बुद्धजयन्तीमा उपराष्ट्रपतिको शुभकामना:शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्


काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुनले विश्वभरका मानिस भौतिक र आध्यात्मिक सुख शान्तिको खोजीमा रहेको वर्तमान विश्व सन्दर्भमा गौतमबुद्धबाट व्यक्त शान्ति र अहिंसाका सत्य वचनको महत्व र सान्दर्भिकता झनै बढेर गएको बताएका छन् ।

शान्तिका अग्रदूत, बुद्ध धर्मका प्रवर्तक गौतमबुद्धको २५६३औँ जन्मजयन्तीका अवसरमा आज (शनिबार) एक सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले सम्पूर्ण नेपाली र विश्वभरका बौद्ध धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

“सत्य, अहिंसा र सदाचारका आदि पुरुष बुद्धले देखाउनुभएको सत्मार्ग हामी सबैका लागि सदैव अनुकरणीय र मननीय रही आएको र उनको उपदेशलाई हृदयाङ्गम एबं आत्मसात् गर्न सकिएमा राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दिगो शान्तिको स्थापना हुने विश्वास लिएको छ”, उनको शुभकामना सन्देशमा भनिएको छ ।

आजकै दिन किरात समुदाय (राई, लिम्बू, सुनुवार र याक्खा)को ठूलो पर्व उभौली तथा चण्डीपूर्णिमा समेत परेको उल्लेख गर्नुहुँदै उपराष्ट्रपति पुनले उभौली पर्व तथा चण्डी पूर्णिमाको पुनित् अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण किरात समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

उहाँले २५६३औँ बुद्धजयन्ती र उभौली पर्वले शान्ति र समृद्धिको मार्गमा अगाडि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement