एक दशकपछि बन्यो ३० मेगावाटको चमेलिया जलविद्युत अायाेजना


दार्चुला– बहुप्रतिक्षित चमेलिया जलविद्युत आयोजना एक दशकपछि सम्पन्न भएको छ।

दार्चुला को शैल्यशिखर नगरपालिका–१, बलाँचमा रहेको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजना शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेसँगै एक दशक लामो प्रतिक्षा अन्त्य भएको हो।

सन् २००७ मा आयोजना निर्माण सुरु गरी सन् २०११ मा सम्पन्न गर्ने लक्ष्य लिएको यस आयोजनामा चार पाँच पटक समयावधि थपिएको थियो। सन् २०१७ डिसेम्बरमा विद्युत्त बाल्ने लक्ष्यका साथ काम गरेको आयोजनाले अन्तिममा सन् २०१८ को फेब्रुअरीमा निर्माण सम्पन्न गरेको आयोजना प्रमुख अजयकुमार दाहालले जानकारी दिए।

बलाँचबाट १ सय ३१ किलोमिटर लामो कैलाली जिल्लाको अत्तरियामा रहेको सब स्टेसनमा १ सय ३२ केभी प्रशारण लाइनबाट उत्पादित विद्युत्त राष्ट्रिय प्रशारणमा जोडिने छ।

वर्षभरी दैनिक ६ घण्टा ३० मेगावाट विद्युत्त उत्पादन गर्ने नेपालकै पहिलो प्रविधियुक्त चमेलियाको विद्युत्त उत्पादनपछि सात नम्बर प्रदेश बाहेक देशका अन्य प्रदेशहरुमा पनि लोडसेडिङ अन्त्य गर्ने चमेलिया जलविद्युत्त आयोजनाका इलेक्ट्रिकल इन्जिनियर सुनिल सुवेदीले जानकारी दिए।

चमेलिया जलविद्युत्त आयोजनामा नेपाल विद्युत्त प्राधिकरण, सीजीजीसी चाइना गेजुवा कम्पनी र कोरियो हाइड्रो एण्ड न्युक्लियर पावर कम्पनी केएचएनपीले निर्माण कार्य सम्पन्न गरेका हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement