बीआरआई र इन्डो प्यासिफिक रणनीतिले दक्षिण एसियाली मुलुकमा यसरी हुंदैछ ध्रुविकरण


-पुर्ण सिलवाल

छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टी (भाजपा) ले केही दशकयता ‘हिन्दुत्व’ मा आधारित धार्मिक, राजनीतिक विचारलाई तीव्रताका साथ प्रवद्र्धन गर्दै आएको छ । विगत पाँच वर्षमा चारपटक नेपाल भ्रमण गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथजस्ता शक्तिपीठमा भव्य पूजापाठ गर्नुभयो । त्यसले प्रचार पनि राम्रै पायो । ‘हिन्दुत्व’ मा आधारित राष्ट्रवादमा टेकेर उहाँकोे नेतृत्वमा लोकसभा निर्वाचन लडेको भाजपालाई दोस्रो पाँचवर्षे शासनका लागि भारतीय जनताले ३०३ सिटसहितको बहुमत र उसकै नेतृत्वको नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) लाई ३५३ सिट दिएर विशाल भारतको सत्तामा विराजमान गराएको छ । विक्रम संवत् २०४० को दशकदेखि भाजपाले ‘हिन्दुत्व’ लाई पार्टीको विचारका रूपमा अङ्गीकार गर्दै आएको छ । हिन्दुत्व विचारमार्फत सत्तारोहण गर्दैगर्दा मोदीको पुनः आगमनले नेपाल नीतिमा निरन्तरता वा परिवर्तन के होला नेपालीमा कौतूहल छाएको छ ।

भारतीय निर्वाचनको परिणामबाट उत्साहित भएर नेपालका केही राजनीतिक दल, हिन्दु धर्मवादी केही सङ्घ–संस्था र राजावादीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने माग राख्न थालेका छन् । भारतमा हिन्दुत्वको प्रभाव उचाइमा पुगेको र नेपालमा धर्मनिरपेक्षताले केही वर्षयता संस्थागत रूप धारण गरेको छ । ऐतिहासिक रूपमा नै नेपाल र भारत अहिले दुई ममहत्वपुर्ण समानतामा उभिएको छ । ती हुन्– सङ्घीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षता । सैद्धान्तिक रूपमा हेर्दा दुई देशबीचको सम्बन्ध अझ घनिष्ट बन्नुपर्ने हो । दुवै देशका सत्तारूढ दलको वैचारिक आधार एउटै छैन ।

भारतमा हिन्दुत्व विचारले बढ्दो जनसमर्थन हासिल गर्दै आएको परिप्रेक्ष्यमा हिन्दुत्व भनेको के हो ? यसको हिन्दुराष्ट्रसँग के साइनो छ ? अब मोदीको आगमनको नेपालको धर्मसंस्कृति र राजनीतिमा के कस्तो प्रभाव पार्न सक्ला ? छोटो आँकलन गर्नु सान्दर्भिक होला । संस्कृत शब्द ‘हिन्दुत्व’को अर्थ एक सच्चा हिन्दु व्यक्तिमा हुनुपर्ने सबै गुण वा लक्षण वा विशेषताको सङ्ग्रह हो । हिन्दुत्वको अर्थअन्तर्गत त्यस्तो कुनै लक्षण छैन, जुन एक हिन्दुमा अपेक्षित नहोस् । हिन्दुत्व भनेको जीवन पद्धति वा मनस्थिति हो, जुन संस्कृति, धार्मिक विशिष्ट भावना र प्रणालीबाट प्रभावित हुन्छ । इन्साइक्लोपिडिया ब्रिटानिकाले हिन्दुत्व यस्तो एउटा विचार हो, जसले भारतीय संस्कृतिलाई हिन्दु मूल्य–मान्यतासँग जोड्छ भनी परिभाषित गरेको छ । भाजपाको दाबीअनुसार हिन्दुत्वले साँस्कृतिक राष्ट्रवादको प्रतिनिधित्व गर्छ ।
हिन्दुत्व भारतीय राष्ट्रियताको अवधारणा हो न कि धार्मिक वा धर्मतन्त्रको अवधारणा । त्यसैले भारतमा हिन्दुत्वको विचार अगाडि बढे पनि हिन्दुराष्ट्रनिर्माणको विचार भने अगाडि बढेको देखिँदैन । मोदीको आगमन (मोदी २.०) ले पनि भारतलाई हिन्दुराष्ट्र घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेको छैन । त्यसको ठीक विपरीत नेपालका हिन्दुराष्ट्र पक्षधर राजनीतिक दल तथा सङ्घ–सङ्गठनले ‘हिन्दुत्व’लाई पार्टीको विचारका रूपमा अङ्गीकार गर्ने आँट नगरे पनि देशलाई हिन्दुराष्ट्र घोषणा गर्नुपर्ने माग अगाडि सारेका छन् ।

हिन्दु धर्मले मानवलाई मोक्षतर्फ प्रेरित गर्छ । हिन्दुत्वले राजनीतिक शक्ति प्राप्त गर्न दिशा दिन्छ । हिन्दुत्व भनेको साम्यवाद वा समाजवादजस्तै एउटा दर्शन हो । भारतमा भाजपाले हिन्दुत्वलाई आफ्नो दर्शन मान्दै आएको छ भने नेपालमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले माक्र्सवादी समाजवाद र नेपाली काँग्रेसले प्रजातान्त्रिक समाजवादलाई दर्शनका रूपमा अङ्गीकार गर्दै आएका छन् तर भारत र नेपालका यी राजनीतिक दल राज्यले संविधानमा संस्थागत गरेको लोकतन्त्र र धर्मनिरपेक्षताको फराकिलो संरचना र सीमाभित्र स्वतन्त्र रूपमा आफ्ना दर्शन लिएर जनतामाझ स्थापित हुन प्रयत्नशील छन् । अहिले भारतमा हिन्दुत्व दर्शन र यसको सर्वोच्चतामार्फत सुरक्षा र समृद्धि हासिल गरी भारतको छवि अन्तर्राष्ट्रिय जगत्मा अभिवृद्धि गर्न सकिन्छ भनी दाबी गर्ने दल र गठबन्धनलाई त्यहाँका जनताले अनुमोदन गरेका छन् ।

भारतको भन्दा नेपालको धार्मिक सांस्कृतिक पृष्ठभूमि फरक छ । नेपाल लामो समयसम्म विश्वको एकमात्र हिन्दुराष्ट्रका रूपमा परिचित राष्ट्र हो । राजसंस्था त्यसको संरक्षकका रूपमा थियो । नेपालको अर्को महत्वपुर्ण पहिचान गौतमबुद्धको जन्मभूमि हो । भारत कहिल्यै हिन्दुराष्ट्र भएको छैन । स्वतन्त्र भारतको पहिचान भनेकै लोकतन्त्र र धर्मनिरपेक्षता हो । नेपालमा राजसंस्थाको अन्त्य भएपछि नेपालको अन्तरिम संविधान २०६३ ले नेपाललाई धर्मनिरपेक्ष राज्य भनी पहिलोपटक घोषणा ग¥यो ।

त्यसैको निरन्तरतास्वरूप जनताद्वारा निर्मित नेपालको संविधानले पनि नेपाललाई लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष राज्य भनी नयाँ पहिचान दिएको छ । नेपालको संविधान जारी हुँदाको अवस्थामा नयाँ संविधानप्रति मोदी सरकारको असन्तुष्टि थियो । नेपाली नेताहरूलाई चेतावनीको ढाँचामा त्यो असन्तुष्टि राख्ने तत्कालीन भारतीय विदेश सचिव मोदी २.० को सरकारमा विदेशमन्त्री छन् । तसर्थ, अब मोदी २.० को नेपाल नीति कस्तो रहला नेपालीमा कौतूहल स्वाभाविक छ ।

संयुक्त राज्य अमेरिका इशाई राष्ट्र होइन, धर्मनिरपेक्ष राष्ट्र हो तर त्यहाँको राष्ट्रपतिले शपथ लिँदा बाइबल छोएर शपथ लिने परम्परा छ । पश्चिमा धर्मनिरपेक्ष इशाई देशहरूले सरकारी लगानीमा राजदूतावासको साँस्कृतिक सहचारी र अरू माध्यमबाट नेपाललगायत विभिन्न देशमा इशाई धर्म प्रचार–प्रसार गर्छन् । संसारमा धेरै इस्लामिक राष्ट्र छन्, जहाँ राष्ट्रले नै इस्लामलाई आफ्नो औपचारिक धर्मका रूपमा अँगालेका छन् । त्यहाँ इस्लामिक कानुन लागू गरिएको हुन्छ । जनता इस्लामिक कानुनको संरचनाभित्र व्यवहार गर्छन् ।

त्यस्तै, हिन्दुराष्ट्र भन्नाले राष्ट्रले औपचारिक रूपमा हिन्दु धर्मलाई अँगालेको, राजनीति र राजकाज सञ्चालनमा हिन्दु धर्मको वर्चश्व रहेको हुन्छ भनेर बुझिन्छ । तर, त्यो अभ्यास नेपालमा थिएन । राष्ट्रले एउटा खास धर्म अपनाउने कि नअपनाउनेभन्दा पनि राष्ट्रिय हितको दृष्टिले हेर्दा नेपालले आफ्नो धर्म, संस्कृति, कला, मठमन्दिर, भाषा, भेषभूषा र रहनसहनजस्ता नेपाली जीवन पद्धतिको जगेर्ना र प्रवद्र्धन गर्न सकेको छ कि छैन ? यस विषयले बढी महत्व राख्छ ।
नेपालमा हिन्दुराष्ट्रको माग गर्ने राजनीतिक दलले हिन्दुत्वलाई पार्टीको विचारका रूपमा अङ्गीकार गरेको पाइँदैन ।

एउटा राजनीतिक दल वा सङ्गठनले हिन्दु संस्कृति र मूल्य–मान्यतालाई जीवन पद्धतिका रूपमा जबसम्म अङ्गीकार गर्र्दैन, धर्मलाई उपयोग मात्र गर्ने राजनीतिले नेपाललाई हिन्दुराष्ट्रका रूपमा पुनःस्थापना गर्न सकिँदैन । त्यसो भए के भारतको हिन्दुत्ववादी दलले नेपालमा हिन्दुराष्ट्र पुनःस्थापना गर्न सक्छ ? राजनीतिक धर्म र नैतिकतालाई आधार मान्ने हो भने हिन्दुत्व विचार बोकेको भारतको राजनीतिक दलले भारतलाई पहिले हिन्दुराष्ट्र घोषणा गरोस् । अन्यथा यो नेपालमा अस्थिरता ल्याउने साधनमात्र बन्नेछ ।

नेपाली संस्कृति, मूल्य–मान्यता र जीवन पद्धतिलाई पुनर्जीवित गराउनुपर्छ । हिन्दुधर्मी नेपालीबीच एकता, सौहार्दता, सहिष्णुताको विकास गर्नुपर्छ । अहिले एउटै धर्म मान्ने जनताबीच पहाडवासी र तराईवासीको नाममा दुई कित्तामा वर्गीकरण गर्ने प्रयास गरिएको छ । समान धर्मका बीच पनि फाटो ल्याउने प्रयास नेपालको इतिहासमा पहिले कहिल्यै भएको थिएन । इस्लामिक राष्ट्रमा सिया र सुन्नी धर्मावलम्बीबीच विभाजन गरेजस्तै हिन्दुबीच दुई समुदायको नाममा विभाजन गर्नु अनुचित छ ।

पहाड र तराईमा बस्ने आमहिन्दुलाई एकताको सूत्रमा बाँध्नु अहिलेको आवश्यकता हो । नेपाल गौतमबुद्धको जन्मस्थल भएको हुंदा बौद्ध धर्म र संस्कृतिलाई प्रवद्र्धन र सम्बद्र्धन गर्नु पनि आवश्यक छ । धार्मिक दृष्टिकोणले नेपाललाई हिन्दु धर्म र बौद्ध धर्ममा आधारित मूल्य–मान्यतामा नेपाली मौलिक जीवन पद्धतिको प्रवद्र्धन गर्न सक्नुपर्छ । अरू धर्मको पनि संरक्षण गर्नुपर्छ ।

मोदीको नेतृत्वको एनडीए गठबन्धन सरकारले नेपाललाई हेर्ने विगतको दृष्टिकोणमा परिवर्तन गर्नु आवश्यक छ । नेपालका लागि भारतका पूर्वराजदूत तथा विदेश सचिव श्याम शरणले ‘हाउ इन्डिया सिज् द वल्र्ड’ नामक पुस्तकमा नेपालभित्र मधेसी समुदाय र भूतपूर्व भारतीय गोर्खालाई कन्स्टिच्युयन्सी मानी भारत नीति केन्द्रित गर्नुपर्ने तर्क पेस गरेका छन् ।

नयाँ कूटनीतिक सम्बन्ध सिधै नयाँदिल्ली र काठमाडौँबीच हुनुपर्छ, न कि विभिन्न समुदाय र भौगोलिक क्षेत्रबीच । नेपालको आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अपनाएको खण्डमा भारतप्रति नेपाली जनताको सद्भाव बढ्नेछ । भारतले धार्मिक सांस्कृतिक सम्बन्ध सुदृढ पार्न र अधिक सङ्ख्यामा धार्मिक पर्यटक नेपाल पठाएर सहयोग गर्नुपर्छ ।

विगतका दुई विकराल आर्थिक नाकाबन्दी र बिम्स्टेकको संयुक्त सैनिक अभ्यासमा नेपाल सहभागी नभएको घटनाबाट दुवै देशले महत्वपुर्णपाठ सिकेका छन् । चीनको बेल्ट एन्ड रोड इनिसियटिभ  (बीआरआई) र अमेरिकाको इन्डो प्यासिफिक रणनीतिले दक्षिण एसियाली राष्ट्रमा ध्रुवीकरण ल्याउने सम्भावना छ । अब नेपाल पृथ्वीनारायण शाहले भन्नुभएको ‘दुई ढुङ्गाबीचको तरुल’ मा मात्र सीमित नरही दुई विश्वशक्ति राष्ट्रका यी दुई रणनीतिबीचको सामरिक महत्वको स्थलका रूपमा पनि देखापरेको छ । त्यसैले अब नेपाल–भारतबीचको सम्बन्ध यी सबै परिवर्तित वास्तविकतालाई बुझेर नयाँ ढङ्गले अघि बढ्नु हितमा हुनेछ ।

लेखक नेपाली सेनाका अवकासप्राप्त उपरथी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement