जनकपुरधाम-जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रमा अहिले चौरचन पर्वको रौनक देखिएको छ । मिथिलाको महत्त्वपूर्ण पर्वका रुपमा रहेको चौरचन पर्व मनाउन बजारमा किनमेल गर्नेहरूको बिहानदेखि नै अत्यधिक भीड छ । व्रती तथा तिनका परिवार पर्वको तयारीमा जुटेका छन् ।
मिथिलाका ठूला पर्वमध्ये एक रहेको चौरचन पर्वमा चन्द्रमालाई पूजा गर्ने परम्परा छ । मिथिलामा सूर्यको मात्र होइन, मानवसहित सम्पूर्ण जगत्लाई शीतलता दिने चन्द्रमाको पनि पूजा गर्ने चलन रहेको छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेसी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।
चौरचन पर्वका दिन व्रत बस्ने चलन छ । यस पर्वको माध्यमबाट मैथिल कला, संस्कृतिको उजागर हुने प्राज्ञ तथा वरिष्ठ पत्रकार रामभरोस कापडी बताउछन ।
पूजामा विशेष परिकार बनाउने चलन छ । प्रसादका रूपमा पिरकिया, खजुरी, खाजा, पुरी र खिर घरघरमा बनाउने चलन छ । फलफूलका अतिरिक्त दहीले पनि गणेश र चन्द्रमाको पूजा गरिन्छ । चौथीको दिन चन्द्रदेवलाई खाली हात दर्शन गर्न नहुने मान्यताअनुसार चौरचन पर्व मान्ने परिवारजनले हातमा केरा, स्याउ, अम्बा, अनार, काँक्रो, घरमा तयार पारेको पकवान, मिठाई, गाँजरजस्ता सामग्री लिएर दर्शन गर्ने परम्परा छ । दिनमा प्रसाद बनाउने र बेलुका पूजा गर्ने गरिन्छ ।
पण्डित इन्द्रकान्त झा शास्त्रीका अनुसार यो पर्वको प्रारम्भ मिथिला नरेश हेमाङ्ग ठाकुरद्वारा भएको मानिन्छ । ठाकुर आफै ज्योतिष हुन । उनलाई यो तिथिमा शुभफल प्राप्त भएकाले यस पर्वको सुरुआत गरेको मान्यतो छ । मैथिल समाजका धेरैजसो परिवारमा यो व्रत गर्ने भाकल गरिएको हुन्छ । परिवारमा कसैलाई कुनै कष्ट भएका बेला यो पर्व गर्ने भाकल गरेर कष्ट निवारणका लागि चन्द्रमालाई बिन्ती गरिन्छ । यस्तो भाकल पाँच–दश वर्षका लागि पनि गरिन्छ भने कतिपय अवस्थामा यो आजीवन हुने गर्दछ ।
चतुर्थीका दिन दिनभर उपवास बसी नैवेद्य लागि पकवान पकाइन्छ । साँझ भएपछि चन्द्रमाको विशेष विधिपूर्वक पूजा गरी यो पर्व सम्पन्न हुने झा बताउँछन । मिथिलाको लोकपर्व चौरचनको बेला गणेश र चन्द्रमाको कथा सुन्ने परम्परा रहिआएको छ ।
मिथिलाञ्चल क्षेत्रमा मनाइने विभिन्न लोक पर्वको प्रारम्भबारे प्रमाणिक तथ्य केही उपलब्ध छैन । जसरी यो समाजले आफ्नो आवश्यकता, सहुलियत आदिकै आधारमा यसलाई ग्रहण गरे । त्यो कतै अभिलेखका रूपमा पाइँदैन । यो पिँढी दरपिँढी हस्तान्तरण हुँदै आए । तर पनि केही अवधारणा यस पर्वको प्रारम्भको पृष्ठभूमिमा छ जसलाई यसरी प्रस्तुत गरिएको छ ।
मिथिलाञ्चल क्षेत्रमा डाक वचन अत्यन्त प्रमाणिक र लोक ज्योतिषशास्त्रकै ऋचाजस्तै स्वीकार गरिएका छन् । कृषि कर्मबारे उनका वचन अत्यन्त सटिक हुन्थ्यो । आज पनि मिलेको छ तर पर्यावरणीय अव्यवस्थाले गर्दा तलमाथि हुने गर्दछ ।
प्रतिक्रिया