले कर्नेल छ कि रियाटर भयो कुन्नी, त्यसको रिभोल्भर लियो । ऊ उभिएको थियो टाढा, त्योसँग मागेर लिएका थियो ।

तिनीहरुलाई त्यहाँ आएको देख्नेबित्तिकै सूर्य बाबुले भन्नुभयो ,“सकियो ।” अनि उहाँले भन्नुभयो ,“देख्नु भएन ? तपाईको गार्डको खोस्यो नि पिस्टल ।”

सूर्यप्रसाद त्यसको आर्किटेक्चर– संरचनाकार हुन सक्तछन् । यी सब कुराहरु मभन्दा बेसी तुलसी गिरीलाई थाहा हुन्छ । विश्वबन्धु त उसको सहायक जस्तो थियो –मतियारजस्तो थियो ।

त्यहाँ सेना धड्–धड् आइहाल्यो र मञ्चमा आयो । अधिवेशन दरवारको प्रांगणमा चलिरहेको थियो । दरवारको पिंढीसँगै टाँसिईकन हाम्रो मञ्च बनेको थियो । दरवार पछिल्तिर थियो । मञ्चमा आउनको लागि दरवारको पिंढीमा चढेर आउनुपर्ने । तिनीहरु पछिल्तिरबाट आए । सुरेन्द्रबहादुर शाह अलि पछिनै उभ्भियो ।

समरराज अगाडि आयो  । समरराज निर्देशन दिइरहेको थियो । अब के गर्ने अब के गर्ने भनेर ऊसग सोध्छ– सुरेन्द्रबहादुर शाहले आएर भन्यो, ‘महाराजाधिराजबाट हुकुम भएको छ, हिड्नुपर्योे ।’ मैले भने, ‘हुन्छ ।’

मैले सभातिर फर्केर भने, तपाईहरु सभा चालू राख्नुहोला । म जान थाले । महारजाधिराजले बोलाए ।’

म त्यति भनेर जान लागेको थिएँ । अनि समरराजले ‘उहाँलाई पनि….उहाँलाई पनि…. ’ भनेर मञ्चमा बसेका मानिसहरुलाई इशारा गर्यो । सबैलाई आएर भन्यो । औपचारिक रुपमा राजदरबार संलग्न भएन, किनभने मलाई हिड्नुस् भन्ने सी.जी.एस. थियो । तर सारा आडम्बरको २४ घण्टासम्म सम्पूर्ण देश देशाबरका शाही रक्षकहरुको नियन्त्रणमा पर्न गयो । किनभने, भोलिपल्ट मात्रै जहाँ मलाई थुनेर राखेको थियो, शाही अंगरक्षक सेना फिर्ता भएको छ ।

हामीलाई त्यहाँबाट त्यसरी लग्न खोज्नासाथ त एकदम अशान्ति  भइहाल्यो । मलाई एउटा फिक्री के भयो भने जुन किसिमबाट मलाई लिएर गए, जुन एउटा निष्ठुर आकृति त्यहाँ थियो, त्यसको गम्भीर दुष्परिणाम हुनसक्थ्यो । कारबाहीमा एउटा निष्ठुरता अभिव्यक्त भैरहेको थियो । त्यस्तोमा, त्यहाँ सूर्य बाबु उचालिरहनुभएको छ, हातको ईशाराले । म के देखिरहेको छु भने त्यहाँ त उनीहरुको संहार हुनसक्थ्यो मिलिटरीद्वारा । ब्रेनगन लिएर मिलीटरी ट्रकमा थियो, स्टेनगन र  राइफल लिएर मिटिङमा पुगिसकेको थियो । तिनीहरुले अलिकति पनि केही गरेको भए मलाई त मारी नै दिन्थे । भन्ने थिए कि भीडले मलाई समात्न थालेको हुनाले म मारिएँ– भाग्नलाग्दा  भीडले समातेको हुनाले उनी मारिए । त्यसो हुनाले मैले भने, तपाईहरु शान्त हुनुस्, र तपाईहरु मिटिङ चलाइराख्नुस् । मलाई किन हो, राजाले बोलाएको, मलाई थाहा छैन ।’

मैले त्यसो भने तर मिटिङ त्यसपछि चलेन । मलाई लाग्छ, हामीलाई समात्न भनी त्यहाँ करिब ३ सय जवानहरु आएका थिए ।  त्यहाँबाट सिंहदरबार जाँदा सडकको किनारामा पाइला पाइलामा शाही अंगरक्षक सेना बसेको थियो । सिंहदरबार भित्र हामीहरु गेटभित्र । एउटा चुत्रबहादुरलाई देखे । दानगम्भीर सिंह रायमाझी थियो कि थिएन, म भन्न सक्दिन । अरु–अरु अफिसहरुलाई पनि मैले देखें सिंहदरबार   पुगुन्जेलमा र सिंहदरबारको गेटमा र भित्र जहाँ मलाई राखे । लगेर बिलियार्ड रुम थियो, त्यहाँ राख्यौं हामी सबैलाई । आधा घण्टापछि सबैलाई त्यहाँबाट लग्यो, ममात्रै त्यहाँ बसें । त्यो बिलियर्ड रुम ठूलो छ । त्यसका ढोकाहरु, झ्यालहरु, सारा बन्द गरी दिएर एउटा ढोका खुल्ला राखी दिएको थियो । त्यहाँ दुईवटा चपटे बसेका थिए ।

त्यस दिन त्यो अव्यवस्थित थियो । त्योे षडयन्त्र राजाले आफ्नै छाति भित्रमा राखेका थिएर र कसैलाई थाहा हुन दिएका थिएनन् । थाहा भएपनि योजना पहिलेदेखिनै छलफल त गरे होलान्ः तर त्यो कार्य कुन दिन गर्ने भन्ने कसैलाई पनि भनेका थिएनन् भन्ने मलाई लाग्छ । समरराजलाई विश्वासमा लिएको भए अर्कै कुरा । मलाई लाग्दछ, उनले कसैलाई विश्वासमा लिएका छैनन् । यो सी.जी.एस. सुरेन्द्रबहादुर शाहलाई त लिएकै छैन । कमाण्डर इन चिपलई लिएका छन्,अरु कसैलाई लिएका छैनन् । त्यसो हुनाले, जब थुनेर राख्ने कहाँ भनेर पठाए  समरराजलाई त्यसबखत, त्यसलाई भनेको थियो होला, ‘अहिले बिलियर्ड  रुममा राख्नू, पछि व्यवस्था गरौंला ।’ कहाँ व्यवस्था गरेका थिए, त्यो पनि कसैलाई थाहा थिएन जस्तो लाग्छ । पूरा अव्यवस्थित थियो । केबल मलाई कडा पहरामा राख्नू भनेको मात्रै थियो र थुन्नु भनेको मात्रै छ  । र मेरा आफ्नो धारणा के छ भने त्यसदिन राजा घडबहाटमा छन्, दुई कारणले– जनताको प्रतिक्रिया के हुन्छ ? हामीहरुसँग हतियार छ कि छैन ?

त्यसताका अखबार निस्केको हामीले थाहा पायौं, राजा आफ्नो दरबारभित्र टहल्न निस्केछन् । हिँड्दाखेरी गार्डले ‘को हो’ भनेर रोकेछ । त्यस किसिमको अवस्था थियो । उनी अत्यन्तै घडबडाएका थिए । त्यसबेला मलाई के विश्वास भएर आयो भने ५० वटा उजी–इजरयाली सब मेसिनगन हाम्रो हातमा रहेको भए उनीले त्यसो गर्न सक्तैनथे, गर्न सक्दैनथे, गर्न सक्दैनथे । अहिले पनि म यो भन्छु । अहिले पनि ५० जना हथियारबन्द व्यक्तिहरुले यहाँ ‘कू’ गर्न खोज्यो भने कसैको दम छैन यहाँ  केही गर्ने । मेरो त्यो विश्वास छ ।

त्यहाँ त्यसदिन त सक्तैनथे, सक्तैनथे, सक्तैनथे । त्यहाँ त हाम्रो त्यस किसिमको तयारी पनि थिएन र गर्नु पनि हुँदैनथ्यो । किनभने संविधानको प्रक्रियामा प्रवेश गरिसकेपछि त्यस्तो गराईले यहाँ शान्ति हुँदैन भन्ने मेरो विश्वास थियो । राजाले त्यस्तो गरेर आजसम्म शान्ति ल्याएनन् नि अर्थात त्यो टिक्नै नसक्ने कुरा थियो । त्यो कुरा हामीलाई धेरै लागेको थियो । हामीहरुले करा गरेका थियौं के–के गर्ने भनेर  मैले पनि भनेको के थिएँ भने अब अरु कुरा होइन, हामीले दुःख सहनुपर्छ किनभने जुन राजनीतिक स्तरमा हामीले काम गर्नुपरेको छ, अब यतापट्टि सोच्ने होइन, अब दुःख सहनुपर्ने एउटा बाटो आयो, त्यसमा अब दुःख गर्नुपर्छ ।

एकचोटी मलाई राजाले के भनेका थिए भने, म त्यही सम्झन्छु, ‘होइन, विश्वेश्वर बाबु, यहाँबाट कहीँबाट विदेशी शक्तिले आक्रमण गरिदियो भने शहरको रक्षा गर्ने प्लान छ ?’ मैले भने, ‘यो त बेकारको कुरा हो सरकार ।’ ‘होइन, तैपनि सुरक्षाको दृष्टि इत्यादी…’ भनेर उनले भने । त्यो पनि उनले छलफल गरेको होलान् सेनाका मान्छेहरुसँग । अनि मैले भने, राजाले यसो भनेका थिए भनेर मान्छेहरु, कमाण्डर इन चिफसँग । कमाण्डर–इन– चिफ छक्क परे, ‘यो के सोधेको हो भनेर’ । तर कमाण्डर–इन–चिफले भोलि पर्सिपल्ट प्लान लिएर आए र ‘छ हामीसँग यस्तो आकस्मिकताका लागि प्लान । टुकुचामा यहाँ दरबारमा यो गार्ड, मुख्य ठउँहरु’ यी हुन् । भनेर मलाई  बताए । त्यो पनि उनले त्यही दिन तयार गरेको होला ।

अब थुनेर राखे । म एकान्त–बन्दी भए । पछि, त्यहि दिन बेलुका तुलसी गिरी भायो र भन्यो, “म त भन्दै थिएँ राजाले गर्छन् तपाई सुन्नुहुन्नथ्यो । मलाई तपाईले आफ्नो शत्रु भन्ठान्नुभयो । अब के गर्ने ।”

मैले भने “के गर्ने ? राजाले बडो गल्ती गरेका छन् । के ? थुन्लान् ? पाँच बर्ष थुन्लान्, दश वर्ष थुन्लान् । हामी थुनिएर बस्नुपर्छ । विकल्प हामीहरु छौँ । राजाले सभाल्नसक्ने कुरा छैन् ।”

“आऽ, कुनै पनि राजनीतिज्ञले पाँच वर्ष, दश वर्षभन्दा टाढा कसले हेर्छ ?” उसले भन्यो ।  मैले भने, “त्यो त राजनीतिज्ञ नै होइनँ । म त्यस्तो राजनीतिज्ञ होइन  । यस देशको भविष्य हेर्छु । जसले २५ वर्ष, ३० वर्ष, ५० वर्ष, पछिको कुरा सोच्दैन भने त्यो के राजनीतिज्ञ ? त्यो–राजा त झन् होइनन् । राजनीतिज्ञले त एक चुनावलाई सोच्ला रे । त्यसो हुनाले, अब म त निर्धक्क छु । म त आनन्दसँग बसेको छु ।”

मैले भनेको छु तुलसी गिरीलाई । उसले यहि भन्यो, “अब यसले पाँच वर्ष थुन्छ, दश वर्ष पनि थुनिदेला ।”

“यसबाट के भयो त ? थुनिएर दश वर्ष बस्न हामी तैयार छौँ । उनले हामीलाई छोड्नुपर्छ भन्ने लागेमा वा हामीलाई छोड्न उनी बाध्य भएमा विकल्प त हामी लै रहने छौँ” भनेर मैले त्यसलाई भनेको छु । त्यो मेरो मनस्थिति, मेरो सब कुरा बुझ्न आएको थियो । त्यसलाई त भोलिपल्ट लगिहाले ।

हामीलाई लगेर राखेपछि खाना दिइरहेका थिएनन् । खाना किन नल्याएको भनेर भनेपछि खाना लिएर आए । त्यसको मतलब, खानाको पनि इन्तजाम थिएन । खाली समातेर राख्नू भनेको थियो, प्लानिङ त पछि भएको थियो । किनभने उनलाई के डर लाग्यो भने खानाको इन्तजाम गरौँ भने थाहा होला पहिले । कसैलाई पनि केहि थाहा थिएन, राजा र उनका एक वा दुई मानिस बाहेक । त्यसो हुनाले खाने पनि इन्तजाम थिएन । त्यो मलाई कुनै दुःख दिनको निम्ति गरेको होइन । किनभने पछि त्यस्तो राम्रो खानाको इन्तजाम भयो । खानाको निम्ति सत्कार  विभागलाई खाना त्यहाँ पु¥याउनुपर्छ है एक बजेदेखि भनेर भनेको भए हरुले शंका गर्न थालिहान्थे । राती आयो खाना । लुगा बिछयौना छैन । किनभने लुगाा विछ्यौना त्यहाँ पहिलेदेखि राखिछोडयो भने त थाहा भइहाल्छ नि, किन लुगा बिछ्यौना आउन थाल्यो भनेर । उनले सम्पूर्ण योजना आफ्नो छातीभित्र लुकाएर राखेका थिए । भोलिपल्ट बिहान तुलसी गिरी भन्छ, ‘हामीलाई महाराजाधिराजले कागत चाहियो ।

त्यो मलाई देखाउनुपरेको रहेछ । महाराजधिराजले ३ बजे घोषणा गरेका रहेछन् । हामीलाई १२, १ बजे तिर समातेका थिए ।” त्यो घोषणा पनि हामीलाई दिएको छैन, हामीले त्यसलाई अध्ययन गर्नुपनेर्

,” भनेर तुलसी गिरी चिच्याउँछ ।  उसलाइ त डरै छैन । राजासँग मिलेर आएको थियो, उसलाई के को डर ? म स्तम्भित छु । मलाई एउटा कुरा के लाग्यो भने अब आरामले बस्छु । तर म स्तम्भित छु किन यसो भयो भनेर । जाडो, असाध्यै जाडो छ । आगो बाल्नलाई फायर–प्लेस छ । दन् –दन् आगो बालिदिएको छ । त्यसैमा बिलियड रुमको फोल्डिङ्गचेयर राखिदिएका छन् ।

चिया छ, के–के छ । भोलिपल्ट अकस्मात अखबार आयो, राजाको घोषणा हेर्न दिएँ । तुलसी गिरीले एउटा किताब लिएर गएको थियो, त्यो त्यही थियो । उसलाई हतार, त्यहाँबाट लिएर गइहाले । यसको किताब छुटेको थियो, त्यो मेरै किताब लगेको थियो । त्यो म सँगै रह्यो । (–विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त पुस्तकबाट –संकलक गणेशराज शर्मा )

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

SUMEGH
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top