नियमित परीक्षणले घटाउँछ स्तन क्यान्सरको जोखिम

नियमित परीक्षणले घटाउँछ स्तन क्यान्सरको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्वभर महिलामा बढ्दो स्वास्थ्य समस्यामध्ये स्तन क्यान्सर एक प्रमुख चुनौती बनेको छ । यसले युवतीदेखि वृद्ध महिलासम्मलाई प्रभावित पारिरहेको छ । अझै पनि धेरै महिलामा स्तन क्यान्सरबारे डर, भ्रम र गलत धारणा कायम रहेको चिकित्सकहरू बताउँछन् । तर, समयमै पहिचान र उचित उपचारबाट स्तन क्यान्सर निको पार्न सकिने विशेषज्ञहरूको भनाइ छ ।

भारतको म्याक्स सुपर स्पेशालिष्ट अस्पतालका निर्देशक तथा स्तन क्यान्सर सर्जन डा. राजिन्दर कौरले सुरुवाती अवस्थामा रोग पहिचान भए सजिलै निदान गर्न सकिने बताउँछिन् । उनका अनुसार अहिले ‘अनकोप्लास्टिक ब्रेस्ट कन्जर्भिङ सर्जरी’ जस्ता आधुनिक प्रविधिबाट गाँठो मात्रै हटाएर स्तनको आकार सुरक्षित राख्न सकिन्छ । ‘स्तन क्यान्सर हुनु भनेको स्तन हटाउनु अनिवार्य होइन’, उनले भनिन् ।

धेरैजसोलाई स्तन क्यान्सर महिलालाई मात्र हुने भन्ने धारणा छ । तर यो होइन । स्तन क्यान्सर महिलामा बढी देखिए पनि पुरुषमा पनि हुन सक्छ ।

उदाहरणका लागि महिलामा १०० प्रतिशतको हाराहारीमा देखिन्छ भने पुरुषमा करिब एक प्रतिशतलाई मात्र हुन सक्ने अनुमान गरिएको छ । यदि स्तनमा केही परिवर्तनहरू जस्तै स्तनमा दुखाइ नभइ गाँठो देखिनु, निप्पलबाट पानी वा रगतजस्तो तरल पदार्थ निस्कनु, छालामा रातोपन वा कडापन आउनु, स्तनको आकार परिवर्तन भए बेवास्ता गर्नु हुँदैन । शरीरमा यी लक्षणहरू देखिए तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्ने सुझाव डा.कौरको छ ।

अव्यवहारिक जीवनशैलीले बढाउँछ जोखिम

स्वस्थ जीवनशैली नै क्यान्सरबाट जोगिन सक्ने उत्तम आधार हुन् । तर कहिलेकाँही स्वस्थ जीवनशैली अपनाउँदा अपनाउँदै पनि शारीरिक हर्मोनका कारण क्यान्सरको जोखिम बढाउँछ ।

महिलामा कम उमेरमै महिनावारी सुरु हुनु, मोटोपना, ढिलो महिनावारी बन्द हुनु, बच्चा नजन्माउनु, स्तनपान नगराउनु, व्यायाम नगर्नु, मदिरा तथा सुर्तीजन्य पदार्थ सेवन गर्नु स्तन क्यान्सरका जोखिम कारक रहेको डा. कौर बताउँछिन् । परिवारमा कसैलाई स्तन क्यान्सर भएको इतिहास भए जोखिम अझ बढ्छ ।

जोखिम घटाउन के गर्ने ?

स्वस्थ जीवनशैली नै स्तन क्यान्सरबाट बच्न सकिने सरल उपाय हो । तौल नियन्त्रणमा राख्ने, नियमित व्यायाम गर्ने, सन्तुलित खानपान गर्ने, ३० वर्षअघि बच्चा जन्माउने तथा कम्तीमा एक वर्षसम्म स्तनपान गराउने महिलामा स्तन क्यान्सरको जोखिम कम रहन्छ ।

यससँगै २० वर्ष उमेरपछि प्रत्येक महिलाले महिनामा एकपटक आफ्नै स्तन परीक्षण गर्नुपर्छ । साथै वर्षमा एकपटक चिकित्सकबाट ‘क्लिनिकल ब्रेस्ट एग्जामिनेशन’ गराउनुपर्छ ।

४० वर्षपछि प्रत्येक वर्ष म्यामोग्राम गराउँदा स्तन क्यान्सरको जोखिम करिब ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ ।

कुन चरणसम्म सम्भव छ उपचार ?

चिकित्सकहरूका अनुसार पहिलो र दोस्रो चरणमा पत्ता लागेको स्तन क्यान्सरका ९० देखि ९५ प्रतिशत बिरामी निको हुन सक्छन् । तेस्रो चरणमा क्यान्सर केही फैलिसकेको हुने भएकाले पहिले किमोथेरापी र त्यसपछि शल्यक्रिया गरिन्छ ।

चौथो चरणमा भने क्यान्सर शरीरका अन्य भागमा फैलिसकेको हुन्छ । यस्तो अवस्थामा टार्गेटेड थेरापी र इम्युनोथेरापीमार्फत बिरामीको जीवन लम्ब्याउने प्रयास गरिन्छ ।

क्यान्सर केवल बिरामी महिलाको मात्र लडाइँ नभई सम्पूर्ण परिवारको संघर्ष हो । उपचारका क्रममा महिलालाई भावनात्मक सहयोग अत्यन्त आवश्यक हुन्छ ।

यस्तो बेला जीवनसाथी र परिवारको साथले बिरामीलाई मानसिक रूपमा बलियो बनाउँछ । क्यान्सर उपचारपछि महिलामा शारिरीक र मानशिक परिवर्तनहरू आउँछ । कपाल झर्ने, खान मन नलाग्ने, उदास भइरहने हुनसक्छ जस्ता लक्षण देखिन्छ ।

तसर्थ क्यान्सरको उपचारपछि महिलालाई सामान्य जीवनमा फर्किन समय लाग्ने भएकोले उनलाई हरेक कुरामा साथ र सहयोग दिनुपर्छ ।

क्यान्सरको उपचारमा आयुर्वेदिक उपचारले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्न सक्ने भए पनि क्यान्सरको मुख्य उपचार भने होइन । केवल आयुर्वेदमै भर पर्दा धेरै बिरामी ढिलो चरणमा अस्पताल पुग्ने गरेका छन्, जसले जोखिम बढाउँछ ।

यसरी गम्भीर अवस्थामा पुगेका, अनि उपचार अधुरो छोडेका वा नियमित फलोअप नगर्ने बिरामीमा स्तन क्यान्सर पुन दोहोरिन सक्ने सम्भावना रहन्छ ।

विशेषज्ञहरूका अनुसार स्तन क्यान्सरबारे सचेतना, नियमित परीक्षण र समयमै उपचार नै यस रोगविरुद्धको सबैभन्दा प्रभावकारी उपाय हो ।