लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिने लुइँटेलमाथि छानबिन गर्न बन्यो समिति

लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिने लुइँटेलमाथि छानबिन गर्न बन्यो समिति


काठमाण्डु – महान्यायाधिवक्ता कार्यालयले चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको निर्णयमाथि छानबिन गर्न समिति बनाएको छ । सहारा चितवन सहकारी गठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अदालतमा दर्ता गरेको अभियोजनको विषयलाई लिएर लुइँटेलमाथि छानबिन गर्न कार्यालयले समिति गठन गरेको हो ।

नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको संयोजकत्वमा गठित छानबिन समितिमा सहन्यायाधिवक्ता सूर्यराज दाहाल, उच्च अदालत सरकारी वकिल कार्यालय हेटौँडाका सहन्यायाधिवक्ता ईश्वरीप्रसाद ढकाल, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रुद्रप्रसाद आचार्य सदस्य रहेको महान्यायाधिवक्ता कार्यालय स्रोतले जानकारी दिएको छ ।

समितिलाई साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलन अभियोजनबारे सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी दिइएको छ ।

लामिछानेलाई संगठित अपराधमा उन्मुक्ति दिएपछि मंगलबार चितवनका जिल्ला न्यायाधिवक्ता लुइँटेललाई महान्यायाधिवक्ताको कार्यालयमा तानेर उच्च सरकारी वकिलको कार्यालय बुटवलका उपन्यायाधिवक्ता रवि न्यौपानेलाई चितवन सरुवा गरिएको थियो।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा १२ जनालाई मात्रै संगठित अपराध र ठगीको मुद्दा चलाएपछि लुइँटेलको सरुवा गरिएको थियो ।