काठमाण्डु- महानगरपालिकाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल सुरु गरेको छ । नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित भएका उनीहरुलाई माध्यमिक शिक्षा परीक्षा (एसईई)सम्मको पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्ने भएका हुन् ।
महानगरपालिका, निजी विद्यालयका छाता संगठनहरू (प्याब्सन तथा एन–प्याब्सन) र अभिभावकबीच भएको त्रिपक्षीय सम्झौताअनुसार विस्थापित बालबालिकाहरूले सो छात्रवृत्ति पाउनेछन् ।
महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीकाअनुसार विस्थापित परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन यो कार्यक्रम अगाडि बढाइएको हो । सम्झौताअनुसार छनोट भएका बालबालिकाको पठनपाठन, आवास तथा छात्रावासको सम्पूर्ण खर्च सम्बन्धित विद्यालयले व्यहोर्नेछन् ।
हाल होल्डिङ सेन्टरमा रहेका करिव ३०० परिवारमध्ये पहिलो चरणमा स्क्रिनिङ गरिएका ५० बालबालिकामध्ये ४१ जनालाई बल्खुस्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ ।
बाँकीमध्ये १० वर्षभन्दा माथिका २० बालबालिकालाई आवासीय सुविधासहित निजी विद्यालयमा पढाउने सहमति भएको छ, । साथै १३ जनालाई शुक्रबार नै सम्बन्धित विद्यालयमा लगिएको छ ।
सुरुमा १० वर्षभन्दा कम उमेरका बालबालिकालाई छात्रावासमा राख्न केही व्यवहारिक कठिनाइ देखिए पनि केही शैक्षिक संस्थाले उनीहरूलाई पनि पढाउने इच्छा व्यक्त गरेका छन् । अभिभावक राजी भएको खण्डमा १० वर्षमुनिका बालबालिकालाई समेत एसईईसम्मको पूर्ण छात्रवृत्ति र छात्रावास सुविधा उपलब्ध गराउने तयारी महानगरको छ ।




प्रतिक्रिया