बुटवलमा एक हजार सवारी साधानमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान


लुम्बिनी – बुटवलमा सवारी साधनको अभिलेख केन्द्रिकृत गर्ने प्रणाली ‘इम्बोस्ड नम्बर प्लेट’ जडान थालिएको वर्षदिन बितिसकेको छ तर यहाँका सवारीधनीमा यसप्रति खासै रुची नभएको देखिएको छ ।

सरकारले २०७४ भदौ देखि केन्द्रमा सुरु गरेको ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बुटवलस्थित यातायात कार्यालयमा गत वर्षदेखि लागू भएको हो । हालसम्म एक हजार ५२ वटा सवारी साधनमा मात्रै ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गरिएको छ । यातायात कार्यालय बुटवलका अनुसार र हालसम्म पाँचसय १५ सरकारी मोटरसाइकल र एकसय ४६ वटा चार पाङ्ग्रे सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ ।

दुई सय ५६ वटा निजी मोटरसाइकल र एक सय १२ वटा चार पाङ्ग्रे सवारी, आठ वटा ट्याक्टर, भाडाका पाँच र दश वटा भारी सवारी साधनले ‘इम्बोस्ड नम्बर प्लेट’ लिएका छन् ।

केन्द्रीय यातायात व्यवस्था विभागले सबै प्रदेशमा एकै पटक बोलपत्र आह्वान गरेर नम्बर प्लेट जडान गर्न कर्मचारी खटाएको छ ।

यातायात कार्यालय बुटवलका प्रमुख लक्ष्मण लम्सालले ‘इम्बोस्ड नम्बर प्लेट’ जडान बापतको राजश्व पनि विभागको खातामा दाखिला हुने गरेको बताए ।

निजी सवारी साधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएकाले यसप्रति खासै रुची नभएको उनको बुझाइ छ ।

‘इम्बोस्ड नम्बर प्लेट’ राख्न मोटरसाइकललाई रु. दुई हजार पाँच सय, तीन पाङ्ग्रे सवारीलाई रु. दुई हजार नौ सय, चार पाङ्ग्रे सवारीलाई रु. तीन हजार दुई सय र हेभी सवारीलाई रु. तीन हजार ६ सय राजश्व तोकिएको छ । एघार जना कर्मचारीले ‘इम्बोस्ड नम्बर प्लेट’सम्बन्धी सेवा प्रवाह गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement