काठमाडौँ – तीन वर्षअघि नै घरको मुआब्जा लिई पटक पटकको सूचना र ताकेतापछि पनि अटेर गर्ने काठमाडौँको चाबहिल–साँखु सडक खण्डमा पर्ने स्थानीयवासीको घरमा डोजर चलाइएको छ ।
आर्थिक वर्ष २०७३-७४ र २०७४-७५ मा दुईपटक गरी मुआब्जा लिई अहिलेसम्म घर नभत्काएका घरधनीको घरमा डोजर चलाइएको हो ।
स्थानीयवासीले सडक क्षेत्रमा परेका घर नभत्काउँदा सडक निर्माण नै अवरोध भएपछि काठमाडौँ उपत्यका विकास प्राधिकरण, काठमाडौँ उपत्यका सडक विस्तार आयोजना र सडक विभागको संयुक्त पहलमा बुधबार चाबहिल–साँखु सडक खण्डमा पर्ने मूलपानी, थली र डाँछीका सडक क्षेत्रमा पर्ने घरमा डोजर चलाइएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो सडक खण्डमा पर्ने मूलपानी र डाँछीमा एउटा÷एउटा तथा थलीमा पाँचवटा घरमा डोजर चलाइएको हो । “दुई वर्षअघि नै मुआब्जा लिइसकेको तथा घर भत्काउन पटकपटक सूचना र ताकेता गर्दा पनि नभत्काएपछि सडक क्षेत्रमा परेका घरहरूमा डोजर चलाई साङ्केतिक रूपमा भत्काइएको छ, अब उहाँहरूले आफैँ भत्काउनुपर्छ,” उहाँले भन्नुभयो, “अब पनि उहाँहरूले घर भत्काउनुभएन भने हामीले पूर्णरूपमा घर भत्काउने छौँ ।” मुआब्जा लिएकाहरूको मात्र घरमा डोजर लगाइएको उहाँले स्पष्ट पार्नुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया