बस दुर्घटनाको जिम्मेवारी लिँदै बुल्गेरियामा तीन मन्त्रीद्वारा राजीनामा


सोफिआ – बस दुर्घटनामा परी मानवीय क्षति भएपछि बुल्गेरियाका तीन जना मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । पर्यटक बस दुर्घटना भएपछि सरकारको चर्को आलोचना भएकाले सार्वजनिक सेवा, यातायात र आन्तरिक मामिला मन्त्रीले राजीनामा दिएका हुन् ।

“हामी तीन जना मन्त्रीहरु म, यातायात मन्त्री इभायलो मोस्कोभस्की र आन्तरिक मामिला मन्त्री भ्यालेन्टायन राडेभले आज राजीनामा दिएको छौँ,” क्षेत्रीय विकास तथा सार्वजनिक सेवा मन्त्री निकोलाय नान्केभले शुक्रबार पत्रकारहरुसँग भने ।

पश्चिम बुल्गेरियाको राजधानी सोफियाबाट ५० किलोमिटरको दूरीमा पर्ने पश्चिम भागमा अघिल्लो शनिबार पर्यटक बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको थियो । १३ को घटनास्थलमै र ४ जनाको उपचारको क्रममा मृत्यु भएको एपीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानले बस चालकलाई मात्रै दुर्घटनाको दोषी देखाएको भए पनि त्यहाँको सरकारको चर्को आलोचना भएको थियो । आलोचनापछि बुल्गेरियाका प्रधानमन्त्री बोय बोरिसोभले ३ मन्त्रीलाई राजीनामा दिएर नैतिकता देखाउन निर्देशन दिएका थिए । प्रधानमन्त्रीको त्यस्तो निर्देशनसँगै ३ मन्त्रीले दुर्घटनाको जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन् ।

तीनै जना मन्त्री बोरिसोब्स सेन्टर-राइट सीईआरबी पार्टीको तर्फबाट मन्त्री बनेका थिए । दुर्घटनाबारेमा अहिलेसम्म बसका चालकलाई मात्रै दोषी भएको आरोपमा नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement