संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा कङगो आक्रमणको निन्दा

संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा कङगो आक्रमणको निन्दा


एजेन्सी –आइतवार प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनको हेलिकप्टरमा भएको आक्रमणको संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले कडा निन्दा गरेका छन् । उक्त घटनामा परी एक दक्षिण अफ्रिकी शान्ति सैनिकको मृत्यु भएको छ र अर्का एक गम्भीर घाइते भएका विज्ञप्तिमा जनाइएको छ ।

गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिकविरुद्धको आक्रमणलाई अन्तर्राष्ट्रिय कानूनअन्तर्गत युद्धअपराध हुन सक्छ र कङ्गोेली अधिकारीलाई यस जघन्य आक्रमणको छानबिन गर्न र दोषीलाई तुरुन्तै न्यायको कठघरामा ल्याउन आह्वान गरेका छन् ।

महासचिवले कङ्गोको प्रजातान्त्रिक गणतन्त्रमा आफ्नो विशेष प्रतिनिधिमार्फत् संयुक्त राष्ट्रसङ्घले देशको पूर्वमा शान्ति र स्थायित्व ल्याउने प्रयासमा कङ्गोली सरकार र जनतालाई सहयोग गरिरहने कुरा पुनः पुष्टि गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिवले मृतक शान्ति सैनिकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकाे विज्ञप्तिमा भनिएको छ ।

हेलिकप्टर आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन । लामो समयदेखि असुरक्षा र हिंसाले ग्रस्त उत्तरी किभु प्रान्त सरकारी सेना र स्थानीय सशस्त्र समूहबीच महिनौंदेखि चलिरहेको लडाइँको केन्द्रबिन्दु बनेको छ ।