खोप लगाउन माघ १६ देखि २० गतेसम्म विद्यालय खोल्ने सीसीएमसीसीकाे निर्णय


काठमाण्डु – कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार गृहमन्त्री बालकृष्ण खाणको संयोजकत्वमा बसेको सीसीएमसीसीको बैठकले कोभिड विरुद्धको खोप अभियान सञ्चालनका लागि माघ १६ देखि २० गतेसम्म विद्यालय संचालन गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढेसँगै सीसीएमसीसीले यसअघि माघ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । सरकारले १२ देखि १८ वर्ष भित्रका विद्यार्थीलाई कोराना विरुद्धको खोप प्रदान गर्ने कार्यक्रम तय गरेको छ । सोही कार्यक्रम अन्र्तगत माघ १६ गतेदेखि विद्यार्थीलाई खोप प्रदान गर्ने तयारी गरिएको हो ।

यसअघि बन्द गरिसकिएका विद्यालय खोप अभियान अवधिभरका लागि संचालन गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले जानकारी दिए । त्यस्तै सीसीएमसीले यही माघ ७ गतेबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्ने निर्णय गरेको छ । बैठकमा लक्षित बर्गलाई कोभिड–१९ विरुद्ध बुस्टर डोज कसरी पुर्‍याउने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement