चीनले दरबारमार्गमा भिसा सेन्टर खोल्यो


काठमाडौं – चीनले काठमाडौंको हात्तीसारस्थित कार्यालयबाट भिसा आवेदन लिन बन्द गरेर दरबारमार्गमा भिसा सेन्टर खोलेको छ । राइजिङ मलको दोस्रो तलामा खोलिएको भिसा सेन्टर सोमबारबाट शुभारम्भ भएको छ । भिसा सेन्टरमा १२ जना नेपाली कर्मचारीहरु छन् ।

अब चीन जानका लागि दरबारमार्गस्थित यही भिसा सेन्टरमा गएर आवेदन दिनुपर्छ । यसअघि नेपालस्थित चिनियाँ दूतावासले हात्तिसारस्थित कार्यालयबाट आफैं भिसा आवेदन संकलन गर्थ्यो । अब भने त्यो काम ‘चाइना इन्टरनेशनल इन्टेलेक्टेक’ नामको कम्पनीलाई जिम्मा दिइएको छ ।

यो कम्पनी नेपालमा ‘चाइना इन्टरनेशनल इन्टेलेक्टेक नेपाल प्राइभेट लिमिटेड’को रुपमा दर्ता भएर सञ्चालित छ । चीनले यूरोप, एसिया, अफ्रिका, ओसिनिया र उत्तर अमेरिकाका ९० भन्दा बढी देशहरुमा ‘चाइना इन्टरनेशनल इन्टेलेक्टेक’ कम्पनीमार्फत् भिसा आवेदन संकलन गर्दै आएको छ ।

भिसा सेन्टरले आवेदकको फिङ्गर प्रिन्ट लिने, फोटो खिच्नेलगायतका सुरक्षात्मक उपाय अपनाउँदै आवेदन संकलन गरी दूतावाससम्म पु‍र्याउँछ । ती कागजपत्र र विवरण हेरेर भिसा दिनेरनदिने निर्णय दूतावासले गर्छ । यसअघि हात्तीसारस्थित कार्यालयले आवदेकको पासपोर्ट र त्यसँसगै संलग्न गरिएका अन्य कागजपत्रमात्र हेरेर भिसा दिने–नदिने निर्णय गर्थ्यो ।

हात्तीसारस्थित कार्यालयमा मानिसहरुको भिडभाडका कारण र सुरक्षा संवेदनशीलता बढेको भन्दै भिसा सेन्टर अलि टाढा राख्नुपर्ने मत दूतावासका अधिकारीहरुले पहिलेदेखि नै राख्दै आएका थिए । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आएपछि बल्ल भिसा सेन्टर खोल्ने प्रक्रिया अगाडि बढेको थियो ।

काठमाडौंस्थित भिसा सेन्टरका डाइरेक्टर झाङ्ग चियोङ्गले भने, ‘सञ्चालन खर्च, कर्मचारी, उपकरण, नेपालको कानूनअनुसारको करलगायत सबै कुराको अध्ययन गरेर भिसा शुल्क निर्धारण गरेका थियो ।’

उनले सेवाग्राहीलाई प्राथमिकता दिएर सरल र छिटो छरितो रुपमा सेवा सञ्चालन गरिने बताए ।

भिसा शुल्कसँगै थप सेवा शुल्क लिने नीतिका कारण चीन जाने व्यवसायी, पर्यटक र विद्यार्थीले अब बढी शुल्क तिर्नुपर्ने भएको छ ।

चिनियाँ दूतावासले यसअघि एक जना नेपालीसँग ‘नियमित’ शुल्कअन्तर्गत ४ दिनभित्र भिसा पाउन २ हजार २ सय रुपैयाँ लिँदै आएको थियो ।

अब त्यसमा थप ३ हजार ९ सय सेवा शुल्कबापत तिर्नुपर्ने हुन्छ । त्यस्तै एक्स्प्रेस २ मा थप ५ हजार ६ सय ५० र एक्स्प्रेस १ मा ७ हजार ८ सय थप सेवा शुल्क लाग्ने भएको छ ।

अब नेपालीले चीनको भिसाका लागि ६ हजार २ सय बुझाउनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement