काठमाण्डु -मन्त्रिपरिषदको बैठकले विभिन्न देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारमा सोमबार सम्पन्न भएको बैठकले भारत अमेरिका र चीनलगायत ८ देशमा राजदूत नियुक्त गरेको हो ।
मन्त्रिपरिषद् बैठकले भारतमा शंकर शर्मा, अमेरिकामा लोकदर्शन रेग्मी, चीनमा कृष्ण ओली, पाकिस्तानमा रिता धिताल, पोर्चुगलमा प्रकाशमणि पौडेल, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिनालाई राजदूत सिफारिस गरेको छ ।
बैठकले २२ मन्त्रालयका सचिव र तीन जना प्रदेश प्रमुख नियुक्त गर्ने निर्णय गरेको छ । वाग्मतीमा दीपक प्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।
बैठकले वाणिज्य सचिव दिनेश घिमिरेलाई राजस्व सचिवमा सरुवा गरेको छ भने अर्थमा रामप्रसाद घिमिरेको सरुवा गर्ने निर्णय भएको छ । सरुवा हुने अन्य सचिवहरुमा मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालय, रामेश्वर दंगाल रक्षा ,किरणराज शर्मा वित्त आयोग, भरत सुवेदी संघीय मामिला,घनश्याम उपाध्याय अख्तियार र मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालय रहेका छन् ।
त्यसैगरी बैठकले नेपाली सेनाको कामु प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको सिफारिसमा सरकारले सिग्देललाई नेपाली सेनाको कामु प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया