काठमाण्डु- काठमाण्डु महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा सञ्चालन गरेका निशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम सम्पन्न भएको छ । महानगरपालिकाका अनुसार २०८२ चैत १६ गतेदेखि २०८३ वैशाख २१ गतेसम्म सञ्चालन गरिएको अभियानअन्तर्गत २ हजार ७७९ महिलाको एचपीभी परीक्षण गरिएको थियो ।
अभियानमा सहभागी भएका १ हजार ७ सय रिपोर्टमध्ये ६० जनामा भने एचपीभी पोजेटिभ देखिएको छ ।एचपीभी पोजेटिभ देखिएकामध्ये १८ जनाको ‘कोल्पोस्कोपी’ परीक्षण गरिएको छ । वीर अस्पतालमा हरेक बुधबार र शुक्रबार पोजेटिभ रिपोर्ट आएका महिलालाई थप परीक्षणका लागि बोलाएको कार्यक्रम फोकल पर्सन चन्द्रा भट्टले बताए ।
उनका अनुसार महानगरपालिकाले परीक्षण तथा प्रारम्भिक उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोरेकोले सेवाग्राहीले कुनै शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ । स्वास्थ्यकर्र्मीका अनुसार एचपीभी पोजेटिभ हुनु भनेको क्यान्सर भएको अवस्था होइन । तर, लामो समयसम्म संक्रमण रहिरहेमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढ्ने गर्दछ ।
३५ दिनमा ३ हजार ४९४ जनाले नाम दर्ता
चन्द्रा भट्टका अनुसार ३५ दिनको अवधिमा ३ हजार ४९४ महिलाले स्वास्थ्य प्रवद्र्धन केन्द्रमा नाम दर्ता गरी ‘रिफरल स्लिप’ लिएका थिए । तर, तीमध्ये २ हजार ९७५ जना मात्रै परीक्षणका लागि अस्पताल पुगे । ५१९ महिलाले भने प्रक्रिया सुरु गरे पनि सेवा लिन अस्पताल नगएको र यस विषयमा खोजी भइरहेको महानगरपालिकाले जनाएको छ । परीक्षणका क्रममा २ हजार ९६४ महिलाको स्तन क्यान्सर परीक्षण गरिएको थियो । तीमध्ये ४११ जनाको मेमोग्राम गरिएको छ । यस्तै ५९ जनाको पाठेघर र ३६५ जनाको स्तनको भिडियो एक्सरे गरिएको छ । जाँचका क्रममा ४५ जनाको पाठेघरको मुखमा मासु पलाएको सर्भाइकल पोलिप भेटिएको छ भने २ जनाको पाठेघरको मासु निकालिएको छ । ३ जनामा आङ खस्ने समस्या र ८ जनामा पाठेघरको मुखमा संक्रमण देखिएको जानकारी दिए ।
एचपीभी संक्रमण र क्यान्सरको जोखिम
चिकित्सकका अनुसार ह्युमन प्यापिलोमा भाइरस एचपीभी संक्रमण ५ देखि १० वर्षसम्म रहिरहेमा पाठेघरको मुखको क्यान्सर हुने जोखिम बढ्छ । ३० देखि ६० वर्ष उमेर समूहका महिलाले हरेक ५ वर्षमा एकपटक परीक्षण गराउनुपर्ने सुझाव दिइएको छ ।एकभन्दा बढी यौन साझेदार हुनु, कम उमेरमै यौन सम्पर्क हुनु, एचआइभीजस्ता यौनजन्य संक्रमण हुनु, धुमपान गर्नु, प्रतिरक्षा प्रणाली कमजोर हुनु, धेरैपटक गर्भवती हुनु तथा कहिल्यै परीक्षण नगराउनु जस्ता कारणले पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्।
स्तन क्यान्सरका जोखिम र लक्षण
स्तन क्यान्सरको ठोस कारण स्पष्ट नभए पनि उमेर बढ्दै जाँदा, विशेषगरी ५० वर्षपछि, जोखिम बढ्ने चिकित्सकहरूको भनाइ छ । परिवारमा आमा, दिदीबहिनी वा छोरीलाई स्तन क्यान्सर भएको इतिहास भए जोखिम अझ बढी हुने बताइन्छ ।
सानै उमेरमा महिनावारी सुरु हुनु, ढिलो महिनावारी बन्द हुनु, लामो समयसम्म हर्मोनसम्बन्धी औषधि सेवन गर्नु, ३० वर्षपछि पहिलो सन्तान जन्माउनु, स्तनपान नगराउनु, धुमपान, मोटोपना, व्यायामको कमी तथा अस्वस्थ खानपानलाई पनि जोखिमका कारण मानिन्छ ।




प्रतिक्रिया