९ करोड बराबरको थप सहयोग गर्ने चीनको घोषणा,अक्सिजन प्लान्ट र अक्सिजन कन्सेन्ट्रेटर ल्याईने


काठमाण्डु– चीन सरकारले नेपाललाई थप ५ मिलियन बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्ने घोषणा गरेको छ । कोरोना भाइरसको महामारीबाट नेपाल आक्रान्त भइरहेको बेला चीनले थप ९ करोड २० लाख बरावरको स्वास्थ्य सामाग्री नेपाललाई सहयोग गर्न लागेको हो । यसअघि पनि चीनले ९ करोड २० लाख बराबरको सहयोग दिने घोषणा गरेको थियो । जसमध्ये ४ सय थान अक्सिजन सिलिण्डर नेपाल आइपुगेको छ भने अरु सामाग्रीहरु हवाई र स्थलमार्ग हुंदै नेपाल ल्याउने तयारी भइरहेको छ ।

बेइजिङस्थित नेपाली दूतावास स्रोतकाअनुसार चीनको केन्द्र सरकारले थप सहयोगको प्रतिवद्धता जनाइसकेको छ भने सिचुवान, गुइजाओ, सांघाई र तिब्बतका प्रान्तिय सरकार र सामाजिक संघ संस्थाहरुबाट पनि सहयोग संकलन भइरहेको छ । उक्त सहयोग चांडै नेपाल पठाउने नेपाली दूतावासको तयारी छ ।

नेपाली पक्षले चीनलाई नेपाललाई आवश्यक रहेको स्वास्थ्य सामाग्रीको सुची बुझाइसकेको छ । जसमा अक्सिजन प्लान्ट,अक्सिजन कन्सेन्ट्रेटर र अक्सिजन सिलिण्डरको सुची रहेको स्रोतले जनाएको छ ।

यसअघि चिनिया विदेशमन्त्री वाङ यीले नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसंगको कुराकानीमा ९ करोड २० लाख बरावरको स्वास्थ्य सामाग्री सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । चिनियां विदेशमन्त्रालयका प्रवक्ताले पनि नेपाललाई सहयोग गर्ने स्वास्थ्य सामाग्री तयारी हालतमा राखिएको जानकारी दिएका थिए ।

चीनले नेपाललाई ८ लाख डोज भ्याक्सिन समेत उपलव्ध गराएको थियो । उक्त खोप पहिलो चरणमा करिव चार लाख नागरीकले लगाइसकेको छन भने जेठमा दोस्रो डोज लगाउनको लागी सरकारले सुचना जारी गरिसकेको छ ।

सरकारले अहिले चीनमा हवाई उडान बन्द गरेको छ भने भारतबाट नियमित उडान भइरहेको छ । चीनमा कोरोना भाइरसको संक्रमण अहिले शुन्यजस्तै भइसकेको छ भने भारतमा महामारीका कारण हजारौंको मृत्यु भइसकेको छ । चीनमा हवाई उडान बन्द हुंदा कार्गो प्लेनको भर पर्नुपर्ने भएकाले सामान ल्याउन अफ्ठेरो भइरहेको गुनासो छ ।

‘जहा जहांमारी बढी फैलिएको छ त्यहां नियमित फलाइट भइरहेको छ,जहां संक्रमणको दर एकदमै कम छ त्यहां फ्लाइट बन्द गर्ने निर्णय हुन्छ । नियमित उडान भएको भए कार्गोको भर पर्नुपर्ने अवस्था हुंदैन थियो । सरकारले यो के निर्णय गरेको हो मैले बुझ्न सकेको छैन ।’ परराष्ट्रमन्त्रालयका एक अधिकारीले काठमाण्डुपाटीसंग भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement