देशभर प्रहरीसँग १३ हजार ६७५ सीसीटीभी, अनुसन्धान प्रभावकारी हुँदै


काठमाण्डु – गत भदौ २९ गते राति काठमाण्डु तिनकुनेस्थित दिव्य सःमिलमा ४ जनालाई धारिलो हतियार प्रहार गरी ज्यान मारेको घटनामा सीसीटीभी मनिटरिङबाट हुलिया खुल्न गई संलग्न अभियुक्त नियन्त्रणमा लिन प्रहरी सफल भयो ।

गत पुस १७ गते दिउँसो दहचोकदेखि कालीमाटी आउने क्रममा १ जना पीडितको साथमा रहेको १ लाख ३० हजार रूपैयाँ भएको झोला खसेर हराएको जानकारी प्राप्त भयो । सीसीटीभी मनिटरिङबाट झोला बा६३प ९८२७ नम्बरको स्कुटर चालकले कलंकी चोकबाट टिपेकोदेखि चालकसँगको समन्वयमा नगद पीडितलाई बुझाउन प्रहरी सफल भयो ।

यी त केही प्रतिनिधि घटनाहरू हुन् । यसरी हुने दैनिक घटनाहरूको निगरानी तथा घटिसकेका घटनाहरूको फुटेज पहिचान गरी विश्लेषणबाट अनुसन्धानमा सहयोग पुग्ने गरेको प्रहरीले जनाएको छ । सीसीटीभी मनिटरिङ कक्षबाट दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै जुलुस, सभा र सम्मेलनमा तथा हुलदंगा गर्ने समूहलाई निगरानी गर्ने काम पनि हुने जनाइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकाल भन्छन्, ‘समाजमा शान्ति सुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा संलग्नलाई पहिचान तथा कारवाही गर्न सीसीटीभी प्रभावकारी माध्यम हो । यसले चोरीडकैती लगायतका आपराधिक क्रियाकलाप न्यूनीकरण तथा नियन्त्रण गर्न र प्रहरी परिचालनलाई सहज तथा प्रभावकारी बनाउन मद्दत गर्छ । त्यसैले प्रहरी संगठनले सीसीटीभी प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ ।’

चालू आर्थिक वर्षको साउनदेखि माघसम्म ७ महिनाको अवधिमा देशभर १ हजार २९५ वटा थप सीसीटीभी जडान भएका छन् । तीमध्ये काठमाण्डु उपत्यका प्रहरी कार्यालय अन्तर्गत २६१ वटा, कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत ३९० वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत ७० वटा, बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत १२६ वटा, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १६२ वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १०३ वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत ९४ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८९ वटा जडान भएका छन् ।

तीमध्ये विभिन्न संघसंस्थाबाट १ हजार ११४ वटा र प्रहरी कार्यालयबाट १८१ वटा जडान भएका हुन् । हालसम्म देशभर नेपाल प्रहरीले मनिटर गर्ने सीसीटीभी १३ हजार ६७५ वटा रहेका छन् । तीमध्ये तीमध्ये काठमाण्डु उपत्यका प्रहरी कार्यालय अन्तर्गत ३ हजार ९९३ वटा, कोशी प्रदेश प्रहरी कार्यालय अन्तर्गत २ हजार ४५८ वटा, मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गत १ हजार ५३२ वटा, बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत १ हजार ३६८ वटा, गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १ हजार ६५१ वटा, लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गत १ हजार ४१० वटा, कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गत ४४८ वटा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत ८१५ वटा छन् ।

सीसीटीभी क्यामेराको प्रयोगले मुख्य–मुख्य सडकहरू र महत्त्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनीकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापन, विभिन्न प्रकारका आपराधिक तथा गैरकानूनी कार्यलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले यसको प्रभावकारिता बढ्दै गएको जनाइएको छ ।

प्रहरी नायव महानिरीक्षक ढकाल भन्छन्, ‘शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण लगायत सुशासनसँग सम्बन्धित विषयमा प्रभावकारी काम गर्न सूचना तथा संचार प्रविधि सरल माध्याम हो । यस प्रणालीलाई प्रभावकारी बनाई सोको उपयोगबाट गुणात्मक नतिजा हासिल गर्न सिसिटिभी क्यामेराको भूमिका महत्त्वपूर्ण छ । क्यामेरा अकाट्य प्रमाण भएकोले घटनासँग सम्बन्धित मानिस उम्किन पाउँदैन ।’

चालू आर्थिक वर्षको पुससम्म ६ महिनाको अवधिमा काठमाण्डु उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, समान छुटेको/हराएको, चोरी, लुटपाट, सवारी साधन हराएको, मानिस हराएको लगायत अन्य विभिन्न घटनाहरूमा कूल १ हजार २९७ फुटेज माग भएकोमा ५८१ फुटेजहरू उपलब्ध गराइएको छ । सोही फुटेजहरूको आधारमा ४०९ वटा घटना अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ ।

सो अवधिमा काठमाण्डु उपत्यकामा ट्राफिक नियम उल्लंघन गरी फरार १४ हजार ६३३ जना र ट्राफिक सपोर्ट कारबाही २५ हजार ६३६ जना गरी ४० हजार २६९ जनालाई सीसीटीभीकै आधारमा पहिचान तथा फलोअप गरी कारवाहीको दायरामा ल्याउन प्रहरी सफल भएको जनाइएको छ ।

सीसीटीभी मोनिटरिङका सम्बन्धमा उपत्यका प्रहरी कार्यालय रानीपोखरी सञ्चार तथा सीसीटीभी शाखाका प्रमुख प्रहरी उपरीक्षक दामोदर कँडेल भन्छन्, ‘आधुनिक प्रविधिको प्रयोग गर्दै चौविसै घण्टा सीसीटीभीको माध्यमले मोनिटरिङ गरी परिणाममुखी एवं प्रमाणमुखी प्रहरी कार्यलाई थप व्यवस्थित बनाउन निरन्तर लागीरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस
Advertisement